११४ औं लक्ष्मीजयन्ती तथा कवितावाचन कार्यक्रम

इनेप्लिज २०७९ मंसिर २ गते १०:५५ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डीसी मेट्रो च्याप्टरले २६ नोभेम्बर शनिवारका दिन लक्ष्मीजयन्ती मनाउने तयारी गरेको छ । कार्यक्रम अनेसासका संस्थापक होमनाथ सुवेदीको प्रमुख आतिथ्यता तथा अनेसास विओटीका अध्यक्ष श्री गीता खत्रीको विशिष्ट उपस्थितिमा सम्पन्न हुने छ । सो कार्यक्रममा देवकोटामा समर्पित कवितावाचन तथा देवकोटाको जीवनी र काव्ययात्राको परिचर्चा हुनेछ ।आर्लिङ्टन, भर्जिनियामा रहेको केन्द्रीय पुस्तकालयको सभाहलमा हुने उक्त कार्यक्रममा नेपाली अमेरिकन सामुदायिक केन्द्र, महिला समिति र जुनियरसमिति सहयोगीको रूपमा रहने बताइएको छ ।

कार्यक्रममा कवितावाचन र देवकोटाको जीवनी तथा साहित्यिक प्रवृत्ति र योगदान एवं प्रस्तुत गरिएका कविताको समिक्षा प्रा. डा. विष्णु घिमिरेले गर्ने हुनु भएको छ ।

लक्ष्मीजयन्तीको बेला अधिकांश नेपालीहरू नेपाल प्रस्थान गर्ने हुनाले कार्यक्रमा उल्लेख्य सहभागिता गराउन समस्या हुनसक्ने भएकाले सो कार्यक्रमलाई अनुकूलता हेरी आयोजना गर्न लागिएको बताइएको छ । कार्यक्रममा डीसी मेट्रो क्षेत्रमा रहनुहुने अधिकांश स्रष्टा र साहित्यप्रेमीहरूको बाक्लो उपस्थिति गराउने तयारी गरिएको जानकारी मेट्रो च्याप्टरका कावा अध्यक्ष कवीन्द्र सिटौलाले र महासचिव नीलकण्ठ सुवेदीले जानकारी गराउनु भएको थियो ।

यस लक्ष्मीजयन्ती तथा कवितावाचन कार्यक्रममा न्याकमा रहेका जुनियर भाइबैनीहरूलाई कविता वा अन्य सृजना प्रस्तुत गर्ने विशेष अवसर दिइने साथै मेट्रो क्षेत्रका अब्बल कविहरूका उम्दा कविताहरूको प्रस्तुतिसँगै विशिष्ट व्यक्तित्वहरूबाट नेपाली साहित्यमा देवकोटाको स्थान र योगदानको विहङ्गम चर्चा गरिने छ । उक्त संस्था द्वारा विगत वर्ष हरूदेखिनै नेपाली साहित्यको समुत्थानका लागि विविध सृजनात्मक कार्यक्रम गर्दै आइरहेको छ ।

साथै उक्त लक्ष्मीजयन्ती कार्यक्रममा सम्पूर्ण मेट्रो क्षेत्र र आसपासमा रहनुहुने नेपाली भाषासाहित्य प्रेमीहरूलाई उपस्थितिका लागि यसै समाचार मार्फत पनि अनुरोध तथा सादर निमन्त्रणा गरिएको छ । कार्यक्रममा उपस्थित महानुभावहरूका लागि चियापानको पनि व्यवस्था रहेको कुरा संस्थाले जनाएको छ ।

प्रतिक्रिया