टिजरले ‘डिसेम्बर फल्स’ प्रति बढायो अपेक्षा

इनेप्लिज २०७९ मंसिर २ गते १०:३८ मा प्रकाशित

काठमाडौं,२ मंसिर ।

प्रतिक्षित फिल्म ‘डिसेम्बर फल्स’ को टिजर सार्वजनीक गरिएको छ । ३० डिसेम्बर अर्थात १५ पुषमा देशब्यापी प्रदर्शनमा आउने फिल्मको टिजर बिहीबार युट्युव च्यानल म्युजीक डटकममार्फत दर्शकमाझ ल्याइएको हो ।

केही समयको बिश्रामपछि अभिनेता आर्यन सिग्देललाई दर्शकले यही फिल्ममार्फत पुनः ठूलो पर्दामा हेर्न पाउने छन् । उनलाई साथ दिएकी छिन्, अभिनेत्री उपासना सिंह ठकुरीले । सार्वजनीक १ मिनेट १५ सेकेन्ड लामो टिजरमा आर्यनलाई एक्शन लभर ब्वाइका रुपमा प्रस्तुत गरिएको छ भने उपासना नर्सको भूमिकामा देखिएकी छिन् । टिजर हेर्दा अस्पतालमा बिरामीमाथि हुने गरेको लापर्वाही तथा यथार्थताको बिषय फिल्मले उठाएको संकेत गराउदछ । सँधै उस्तै उडन्ते मायाप्रेम,यथार्थभन्दा धेरै परका काल्पनीक बिषयजन्य फिल्म हेर्दाहेर्दा दिक्दार भएका दर्शकलाई यो फिल्मको टिजरले नै ठूलो आशा जगाएको छ । टिजरसँगै आम दर्शकमा ‘डिसेम्बर फल्स’ ले कुतुहलता पैदा गराउन सफल भएको छ ।

बलिउड नगरीमा ब्यस्त निर्देशक प्रवीण झाको निर्देशन र सिनेमाटोग्राफर महेश आर गुप्ताको छायांकन रहेको फिल्मलाई युवानिर्माता रामप्रसाद रिजालले निर्माण गरेका हुन् । यसअघि ‘वान डे’, ‘कसम’,धुवाँ यो नशा’ र ‘कायरा’ निर्माण गरिसकेका रिजाल ‘डिसेम्बर फल्स’ प्रति निकै आशावादी छन् । ‘दिल खोलेर लगानी र परिश्रम लगाएका छौ,’ उनको भनाइ छ ,‘गुणस्तरिय फिल्म निर्माणका लागि कुनै कुरा पनि कमी हुन दिएका छैनौं । त्यसले दर्शकको भरपुर साथ पाउनेमा बिश्वस्त छौं ।’

फस्र्टलुक पोस्टर सार्वजीकसँगै चर्चामा रहेको फिल्ममा आर्यन र उपासनाका साथमा सुमन थापा,नरेश भट्टराई,सलोन बस्नेत,शिबहरि पौडेल,नागेन्द्र रिजाल,शिसिर राणालगायत कलाकारको अभिनय छ । रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्मित फिल्मको प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुन भने कार्यकारी निर्मातामा लक्ष्मण रिजाल र असिम काफ्ले छन् । रामप्रसाद रिजाल र राजकुमार भट्ट निर्माता रहेको फिल्मको कथा बिपीका खनालले लेखेकी हुन् । बिपीका पेशाले नर्स हुन् । पटकथा र सम्वाद भने केदार भुसाल र प्रतिक पौडेलले तयार पारेका हुन् । बनिष शाहले सम्पादन गरेको फिल्ममा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन,कबिराज गहतराज,रामजी लामीछाने,शिसिर खाती र प्रवीण सिंहको कोरियोग्राफी छ । फिल्मको बितरण सुनील मानन्धरले गर्दैछन् ।

प्रतिक्रिया