सन्दिपका वकिलको अर्को खुलासा, सन्दिपको पक्षमा देखिए बलिया प्रमाण कहिले छुट्छन् सन्दिप?(भिडियो सहित)

इनेप्लिज २०७९ कार्तिक १ गते ९:५३ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेका वकिल सरोज घिमिरेले बयान लिने काम आधा सकिएको बताउँदै असोज ३१ गतेसम्म अनुसन्धान सकिने विश्वास गरेका छन् । काठमाडौँ जिल्ला अदालतमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अनुसन्धानको काम नसकिएकाले नेपाल प्रहरीले थप ७ दिनको समय माग गरे पनि अदालतले ५ दिनको म्याद मात्र थप गरी अनुसन्धान गर्न अनुमति दिएको अधिवक्ता सरोज घिमिरेले बताए ।

उनले यो मुद्दा एक व्यक्तिसँग मात्र नभई संस्थासँग पनि सम्बन्धित रहेकाले फास्ट ट्रयाकमा सक्नुपर्ने बताए । सन्दीपमाथि थप ५ दिनको म्याद थपी अनुसन्धान गर्न सूर्यबहादुर थापाको बेन्चले समय दिएको र आगामी कार्तिक १ गते पुनः फाइल पेस गर्ने वा म्याद थपको लागि पुनः पेस गर्न सक्ने बताए ।

उनले भने, ‘अनुसन्धान गर्न ७ दिनको म्याद माग्नुभएको थियो । पक्राउ परेको दिनबाट ७ दिन गइसकेको छ, बयान लिने क्रम पनि आधा सकिसकेको छ । ७ दिन धेरै लामो हुन्छ, यो एउटा व्यक्तिसँग मात्र नभई संस्थासँग सम्बन्धित मुद्दा छ, यस्तो मुद्दालाई अलि फास्ट ट्रयाकमा गम्भीरताका साथ लिएर काम सक्नुपर्ने भन्यौँ । अनुसन्धानमा लामो समय लिनु भनेको प्रहरीका लागि पनि नराम्रो कुरा हो । हामीले ३ दिनको माग गरेका थियौँ । सूर्यबहादुर थापाको बेन्चले ५ दिनको समय थपेको छ ।’

अधिवक्ता घिमिरेले पीडित भनिएकी किशोरीको दुईवटा जन्मदर्ता भएको विषयमा आफूहरूले अनुसन्धान गरिरहेको बताउँदै भने, ‘हामीले थप बोल्न मिल्दैन ।’ जिल्ला अदालत काठमाडौँले २० गतेबाट गणना हुने गरी ७ दिनका लागि म्याद थप गरेको समय सकिएपछि पुनः थप ५ दिन अनुसन्धानका लागि समय उपलब्ध गराएको हो ।

गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरी गत सोमवार अदालतमा उपस्थित गराएको थियो । अदालतमा उपस्थित भएसँगै लामिछानेलाई ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिइएको थियो ।

१७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई असोज २० गते नेपाल आए लगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो । काठमाडौँको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् ।

प्रतिक्रिया