काव्यमा अभिव्यक्त दशैँ

सञ्जय साह मित्र २०७९ असोज १९ गते ९:५८ मा प्रकाशित

साहित्यलाई पनि संस्कृतिसित किन राखिन्छ भने यसले हरेक संस्कृतिलाई जोगाउनमा सहयोग गरेको छ । साहित्य र संस्कृतिको निकै नजिकको नाता हुन्छ । जसरी जीवनलाई पनि बाँच्ने कला मानिन्छ, जसरी कलालाई अभिव्यक्ति पनि मानिन्छ त्यसरी नै साहित्यलाई जीवनको कला मानिन्छ । जीवनको कला भने पनि संस्कृति मात्र नभएर धेरै थोक हो । वास्तवमा दशैँले समग्र जीवनमाथि हस्तक्षेप नै गरेको छ । कसको जीवनलाई प्रभावित पारेको छैन र दशैँले ? एउटै लयमा चल्न नदिनुको अर्थ यहाँ प्रभावित पारेको हो भन्ने हो ।

आजको युग अनलाइनको युग भइसकेको छ । अनलाइनका विभिन्न संस्करणहरुबाट लिइएका केही कविहरुको दशैँ उद्गार यहाँ अभिव्यक्त छन् ः
हट्यो सारा हिलोमैलो हरायो पानीको वर्षा
भयो भवानीको पूजा, चल्यो आनन्दको वर्षा ।

कसले नपढेको होला यो कविता । यसले पनि त जीवन बोलेको छ नि । तर यसपटक हिलोमैलो हटेको छैन किनभने पानीको वर्षा हराएको छैन । अहिलेसम्म पानी परेको छ तर यो कविता लेख्दाको जमाना जस्तो वा यो कविता पढ्दाको जमानाजस्तो अहिले हिलोमैलो सडक हुने अवस्था पनि रहेको छैन ।
अर्का एक कवि पनि यसरी कविता लेख्छन् :

दशैँ आयो हाम्रो सुखद रसिलो चाड गतिलो
सुक्यो वर्षा भारी सब घर जम्यो भाव रसिलो ।

यसमा भनिएको जस्तो भारी वर्षा अहिले सुकेको त छैन तर बाँकी भाव भने रसिलो भएको अवस्था हो । अहिले दशैँ आएको छ । दशैँले अधिकांश मानिसलाई यही सुखद भावले पर्व मानेको सन्देश दिइरहेको छ । अहिले खेतमा धान निकै राम्रो भएर आएको किसानहरुको भनाइ छ । यही भावले दशैँको आनन्द बढाइदिएको छ । हर घरमा सुन्दर भाव जमाएको भने सही हो ।

साँच्चिकै विदेशमा रहेका एक कविले दशैँको समयमा यस्तो कविता लेखेका छन् :

रेगिस्तानको ताता हावा बहिरहने
बफिलो बाफिलो भावरमा
पिठ्यूँमा आफ्नो सिंगै देश बोकेर
भोकाएका गिद्धहरुबाट जोगाउँदै
भोडका बथानहरु चराउँदै गर्दा
एक्कासि फोनको घन्टी बज्छ
र, सानी छोरीले तोतेबोली लर्बराउँदै सोध्छिन्
बाबा दशैँ आयो
घर कहिले आउनुहुन्छ ?
म झसंग हुन्छु
ए, दशैँ पो आएछ ।

कोही कता छन् र कोही कहाँ छन् । कुन अवसथमा छन् र पनि दशैँ आएको छ । हो जीवनको सम्पन्नता हो दशैँ र त यसमा अभावको पनि भाउ छ र अभावको पनि मूल्य छ । धेरै कविता दशैँका यस्ता पनि छन् जसमा अभाव र पीडाका साथै आक्रोश पनि अभिव्यक्त हुन्छ । आक्रोश बोल्नु पनि कविताको धर्म हो र धर्मले निर्वाह गर्न दिएको विषयवस्तुको स्वरुप कवितामा आउनु स्वाभाविक हो । दशैँ मान्दै र दशैँको अवधिमा नै एक आक्रोशित कविले लेखेको एउटा अमूर्त लामो दशैँ कविताको प्रारम्भका दुई पङक्ति ः
दशैँबाट दशैँ हराएको खबर
छ छैन अखबारमा ?

वास्तवमा दशैँको मूल दिनमा त अखबार बन्द हुन्छ । कविलाई यो थाहा नहुने कुरो त होइन नि । तर साहित्यमा त थाहा नभएको विषय पनि लेख्न पाइन्छ र थाहा भएको विषयमा पनि अज्ञान बन्न पाइन्छ । अझ दशैँ त आफूले खोजेको जस्तै भइनदिने हो भने कविको भाव त फुटिहाल्छ नि । भाव फुट्नु भनेको कविता फुर्नु न हो, विषयवस्तु जुर्नु न हो ।

अर्का एक कविले अभिभावकीय दायित्व निर्वाह गर्दाको क्रममा सम्भवतः दशैँलाई अप्ठ्यारो पर्वको रुपमा अथ्र्याएको हुनुपर्छ । विदेशमा रहेका अर्का कविताले परिचयात्मक किसिमले दशैँप्रति सौम्य व्यङ्ग्य यसरी गर्दछन् :

हरेक साल
बालबालिकाहरुको मनमा
उमंग लिएर आउने दशैँ
अभिभावकहरुको सामू
बहीखाता लिएर आउने गर्छ ।

कविताले जीवन र प्रकृतिलाई पनि जोड्दछ । जीवन र संस्कृति त एक अर्काका अभिन्न अंग हुन् नै । संस्कृतिलाई दर्शाउनु त कविताको धर्म पनि हो र जीवनलाई दर्शाउनु कविताको कर्म हो । धर्म र कर्म एकसाथ मिलेपछि कविताको भावमा उच्चता आउँछ नै । एक कविले लेखेको कविताको यो अंश निकै महत्वपूर्ण छ :

कावा खाइरहेका चंगाहरुसँगै
उडेका मनमा सांस्कृतिक सुगन्ध
टीका जमरा बडाको आसिक
हार्दिक औ जीवन्त सम्बन्ध ।

अनन्त गहिराइमा रहेका मनका भावहरुलाई सतहमा ल्याउन शब्द त हुनैपर्छ । शब्दको चयन गर्ने वेलामा कविहरुले हास्यात्मकतालाई पनि प्रयोग गर्दछन्, व्यङ्ग्यात्मकताको पनि सहारा लिन्छन् । हुन त व्यङ्ग्यात्मकतालाई शैलीअन्तर्गत राखिन्छ । यद्यपि शैली नै पनि त कविको निजत्व हो । एक कवि आफ्नो कवितामा व्यङ्ग्यात्मक शैलीमा यसरी लेख्छन् :

विदेशी रक्सीको मातमा
आफ्ना भाषा संस्कृति सबै बिर्सिएर
विदेशी गीत गाउनु पर्छ
आफ्नै स्वाभिमान लुछ्नु पर्छ
राष्ट्रियताको टालोले मुख पुछ्नु पर्छ
दशैँ आएछ ।

कुनै एक कविले दशैँलाई दशा भनेर पनि लेखेका रहेछन् । दशैँलाई दशा नै त नभनौँ किनभने आफ्नो सामथ्र्यलाई बिर्सेर देखासिकी वा अन्ध अनुकरण गर्ने हो भने त जुनसुकै विषय वा पक्षले पनि नकारात्मकता बोकेको हुन्छ । दशैँलाई दोष दिनुभन्दा मान्ने र मान्ने तरिकामा त्रुटि हुन्छ । हाम्रा चाडपर्वले त सत्कर्म र सत्धर्मको सन्देश दिएका छन् । दशैँ त हाम्रो सभ्यता हो र संस्कृति पनि हो । र यो अमूर्त पनि छ । दशैँले मलाई मान भनेर भन्न आउँदैन । हरेक पल, हरेक घन्टा, हरेक दिन र हरेक महिना बित्ने चक्रमा ऋतुसँगै दशैँको पनि पालो आउँछ । दशैँप्रतिको भावलाई मानवीकरण गरी एक कवि आफूलाई यसरी उतार्छन् :

मीठो चोखो मसिनाको भात भात चाख्नलाई
आँगनीमा कालो बोको बाँधी राख्नलाई
यो मन भन्छ त्यसो गर्न पाए नि हुन्थ्यो
नत्र भने जाबो दशैँ नआए पनि हुन्थ्यो ।

हाम्रो घरमा खुसियाली छाए पनि हुन्थ्यो
नत्र भने जाबो दशैँ नआए पनि हुन्थ्यो ।

दशैँलाई मानवीकरण गरी यसलाई राम्रो मान्ने अर्थात् रमाइलो मान्नेहरु पनि कम छैनन् । दशैँको प्रतीक्षा नै गर्नेहरु धेरै छन् । दर्शैँ त धेरैको लागि शुभैशुभ पनि हो । र, रमाइलोभन्दा पनि बढी शुभ चाहिँ के हुन सक्छ र ? रमाइलो भन्नु आफैँमा शुभ हो, आनन्द हो । आनन्दको आफ्नै रङ हुन्छ, पहिचान हुन्छ । आनन्दलाई दिनु पनि चाडपर्वहरुको धर्म हो । एक कवयित्री दशैँलाई मानवीकरण गर्दै दशैँको बारेमा लेख्छिन् :

हरेक वर्ष आउँछ दशैँ
उही मिति, उही तिथिमा
उस्तै महिना, उस्तै महिमा बोकेर
आउन त आउँछ
हरेक वर्ष दशैँ,
आउँदा मात्रै फरक फरक कथा, व्यथा बोकेर आउँछ ।

हो, यसमा सहमत बन्ने आधारको खोजी गर्न सकिन्छ । दशैँ सकिएपछि यसमा आएको खुशीको बाढीले कतै ऋणको भारी त छोडेर गएको छैन । यद्यपि फेरि पनि माथि भनिएजस्तै आफ्नो घाँटी हेरी हाड ननिल्ने हो भने घाँटीमा अड्किन सक्छ । यस अवस्थामा दशैँलाई दोष दिनु केवल दोषारोपण हुनुपर्छ । यद्यपि कविको भावलाई, बुझाइलाई प्रवाहित गर्न र कुनै पनि विषयवस्तुप्रति आप्mनो भावलाई प्रस्फुटन गराउन कसैले रोक्न सक्दैन ।

दशैँजस्तै अन्य चाडपर्वमा समयले भने प्रभाव पारेको हुन्छ । कोरोनाकालमा दशैँले पारेको प्रभावलाई कवितामा कैद गरिएका अनगिन्ती दृष्टान्तहरु रहेका छन् । कोरोना समयमा धेरैलाई धेरै किसिमले अप्ठ्यारो परेकै थियो । समयलाई कैद गरी एक कविले दशैँको विषयमा नै लेखेको यस कविताले कोरोनाको पीडालाई स्मृति दिलाउँछ :
एक आपसमा टाढिएर
मनाउने दशैँ कस्तो पो होला र
साथी भाइबिच छुट्टिएर मनाउने दशैँ
के रमाइलो होला र ?
दशैँ आवस् तर यसपालि जस्तो
निमोही दशैँ कहिल्यै नआवोस्
दुखैदुखका बिच पनि
सबै नेपालीमा खुसयाली छाओस् ।

चाडपर्वहरुमा सबैभन्दा बढी दशैँमा नै कविता लेखिएको हुनुपर्छ । देखिएको मात्र नभई दशैँमा पढिाएको पनि हुनुपर्छ । यसरी दशैँको भाव कवितामा सबैभन्दा बढी किसिमले बिम्बित भएको हुनुपर्छ । दशैँलाई सबैभन्दा बढी कवितामा उतार्ने कविहरुले पनि दशैँमाथि हस्तक्षेप गरेका छन् । यसै सन्दर्भले यो पनि स्पष्ट पार्दछ कि दशैँले कविहरुलाई मात्र प्रभावित पारेको होइन, समयलाई पनि प्रभावित पारेको छ र समयको बिम्बले दशैँको अनुहारमा केही परिवर्तनका रेखाहरु कोर्दै हरेक वर्ष नवनव हुँदै आइरहेको छ । र, साहित्यको एक महत्वपूर्ण अंग बनिसकेको छ दशैँ ।

सञ्जय साह मित्र

मित्रनगर, गरुडा ४, रौतहट
[email protected]

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया