नेपालमा आज विजया दशमी ,अमेरिकामा भोली

इनेप्लिज २०७९ असोज १९ गते ०:५५ मा प्रकाशित

आज हिन्दूहरुको महान चाड विजया दशमीको दिन टिका ग्रहण गरी हर्षोल्लासपूर्वक मनाइदैछ । अमेरिकामा आज अझै महानवमी मनाइदैछ । समय फरक हुने हुनाले दशमी भोली मनाइनेछ ।

घटस्थापनाको दिन राखिएको जमरा आज वैदिक विधिपूर्वक विसर्जन गरेपछि दशैंको टिका लगाएर मनाईंदैछ । आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकको रुपमा यो चाड मनाइन्छ ।

यो अवसरमा विजयको प्रतीक रातो टिका निधारमा लगाउने र शीरमा पहेंलो जमरा सिउरिने गरिन्छ । यसले गर्दा विजया दशमीलाई विजय र हर्षोल्लासको पर्व पनि भन्ने गरिन्छ ।

हिन्दू परम्परा अनुसार आजबाट पूर्णिमासम्मै करिब ५ दिन आफन्त र मान्यजनको टिका ग्रहण गर्ने प्रचलन रही आएको छ । स्थानअनुसार काेजाग्रत पूर्णिमासम्म दशैँकाे टीका लगाउने गरिन्छ ।

यो दिन मर्यादा पुरुष श्रीरामले रावणको अन्त्य गरेको वा देवी भगवतीले महिषसुरको वध गरेको धार्मिक मान्यता रहि आएको छ । मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ ।

टीका लगाउँदाको वैदिक मन्त्र

आयु द्रोण सुते, श्रीयं दशरथे, सत्रु क्षयम् राघवे,
ऐश्वोर्यं नहुशे, गतिस्च पवने, मानंम् च दुर्योधने,
दानम् सुर्य सुते, बलम् हलधरे, सत्यम् च कुन्ती सुते,
बिज्ञाने बिदुरे भवति भवताम किर्तिस्च नारायणे ।

यसको अर्थ द्रोणका छोरा अस्वत्थामाको जस्तो आयु, दशरथको जस्तो कीर्ति, रामको जस्तो अजात सत्रुत्व, नहुसको जस्तो ऐस्वर्य, वायुको जस्तो गति, दुर्योधनको जस्तो मान, सूर्यका छोरा जस्तो दानी, भीमको जस्तो बल, युधिष्ठिर जस्तो सत्यवान्, विदुरको जस्तो ज्ञान, नारायणको जस्तो कीर्ति होओस् भन्ने हो ।

मीठो खाने, राम्रो लगाउने तथा पारिवारिक भेटघाट गरिने र स्नेह एवम् सद्भाव अभिवृद्धि गर्ने पर्वका रुपमा दशदिनसम्म मनाइने यो बडादशैँ पर्व धार्मिकमात्र नभएर सामाजिक–सांस्कृतिक पर्वका रुपमा समेत महत्वपूर्ण मानिन्छ ।

राम्रा राम्रा पोशाकमा सजिएका, निधारभरि दही अक्षताका राता टीका लगाएर शिरमा जमरा सिउरेका, मान्यजनबाट टीका थाप्न जानेहरुको आज विशेष चहलपहल देखिन्छ । स्वदेश वा विदेशमा रहेका नेपालीहरु आजको दिन सपरिवार एकत्रित भई विजयादशमीको टीका, जमरा लगाएर आपसमा शुभकामना आदानप्रदान गर्दछन् ।

अमेरिकाका ५० वटै राज्यमा बसोबास गर्ने नेपालीहरुले दशै मनाउने छन् । अमेरिकामा बुधबार कामको दिन दशमी परेकोले छुट्टि नमिल्नेहरुले साँझ पख आएर टिका लगाउने र लगाई दिने गर्छन । अमेरिकामा चाड पर्वको बारेमा हाकिमहरुलाई बिदा मागेमा अधिकाँशले स्वीकृत गर्छन ।

तर अमेरिकामा अधिकाश नेपाली मूलका सबैले अग्रिम रुपमा बिदा स्वीकृत गराई सकेका पनि हुने हुनाले बर्ष दिनमा आउने चाड धुमधामसंग मनाउने गर्छन । नेपाल झैँ सबै चिज उपलब्ध भएको हुनाले नेपालमा जस्तै पोशाकहरुमा नेपाली समुदायहरु सजिएका देखिन्छन ।

प्रतिक्रिया