दशैंजस्ता पर्वप्रति ॐकार परिवारलगायत सबैले अपनत्त्वबोध गर्नुपर्छः सुवेदी

इनेप्लिज २०७९ असोज १८ गते २३:४६ मा प्रकाशित

काठमाडौं १८ असोज । चर्चित ज्योतिषी एवं विभिन्न धार्मिक संघसंस्थामा विशेष जिम्मेवारी बहन गर्दै आउनु भएका धार्मिक अभियन्ता राष्ट्रवादी व्यक्तित्त्व दीपक सुवेदीले विजया दशमी तथा बडा दशैंको उपलक्ष्यमा गम्भीर शुभकामना सन्देश जारी गर्नुभएको छ । फोरकास्ट टेलिभिजन युट्युब च्यानलको एक प्रस्तुतिमार्फत पोष्ट भएको सो भिडियो सन्देशमा विश्व नै सनातन हिन्दु धर्म, दर्शन, ज्ञानविज्ञान, संस्कार–संस्कृति, परम्पराप्रति उन्मुख हुँदै गइरहेको तर हामी नेपालीले भने सोको वास्तविक तथ्यलाई नबुझेको, बुझ्न नखोजेको र लहैलहैका हल्लामा केन्द्रित भएको व्यक्त गरिएको छ । जसले गर्दा हामी नेपालीको, हाम्रो देश नेपालको प्रमुख पहिचान तथा असली राष्ट्रियता र राष्ट्रिय भावना कमजोर भएकोमा चिन्ता व्यक्त गरिएको छ ।

सामान्यतया दशैं, नयाँवर्ष आदिको सन्दर्भमा देशका विशिष्ट व्यक्तिहरूबाट जारी हुने सन्देशमा सामान्य औपचारिकताको भूमिका निर्वाह हुने गरेको मात्रै पाइन्छ । तर सुवेदीले यस पटकको शुभकामना सन्देशमा अल्लि गम्भीर सामग्री युट्युबमार्फत पोष्ट गर्नु भएको छ । धार्मिकलगायत विभिन्न रूपमा नेपालीलाई विखण्डित गराउने चलखेल बढिरहेको बेला सुवेदीले जारी गर्नुभएको सन्देशले गम्भीर अर्थ राख्नसक्ने अनुमान गर्नसकिन्छ । भिडियो सन्देशमा ज्यो. सुवेदीले धार्मिक एकताको बारेमा जोड दिँदै ॐकार परिवार (वैदिक, बुद्धिष्ट, बोन, किराँत, जैन, शिख, प्रकृतिपूजक आदि)को साझा घरको रूपमा सनातन हिन्दुधर्म रहेको व्यक्त गर्नु भएको छ भने यसलाई आधार बनाएर प्राचीनकालदेखि हाम्रो समाजमा चल्दै आएका विभिन्न संस्कार संस्कृतिप्रति हामी सबै नेपालीले अपनत्त्वबोध गर्नसक्नुपर्ने भावनासमेत व्यक्त भएको छ ।

वर्तमानमा नेपाली नेपालीबीचको आपसी भाइचाराको सम्बन्ध विखण्डित हुने खतरा देखिएको, यसको असर हरेक पक्ष र क्षेत्रमा पर्नेहुनाले यस्ता समस्याबाट बच्न नेपालको मौलिक पहिचान र राष्ट्रियता सनातन हिन्दु धर्म, दर्शन, ज्ञानविज्ञान, संस्कार–संस्कृति, परम्परा र सभ्यताबाट सृजित भएको कुरालाई हामी नेपाली कसैले पनि कदापि बिर्सन नहुने धार्मिक व्यक्तित्त्व ज्यो. सुवेदीको भनाई छ ।

विश्वका सामु हामी नेपालीको शिर ठाडो बनाउने मुख्य साधन भनेको सनातन हिन्दु धर्म, दर्शन, ज्ञानविज्ञान, संस्कार–संस्कृति, परम्परा, रीतिरिवाज र सभ्यता रहेको पनि उहाँको भनाई छ ।

यसै गरी ॐ आयुर्वेद आरोग्यशाला कमलपोखरी काठमाडौंका वैद्यराजसमेत रहनु भएका सुवेदीले सो भिडियो सन्देशमा विश्वका सबै सनातन हिन्दुधर्ममा आस्थावान नेपाली तथा आमसर्वसाधारणको नाममा विभिन्न शुभकामनाका भावनाहरू व्यक्त गर्नुभएको छ । सुवेदीका भनाई तलदिएको भिडियोमार्फत पूर्णरूमा हेर्न र सुन्नसकिन्छ–

प्रतिक्रिया