आज बडा दशैंको नवौं दिन महानवमी :नेपाल र अमेरिकामा मनाइदै

इनेप्लिज २०७९ असोज १७ गते २३:४४ मा प्रकाशित

नेपालमा आज बडा दशैंको नवौं दिन अर्थात् महानवमी पर्व । समयको फरकको कारण अमेरिकामा केही घण्टाको समय पश्च्यात महानवमी मनाईदैछ ।

अमेरिकामा विभिन्न राज्यहरुमा निर्मण भएका नेपाली मन्दिर तथा भारतीयहरुले निर्माण गरेका मन्दिरहरुमा दर्शन गर्न जाने गर्छन  ।

नेपालभरि नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।

दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा कुखुरा ,बोका, हाँस, रराँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

पशुबलि नदिने र शाकाहारीहररूले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ ।

कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्च बलि पनि दिने गरिन्छ ।

नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ । दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ ।

महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका बाहिनी र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ ।

काठमाडौ उपत्यकाका नव दुर्गामध्ये गुह्येश्वरी, नक्सालभगवती, कालिकास्थान, मैतीदेवी, भद्रकाली, संकटा, रक्तकाली, शोभाभगवती, दक्षिणकाली र अन्य देवीमन्दिरहरु तलेजुभवानीचामुण्डाभगवती,नरदेवी,विजेश्वरी,बगलामुखी लगायतका मठमन्दिरमा भगवती दुर्गाभवानीको पूजाआजा भइरहेको छ ।

यसै गरी दन्तकाली, सखडाभगवती, सिद्धकाली, छिन्ताङभगवती, कंकालिनी, पाथीभरा, कालिञ्चोकभगवती, पाल्चोक पलाञ्चोक, नालाभगवती, चण्डेश्वरी, जाल्पादेवी, सल्यानकोट भगवती, मनकामना, गोरखकाली, आलमदेवी गह्रौंकालिका, दुर्लुङकोट,बाग्लुङकालिका, जलजलामाई, त्रिुपुरा सुन्दरी वागीश्वरी, शैलेश्वरी उग्रतारा ,लमजुङकालिका, मौलाकालिका छिम्केश्वरी, विन्ध्यवासिनी, कास्कीकोट, सुपादेराली, उजिरेश्वरी, लगायत मुलुकका देवीमन्दिर तथा शक्तिपीठमा भक्तिपूर्व आद्यशक्ति माता भगवतीको पूजाआराधना गरिंदैछ ।

प्रतिक्रिया