म्याराथन उपाधि जिते जिंगडियाका रामले

इनेप्लिज २०७९ असोज १७ गते २२:१४ मा प्रकाशित

रौतहट
रौतहटको गरुडा नगरपालिका ४ मा रहेको लायन्स युवा क्लबले हरेक वर्षझैँ यस वर्ष पनि संचालन गरेको ४ किमी म्याराथन खुल्ला दौड प्रतियोगिता सोमवार सम्पन्न भएको छ । क्लबका अध्यक्ष दिनेश चौरसियाको अध्यक्षतामा दुर्गा मन्दिर अगाडि गरुडा चौकमा भएको मनोजकुमार चौधरी स्मृति म्याराथन दौड प्रतियोगिताको उपाधि गरुडा नगरपालिका ८ का अजेश रामले जितेका छन् । करिब चार किलोमिटरको म्याराथन दौडको १२औँ संस्करणको उपाधिसँगै रामले साइकल र अन्य विभिन्न सामग्रीहरु जित्न सफल भएका छन् ।

प्रतियोगितामा गरुडा नगरपालिका ४ का कविन्द्र शर्मा द्वितीय, द्वारिका साह तृतीय तथा गरुडा नगरपालिका ३ मलाहीका ओकेन्द्र सहनी चतुर्थ स्थान प्राप्त गरी पुरस्कृत भएका छन् । आगामी वर्षको लागि नेपाल सुनचाँदी व्यवसायी संघ रौतहटका अध्यक्ष अरुणकुमार सोनीले कार्यक्रमको प्रायोजन गर्ने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष सुनिलकुमार जयसवालले मनोजकुमार चौधरीको योगदानलाई जनमानसमा पुर्याउन उनको नाममा प्रतिष्ठानको गठन गर्ने बताएका छन् ।

कार्यक्रममा गरुडा नगरपालिकाकी नगर उपप्रमुख पूनमकुमारी चौधरी, नेकपा एसका बृजकिशोर यादव, पूर्व गाविस उपाध्यक्ष रामकृष्ण चौधरी, इलाका प्रहरी कार्यालय गरुडाका डिएसपि बरुणबहादुर सिंह, नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेस प्रदेश अध्यक्ष रामजी साह सोनार, गरुडा उद्योग वाणिज्य संघका अध्यक्ष हरेन्द्र चौधरी, गरुडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष पंकज जयसवाल र लायन्स युवा क्लबका पूर्वअध्यक्ष नागेन्द्र चौरसिया लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै गरुडाको पहिचानको रुपमा बनिसकेको म्याराथन दौड प्रतियोगितालाई निरन्तरता दिइनुपर्ने बताएका छन् ।

गरुडा चौकको दुर्गा मन्दिरदेखि नेपाल पुलिस स्कुल विर्तासम्म करिब चार किलोमिटरको दौड प्रतियोगितामा २६ जनाले भाग लिएको आयोजकले बताएको छ । कार्यक्रमको संचालन सञ्जय साह मित्र र स्वागत संस्थाका सचिव रोशन साहले गरेका थिए ।

प्रतिक्रिया