बलात्कार आरोपपछि सम्पर्कविहीन सन्दीप लामिछाने अन्तत असोज २० मा नेपाल आउँदै, अब के होला सन्दिपलाई ? ( भिडियो सहित )

इनेप्लिज २०७९ असोज १७ गते १०:०३ मा प्रकाशित

नाबालिग बलात्कार आरोपपछि ‘सम्पर्कविहीन’ भएका क्रिकेटर सन्दीप लामिछाने असोज २० गते नेपाल आउने भएका छन्।

उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश लेख्दै आफू अक्टोबर ६ (असोज २०) गते नेपाल आउन लागेको जानकारी दिएका छन्।

लामिछानेले, उनकै शब्दमा, नेपाल आएर आफूविरुद्धको ‘झुठो आरोप’ को प्रतिवाद गर्ने बताएका छन्। उनले नेपालको न्याय प्रणालीमा विश्वास रहेको र आफू निर्दोष रहेको दावी गरेका छन्।

आफूले कुनै गल्ती नगरेको सन्दीपको भनाइ छ। आफूमाथि लगाइएका ‘गलत आरोप’ का विषयमा समयक्रमसँगै रहस्य खुल्दै जानेमा विश्वस्त रहेको उनले बताए।

एक १७ वर्षीया बालिकालाइ बलात्कारको आरोप लागेसँगै सम्पर्कविहीन भएका लामिछानेविरुद्ध असोज १० गते ‘डिफ्यूजन नोटिस’ जारी भएको थियो।

लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्यूजन नोटिस जारी गरेसँगै इन्टरपोल अन्तर्गतका देशहरूले आफ्नो देशमा खोजी थालेका थिए। इन्टरपोलमा १९५ देश आबद्ध छन्।

लामिछानेले गत आइतबार साँझ मात्रै सामाजिक सञ्जालमार्फत् आफू अस्वस्थ भएका कारण आइसोलेसनमा रहेको बताएका थिए।

उनले पछिल्लो घटनाक्रमले आफू शारीरिक र मानसिक रुपमा विक्षिप्त भएकाले उपचाररत रहेको र केही समयमै नेपाल फर्किएर बलात्कारविरुद्धको मुद्दाको प्रतिवाद गर्ने जानकारी दिएका थिए।

आफूलाई सन्दीपले काठमाडौंको एक होटलमा लगेर बलात्कार गरेको भन्दै १७ वर्षीया किशोरीले सन्दीपविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन्।

प्रतिक्रिया