संसदबाट दुइ, दुइ पटक नागरिकता विधेयक पारित हुनु प्रमुख उपलब्धि: अध्यक्ष आचार्य

इनेप्लिज २०७९ असोज १६ गते १६:१० मा प्रकाशित

काठमाडौँ (जीएनएन)- गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले नेपाल नागरिकता विधेयक २०७९ संसदको दुबै सदनबाट दुइ, दुइ पटक पारित हुनु एक प्रमुख उपलब्धि भएको बताएका छन्।

विजया दशमी २०७९ को अवसरमा संघद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारीबाट उक्त विधेयक प्रमाणीकरण हुने स्थिति बन्न नसकेकोमा गैरआवासीय नेपाली संघले दुख व्यक्त गरेको बताए। ‘संविधानले सुनिश्चित गरेको गैरआवासीय नेपाली नागरिकताको प्रावधानलाई छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउन वैकल्पिक कानुनी बाटोको अवलम्बन गर्न पनि हामी नेपाल सरकार, नेपालका राजनीतिक दलहरु लगायत सम्बन्धित सबै समक्ष हार्दिक आग्रह गर्दछौं,’ उनले भने।

वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सहकार्य गर्न गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषबीच समझदारी पत्रमा हस्ताक्षर भएको उनले बताए। ‘विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई मताधिकार प्रदान गर्ने सम्बन्धमा नेपाल सरकार तथा निर्वाचन आयोग निकै सकारात्मक रहेको हामीले पाएका छौं। यो निर्वाचन लगत्तै फेरी हामीले फलो-अप गर्ने छौं,’ उनले भने।

अध्यक्ष आचार्यले एनआरएनहरुका लागि डलर एकाउन्ट खोल्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकले पटकपटक नियमावलीहरु संशोधन गरेर सहजीकरण गरेको बताउँदै यो सुविधालाई बढी भन्दा बढी उपयोग गर्न एनआरएनहरुलाई आग्रह गरे । अध्यक्ष आचार्यले एनआरएनए स्पोर्टस् एकेडेमीद्वारा गत भाद्र २४ र २५ गते आयोजना भएको “प्रथम एनआरएनए राष्ट्रिय कराते च्याम्पयनसीप २०२२” प्रतियोगितामा एनआरएन खेलाडीहरुले १ रजत र ४ कास्य पदक जितेको स्मरण गरे।
‘हामीले सामूहिक नेतृत्व पनि सफल हुन सक्छ भनेर देखाउने प्रयास गरिरहेका छौं,’ उनले भने।

सोमबारदेखि आगामी ६ महिनाका लागि कार्यकारी अध्यक्षको रुपमा जिम्मेवारी सम्हाल्न लागेकी रबिना थापाले संस्थामा एकता कायम गर्ने र अहिले अलग्गै गतिविधि गरिरहनु भएका साथीहरुलाई समेट्ने आफ्नो पहिलो प्राथमिकता हुने उनले बताइन् । उनले संस्थाको संशोधित विधानलाई आम सहमतिको दस्तावेजको रुपमा प्रस्तुत गर्न आफुले प्रयास गर्ने जनाइन् ।

त्यस्तै अर्का अध्यक्ष बद्री केसीले संस्था भित्र आफुहरुले सामूहिक नेतृत्वको अभ्यास गर्दै गत ६ महिनासम्म सफलताका साथ पुरा गरेको बताए । नेपाली नागरिकताको निरन्तरताका लागि प्रयास जारी रहेको तर विधेयक प्रमाणीकरण नहुँदा एनआरएनहरु निराश भएको उनले बताए । उनले आगामी ११ अक्टोबर २०२३ मा चुनाव गराएर नयाँ कार्य समितिलाई हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘हाम्रो यो कार्यसमितिको म्यान्डेट भनेको सहमति र सहकार्यको म्यान्डेट हो,’ महासचिव डा केशव पौडेलले भने। सहमतिमै विधान पारित हुने उनले अपेक्षा व्यक्त गरे। संघका प्रवक्ता सोम सापकोटाले सबै पत्रकार तथा सहभागीहरुलाई धन्यवाद दिएका थिए।

प्रतिक्रिया