आज फुलपाती ; शुभ साइतको प्रतीक फूलपाती भित्र्याई मनाइँदैछ ,अमेरिकामा पनि मन्दिरमा जाने क्रम जारी

इनेप्लिज २०७९ असोज १६ गते ११:३७ मा प्रकाशित

दशैको सातौ दिन आज दुर्गाभवानीको सातौ रुप कालरात्रीको पुजा आरधना गरी मनाइदै छ । घटस्थापनाको दिनदेखि नै दशैं सुरु भएको भए पनि मुख्य दिन फूलपातीदेखि दशैं सुरु हुन्छ । अमेरिकामा आइतबार बिहान भएको छ भने नेपालमा दिउसो भै सकेको छ ।

अमेरिकाका विभिन्न राज्यहरुमा नेपालीहरुले नै बनाएका मन्दिर तथा भारतीय मूलकाले निर्माण गरेका दुर्गा सहितका मन्दिरमा जाने चलन भएकोले छुट्टिको दिन समेत परेकोले दर्शन गर्ने तयारीमा रहेका छन् ।

प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याई मनाइँदैछ ।

उपत्यकासंगै विभिन्न देशका शक्तिपिठहरुमा भक्तजनहरुको भिड लागेको छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ ।

हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दसैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने परम्परा रहेको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दसैैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्छ । घटस्थापनाका दिन जमरा राखिएको पूजाकोठामा आज कालरात्रिको विशेष पूजा गरिन्छ ।

प्रतिक्रिया