नेपाली कांग्रेसलाई नेपाली जनसम्पर्क समिति अमेरिकाको यस्तो सुझाव

इनेप्लिज २०७९ असोज १२ गते २३:३७ मा प्रकाशित

नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाली कांग्रेसको घोषणापत्र तयारी समितिलाई सुझावहरू पठाएको छ । यस्तो बन्नुपर्छ कांग्रेसको घोषणापत्र शीर्षक अन्तर्गत सुझावहरू पठाएको हो । नेपाली कांग्रेसको घोषणापत्र तयारी समितिले आह्वान गरे बमोजीम नेपाली जनसम्पर्क समिति, अमेरिकाका केन्द्रीय सभापति सुभाष घिमिरे र महामन्त्री क्रान्ति अर्याल भण्डारीले घोषणापत्र तयारी समितिलाई ईमेल मार्फत सुझावहरू पठाएका छन् ।

छापा विज्ञप्तिको पूर्ण पाठ जस्ताको त्यस्तै :


१)मुलुकको कुल मतदाता संख्याको एक तिहाइ विदेशमा रहेको वर्तमान परिप्रेक्ष्यमा विदेशमा बस्ने नेपालीहरूको संलग्नता बिना हुने मतदानको परिणामद्वारा जनताको अभिमतको वास्तविक प्रतिनिधित्व हुन नसक्ने कुरा जगजाहेर छ । विदेशमा रहेका मतदातालाई मतदान प्रक्रियामा सामेल गराई उनीहरूको मताधिकारको सुनिश्चितता गर्न सर्वोच्च अदालतबाट समेत आदेश भइसकेको अवस्थामा हालसम्म त्यस संबन्धी आवश्यक व्यवस्था नहुनु दुःखद छ । अतः अब उप्रान्त मुलुकमा सम्पन्न हुने सबै निर्वाचनहरूमा विदेशमा बसोबास गरिरहेका मतदाताहरूले पनि मतदान गर्ने व्यवस्था गर्ने कुरा घोषणापत्रमा उल्लेख गरियोस् ।

२)नेपालको संविधानमा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकता दुबै सदनबाट दोश्रोपटक पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश भइसकेपछि पनि अनिवार्य रूपले प्रमाणीकरण गर्नुपर्ने संविधानिक दायित्वलाई लत्याउॅंदै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सार्वभौम संसदको मर्यादा र संविधानको मूल मर्ममाथि नै गंभीर प्रहार भएको हाम्रो ठहर छ । त्यसकारण नागरिकता विधेयक कार्यान्वयन गर्ने दिशामा अविलम्ब कदम चाल्ने कुरा घोषणापत्रमा समावेश गरियोस् ।

३)विदेशमा रहेको विभिन्न क्षेत्रको दक्ष जनशक्तिको लगत राखी उनीहरूको ज्ञान, सीप र अनुभवलाई मुलुकको बृहत्तर हितमा उपयोग गर्न आवश्यक कदम चाल्ने कुरा घोषणापत्रमा समावेश गरियोस् ।

४)एनआरएनहरूको लागि मुलुकमा लगानीमैत्री वातावरण सिर्जना गर्ने र दोहोरो कर प्रणालीको समस्यालाई संबोधन गर्न अविलम्ब पहल गर्ने विषय घोषणापत्रमा समावेश गरियोस् ।

जय नेपाल !
सुभाष घिमिरे
सभापति
नेपाली जनसम्पर्क समिति, अमेरिका
केन्द्रीय कार्यसमिति

क्रान्ति अर्याल भण्डारी
महामन्त्री

प्रतिक्रिया