“मैले टेकेको धरती” लोकार्पण

इनेप्लिज २०७९ असोज ११ गते २२:०८ मा प्रकाशित

असोज ११ गते, पोखरा । शिक्षासेवा, समाजसेवी तथा सेवा निवृत्त शिक्षक शोभाकर बरालद्वारा लिखित आत्मकथा “मैले टेकेको धरती” को एक समारोहबिच पोखरालाई ख्याति प्राप्त शिक्षाविद् जर्ज जोेनले नवप्रभाव माध्यमिक विद्यालयको सभाकक्षमा आज लोकार्पण गर्नुभयो ।

झण्डै ३७ वर्ष शिक्षण सेवामा बिताउनु भएको शोभाकर बरालले आफ्नो अनुभव र अनुभूतिलाई “मैले टेकेको धरती” पुस्तकमार्फत सार्वजनिक गर्नुभएको छ ।

कार्यक्रममा लोकार्पित पुस्तकको समीक्षा साहित्यकार दुर्गा शाह “बाबा” ले गर्नुभएको थियो । समीक्षाको क्रममा लामो समय शिक्षण पेसामा आवद्ध रहेर अवकाशपछि खाली रहेको समयलाई सदुपयोग गर्दै पुस्तक प्रकाशित गर्नु भएका बरालको यस कृतिले नयाँ र पुराना पुस्ता जोड्ने सेतुको काम गरेको कुरा शाहले बताउनु भयो । पुस्तक पढ्दै गर्दा पट्यार लाग्ने ठाउँ नै नभएको बताउँदै आफ्नै गाउँ पाखाको परिवेशको याद आउने बताउनु भयो । दुःखका सङ्घर्षहरूका कथाले भरिको बरालको कृतिले असल अभिभावक कसरी बन्न सकिन्छ भन्ने प्रेरणा समेत दिएको बताउनु भयो । सङ्घर्ष नै जीवन हो । कसरी सङ्घर्षबाट सफलता प्राप्त गर्न सकिन्छ भन्ने थाहा पाउन पनि बरालको आत्मकथा अध्ययन गर्नुपर्ने बताउनु भयो ।

पुस्तक लोकापर्ण कार्यक्रममा सेवा निवृत्त शिक्षक तथा समाजसेवी तोयानाथ लामिछानेले पनि कृति र कृतिकारका सम्बन्धमा प्रकाश पार्नु भएको थियो । पुस्तकका लेखक शोभाकर बराल असल शिक्षक मात्रै नभएर असल पिता समेत भएको स्मरण गर्दै आफ्ना पाँचैओटा छोराहरूलाई उच्च शिक्षा दिलाउनु चानचुने कुरा नभएको बताउँदै सबै पिताहरू आदरणीय भएर पनि केही पिताहरू सबैका लागि पूज्यनीय हुने भन्दै शोभाकर बराल हामी सबैका प्रेरणाका स्रोत हुन सक्ने बताउनु भयो ।

पुस्तक लोकापर्ण समारोहका प्रमुख अतिथि शिक्षाविद् जर्ज जोनले आजको कृति लोकार्पण गर्न पाउँदा अत्यन्तै खुसी भएको बताए । सबै मान्छेहरूले कर्म गरे पनि कमै मान्छेले मात्रै सत्कर्म गर्ने र शोभाकार बराल सत्कर्म गर्ने असल अभिभावक र शिक्षासेवी हुनु भएको बताउनु भयो ।

कार्यक्रममा कृतिकार शोभाकर बरालले पनि आफ्नो भनाइ राख्नु भएको थियो । शिक्षण पेसाबाट अवकाश भएपछि माइला छोरा खगराज बरालले कहिले के विषयमा र कहिले के विषयमा लेख्न बारम्बार हुटहुटी नजगाइदिएको भए यो पुस्तक तयार नहुने बताउँदै आज आफ्नै संस्था सेवा निवृत्त शिक्षक समुदायबाट पुस्तक लोकार्पण गर्न पाउँदा अत्यन्तै खुसी भएको बताउनु भयो । पुस्तकमा विशेष नयाँ र विशिष्ट कुरा नभए पनि यस कृतिले नयाँ पुस्तालाई आफ्ना पुस्ता, परम्परा र संस्कृतिको बारेमा थोरै भए पनि जानकारी दिने बताउनु भयो ।

कार्यक्रममा स्थानीय समाजसेवी तथा पोखरा २२ का पूर्व वडाध्यक्ष मित्रलाल बरालले कृतिकारको व्यक्तित्वको परिचय दिनुभएको थियो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका सचिव मनमाया पङ्गेनी भट्टराई, जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुमाल, जिल्ला समन्वय अधिकारी तथा कृतिकारका जेठा छोरा नबराज बराल, चुनबहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

निवृत्त शिक्षक समुदाय, कास्कीद्वारा आयोजित पुस्तक लोकापर्ण समारोहको समुदायका अध्यक्ष छविलाल आचार्यको अध्यक्षतामा सञ्चालन भएको थियो ।


कुल १५२ पृष्ठको पुस्तक “मैले टेकेको धरती” लोकार्पण मा तेह्रओटा शीर्षकमा अनुभव र अनुभूति सङ्ग्रहीत छन् । पुस्तकमा पोखरा महानगरपालिका, वडा नं. २२ ठूलिविणीमा प्रचलित देव कार्यमा गाउने आरती र लोक भजन पनि सङ्ग्रहीत छन् । पुस्तकका अर्को आकर्षत यसमा सङ्कलित विभिन्न तस्बिरहरू हुन् । तीर्थ यात्रादेखि विदेश यात्रासम्मका, स्थानीय थान तथा देवस्थल र लेखकले विभिन्न समयमा प्राप्त गरेका सम्मानको तस्बिरहरू पनि पुस्तकमा देख्न पाइन्छ । पुस्तक व्यक्तिको अनुभव र अनुभूति भए पनि पुस्तकले पस्केका विषयवस्तु पुरातात्विक, ऐतिहासिक र साँस्कृतिकजन्य विषयवस्तु हुन् । वर्तमान तथा भावी पुस्ताका लागि निकै महत्वपूर्ण हुने विषयवस्तु पुस्तकमा पढ्न पाइन्छ ।

प्रतिक्रिया