द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (ICAN), युएसए च्याप्टरको चौथो वार्षिक सम्मेलन तथा साधारण सभा सम्पन्न, नयां अध्यक्षमा आचार्य चयन

इनेप्लिज २०७९ असोज ११ गते १:४२ मा प्रकाशित

भियना, भर्जिनिया। द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (ICAN), युएसए च्याप्टरको
चौथो वार्षिक सम्मेलन तथा साधारण सभा गत सेप्टेम्बर 17, 2022 का दिन Marriott Dunn Loring Fairfax मा सफलतापूर्वक सम्पन्न भएको छ।

साधारण सभाले टीका आचार्यको अध्यक्षतामा ८ सदस्यीय नयाँ च्याप्टर कार्यसमिति चयन गरेको छ ।

ICAN च्याप्टर युएसए, द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (ICAN) केन्द्रको अमेरिका शाखाको रुपमा सन् २०१८ मा डिसी महानगर क्षेत्रमा गणेश सी बानियाको अध्यक्षतामा स्थापना भएको थियो ।

उद्घाटन सभामा संस्थापक अध्यक्ष गणेश सी बानियाले सबै अतिथीहरुलाई स्वागत गर्दै सम्मेलनको शुरुवात गर्नुभएको थियो भने अध्यक्ष नयराज बरालले च्याप्टरका गतिविधिबारे जानकारी गराउनुभयो।

ICAN नेपालका अध्यक्ष सिए भास्कर सिङ् लाला, उपाध्यक्ष सिए सुजनकुमार काफ्ले, कार्यकारी निर्देशक सिए सञ्जयकुमार सिन्हा, नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल इन्जाका अध्यक्ष गुणराज लुइटेल, वरिष्ठ साहित्यकार कृष्ण धराबासी लगायत अतिथिहरूले साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

प्राविधिक सत्रमा नेपाली राजदूतावासका आर्थिक सल्लाहकार होमकान्त भण्डारी, डा शिवहरि दाहाल र कृष्ण भण्डारीले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुका साथै सहभागीहरुका प्रश्नको उत्तर दिनु भएको थियो । सचिव ज्योतिराज अधिकारीले समापन मन्तव्य राख्नु भएको थियो ।

सभामा विभिन्न स्थानबाट आउनु भएका ICAN सदस्यहरुको सहभागिता रहेको थियो ।

प्राविधिक सत्रको मुख्य छलफल वैदेशिक प्रत्यक्ष लगानीमा केन्द्रित थियो । नेपाली दूताबासका आर्थिक सल्लाहकार होमकान्त भण्डारीले दूतावास र च्याप्टरले सहकार्य गर्न सक्ने विभिन्न क्षेत्रकाबारेमा पनि प्रकाश पार्नु भयो ।

साधारणसभामा सहभागी समुदायका सदस्यहरूले च्याप्टरले समुदायका सदस्यहरूलाई वित्त र लेखाको क्षेत्रमा शिक्षित बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने सुझाव दिएका थिए ।

नयां कमिटीको उपाध्यक्षमा कुन्दन कर्ण, सचिवमा ज्योतिराज अधिकारी, कोषाध्यक्षमा शर्मिला प्रजापति चयन हुनु भएको जानकारी पूर्व अध्यक्ष बानियांले दिनु भयो ।

प्रतिक्रिया