भर्जिनियामा सम्पन्न दशैँ–तिहार महोत्सवमा एड्रियन प्रधान तथा निमा रुम्बाले दर्शकलाई तताए र नचाए ,महोत्सव ऐतिहासिक

इनेप्लिज २०७९ असोज ११ गते १:२५ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा गत सेप्टेम्बर २५ ,आइतबारका दिन आयोजना गरिएको दशैँ–तिहार महोत्सव २०२२ ऐतिहासिक रुपमा सम्पन्न भएको छ । दशैँ र तिहारको मुखमा आयोजना गरिएको उक्त मेलाले यस क्षेत्रका नेपाली समुदायलाई नेपालको झझल्को र नेपाल नै पुर्याएको भान गराएको छ ।

उक्त महोत्सवमा १९७४ एडीका चर्चित गायक एड्रियन प्रधान तथा प्रख्यात गायक निमा रुम्बाको अद्वितीय तथा बेजोड प्रस्तुतिले सबै दर्शकलाई भरपुर मनोरंजन प्रदान गराएको छ ।

लामो समय देखि प्रतीक्षारत आफ्ना मन परेका कलाकारहरुलाई आफ्नो अगाडी भेट्दा कार्यक्रम भरि दर्शकले साथ दिएका थिए ।

दुवै गायकको प्रस्तुतिमा सुरु देखे नै झुम्दै र नाच्ने गीतमा निर्धक्क भएर दर्शकले नृत्य गरेका थिए । महोत्सवमा प्रधानले करिव आधा दर्जन भन्दा ज्यादा आफ्ना कालजयी गीत प्रस्तुत गरेका थिए भने रुम्बाले सुरु देखि नै दर्शकलाई तताउदै आफू स्वयम नृत्य गर्दै नाच्ने शैलीका गीत प्रस्तुत गरेका थिए । दुवै कलाकारहरु मंचमा आउने बित्तिकै चिच्याएर आफ्ना मन पर्ने गीत फरमाइस गरेका थिए ।

कोरोनाको महामारी पछि यस्तो प्रकारको खुला मैदान ,नेपालको झझल्को दिने रमणीय स्थलमा दुवै कलाकारले बेजोड प्रस्तुति गर्दा दर्शकहरु झुम्दै नाचेका थिए । दिवा समयमा दशैँ–तिहार महोत्सव २०२२ भएको थियो रात्री समयमा एड्रियन प्रधान तथा निमा रुम्बाको बिशेष प्रस्तुति रहेको थियो । रुम्बा र प्रधान अगाडी बोस्टनको चर्चित हिमालय ड्रिम्सको सारंगी ,बासुरी र तबलाको धुन संगै प्रस्तुत गीतले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो ।

साथै डिसी क्षेत्रका चर्चित स्थानीय कलाकारहरुमा प्रतिभावान युवा गायिका प्रकृति देउजा ,पासा ब्याण्ड (सङ्गीत मण्डली ),डिएमभी एक्युसटिक्स ,सरोज जेम्स होजु लगायतको बिशेष प्रस्तुति रहेको थियो ।

दशैँ तिहार महोत्सव बिहान ११ बजे देखि प्रारम्भ भएको थियो भने डिसी क्षेत्र बाहेक अन्य राज्यहरुबाट पनि कार्यक्रम हेर्न आएका थिए । महोत्सवमा ४० वटा दशैँ तिहारको लागि चाहिने हरेक सामग्रीहरु प्रदर्शनी कक्षमा राखिएका थिए । मम ,सेलरोटी ,समयबजी लगायत पाइने १० वटा नेपाली परिकारका खाना पाइने पसलहरु रहेका थिए । आउने मानिसहरुले आफूलाई चाहने सामग्रीहरु खरिद गरेका थिए भने सबै पसलहरुमा घुईचो लागेको थियो । दिउसो केही समय वर्षा भएता पनि कार्यक्रम हेर्न आएका दर्शकहरु अन्तिम समय सम्म एड्रियन प्रधान र निमा रुम्बाको गीत सुन्न पर्खेर बसेका थिए ।

दिउसो १ बजे देखि नै अमेरिकामा जन्मेका दोश्रो पुस्ताका किशोर किशोरी ,बालबालिकाहरुको गीत ,,नृत्य र मेरिल्याण्डका बिद्यालयका साना बालबलिकाको बिशेष प्रस्तुति अझै आकर्षित रहॆको थियो । कार्यक्रम स्थलमा नेवा अर्गनाईजेसन अफ अमेरिका(एनओए )को कुमारी रथ तथा सेतो हात्ती पुलुकिसी पनि प्रदर्शनको लागि राखिनुको साथै एनपीपीएबाट अष्ट मात्रिकाको रुपमा महिलाहरुको देवी नृत्य प्रस्तुत गरिएको थियो ।

दशैं तिहार मेला २०२२ थ्री ई इन्टरटेन्मेन्ट’ संस्थाको आयोजना तथा अनेस्ट रियल स्टेट (घर खरिद तथा बिक्री )को मुख्य प्रायोजनमा भएको हो ।

स्मरण रहोस ,थ्री ई इन्टरटेनमेन्ट संस्था पछिल्ला बीस वर्षभन्दा लामो समयदेखि वासिङटन डिसी महानगर क्षेत्रका नेपाली समुदायबीच व्यवसायिक कार्यक्रमहरूको सफल आयोजना गर्दै आएको छ । थ्री ई इन्टरटेन्मेन्ट’की प्रमुख अन्जना बुढाथोकी सापकोटाले सबैलाई बिशेष धन्यबाद दिई अनेस्ट रियल स्टेटबाट कारोवार गर्न समेत आग्रह गरेकी थिइन् ।

यसै गरि दुवै संस्था थ्री ई इन्टरटेन्मेन्ट तथा अनेस्ट रियल स्टेटका संचालक सुरेश सापकोटाले समुदायले धेरै माया गर्नु भएकोले अर्को बर्ष पनि अझ बिशाल कार्यक्रम लिएर आउने प्रतिबद्धता जाहेर गरे ।

यस कार्यक्रमलाई सफल बनाउन डिसी क्षेत्रमा ३० बर्ष देखि स्वयमसेवक रुपमा काम गर्दै आएकी प्रभा भट्टराई देउजाले दोश्रो पुस्ता र समुदायलाई समेट्न सकेकोमा हर्ष व्यक्त गरेकी छिन । साथै आयोजक समितिमै संलग्न भै सहयोगीको रुपमा एनआरएन भर्जिनियाको पनि अहम भूमिका रहेको थियो भने अध्यक्ष सुबोध रेग्मीले हृदय देखि नै समुदाय सदस्यहरु प्रति नमन गर्न चाहेको ईनेप्लिजलाई बताए ।

कार्यक्रम संचालन सरोज केसी तथा नुतन छेत्रीले गरेका थिए भने कार्यक्रममा मिस नेपाल नर्थ अमेरिका प्रतियुशा बोहरा पनि टेक्सस राज्यबाट आएकी थिइन ।थ्री ई इन्टरटेन्मेन्ट तथा अनेस्ट रियल स्टेटले डिसी र बाल्टिमोरमा ग्लोबल नेपाल फेस्ट भन्ने कार्यक्रम गर्ने र आगामी बर्ष देखि अमेरिकाका विभिन्न शहरमा पनि आयोजना गरिने संचालक सुरेश सापकोटाले बताए ।

दशैँ–तिहार महोत्सव २०२२ भर्जिनियाको सेन्टरभिल शहरको “बुल रन इभेन्ट सेन्टर” मा आयोजना भएको थियो । आयोजकका अनुसार उक्त महोत्सवमा करिव ४ हजार दर्शकहरु आएका थिए ।

प्रतिक्रिया