सन्दीपले दिए यस्तो सन्देस म बिरामी छु, निर्दोश छु चाँडै नेपाल फर्केर झूटा उजुरीको प्रतिवाद गर्नेछु ( भिडियो सहित )

इनेप्लिज २०७९ असोज १० गते ९:३४ मा प्रकाशित

Inbox

प्रहरीको खोजीमा रहेका क्रिकेटर सन्दीप लामिछानेले आफू जतिसक्दो चाँडो नेपाल फर्किएर झूटा उजुरीको डटेर प्रतिवाद गर्ने बताएका छन् । अहिले आफू मानसिकरुपमा विक्षिप्त र अस्वस्थ समेत रहेकाले आइसोलेसनमा रहेको उनले जानकारी दिएका छन् ।

आफू रहेको स्थान नखुलाइकन सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै सन्दीपले यस्तो बताएका हुन् । उनले कसुर प्रमाणित नभइकन आफूलाई अपराधिका रुपमा चित्रण गरिएकोमा गुनासोसमेत गरेका छन्

आफू विरुद्ध परेको झुट्टा जाहेरीको विषयमा विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा एकलौटी तरिकाले, आफ्नो चरित्रमा गम्भीर आँच आउने गरी समाचारहरू आएको उनले बताएका छन् । ‘मेरो नाउँमा वारेन्ट जारी भएको समाचार र म विरुद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रूपमा विक्षिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन,’ सन्दीपले भनेका छन् । यी सबै कुराले आफूलाई मानसिक असर परेको र खराब स्वास्थ्यका कारण आफूलाई आइसोलेसनमा राखेर बसेको उनले बताएका छन् ।

‘झुट्टा जाहेरीकै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शारीरिक रूपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगी डाक्टरहरूको सरसल्लाहमा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ । जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्धको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु,’ उनले भनेका छन् ।

आफू एउटा गम्भीर षडयन्त्रको सिकार भएको महसुस भएको पनि सन्दीपले बताएका छन् । आफूmलाई अपराधी साबित गराउने झुट्टा जाहेरी र प्रपञ्चहरूको कानुनी लडाइँ लड्ने उनको भनाइ छ ।

‘मैले बुझेसम्म नेपालको संविधानले कसुर प्रमाणित नभएसम्म कसुर दार नमानिने व्यवस्था गरेको छ । साथै संविधानले सम्मानपूर्वक बाँच्न पाउने, यातना विरुद्दाको हक, गोपनीयताको हक, स्वास्थ्य सम्बन्धी हक र मेरो कानुन व्यवसायीसँग कानुनी परामर्श गर्न पाउने हकसमेत रहेको बुझेको छु,’ उनले भनेका छन् । आफूविरुद्द अफवाह फैलाउने समाचारहरू सम्प्रेषण नगरी दिन हुन उनले सबैमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया