“छोरीले जन्माएका आमाहरू” पुस्तकको अन्तर्राष्ट्रिय लोकार्पण

इनेप्लिज २०७९ असोज ५ गते २:२७ मा प्रकाशित

भर्जिनिया, २० सेप्टेम्बर । नेपालबाहिर हाल अमेरिकाका विभिन्न राज्यहरूमा बसोबास गरिरहेका बाह्रजना छोरीद्वारा सिर्जित आमाहरूको जीवनकथा समेटिएको “छोरीले जन्माएका आमाहरू” पुस्तकको हालै अन्तर्राष्ट्रिय लोकार्पण भएको छ ।

जुममार्फत अमेरिकाबाट गत शनिबार सार्वजनिक गरिएको यस पुस्तकले सातजना जीवित र पाँचजना दिवंगत आमाहरूको सत्य–कथा भनेको छ । स्मरणीय छ, यस पुस्तकको सार्वजनीकीकरण करिब एक सातापहिले काठमाडौंबाट पनि गरिएको थियो ।

पुस्तकको अन्तर्राष्ट्रिय सार्वजनिक समारोहमा उपस्थित र पुस्तकका पात्रसमेत रहेकी आमा राधा कँडेल (रमा मिश्र) र जया घिमिरे, कार्यक्रमका वक्तात्रय रजनी ढकाल, महेश पौडेल र केशव ज्ञवाली, अक्षर क्रिएसन्सका डा. अर्चना थापा तथा पुस्तकका परिकल्पनाकार, संयोजक तथा एक लेखक मञ्जु थापाका साथै सम्पादक जयदेव गौतम र सम्पूर्ण लेखकहरूले मुखपृष्ठ प्रदर्शन गर्दै सामूहिक रूपमा पुस्तकको लोकार्पण गरेका थिए ।

सम्बोधन–क्रममा प्रकाशक अक्षर व्रिएसन्सकी डा. अर्चना थापाले ‘मूलत: यो पुस्तक ‘हर–स्टोरी डक्युमेन्टेसन’ को एक प्रयास हो, आमाहरूको जीवनी र महिलासम्बन्धी इतिहास लेखनको सम्मिश्रण हो र महिलाहरूको योगदानलाई सम्मान गर्दै त्यसलाई अजर–अमर तुल्याउने अभियानको एक अंश पनि हो । यसका साथै, सरल भाषा र रोचक शैलीमा लेखिएका उल्लिखित सत्य–कथाहरू निजी र सार्वजनिक ‘स्पेस’ मा आमाहरूले गर्दै आएका गोचर र अगोचर संघर्ष, श्रम र योगदान देखाउने आँखीझ्याल हुन्’ भन्दै यस किसिमका पुस्तकहरू अझ धेरै लेखिनुपर्ने आवश्यकता औँल्याइन् ।  

लोकार्पण समारोहलाई सम्बोधन गर्दै समालोचक–साहित्यकार डा. रजनी ढकालले  ’महिलाले बाँचेको जीवनलाई लेख्नु भनेको समाजको धेरै क्षेत्रलाई लेख्नु हो । महिलाको इतिहास लेख्नु भनेको वास्तविक इतिहास लेख्नु हो जुन काम यो पुस्तकले गरेको छ‘ भन्ने विचार व्यक्त गरिन् ।

पुस्तकमाथि टिप्पणी गर्दै लेखक–अनुवादक महेश पौडेलले यस किताबको परिकल्पना ‘अफ दी बिट भएको’ उल्लेख गर्दै महिलालाई हेर्ने र गरिने व्यवहारबीचको विरोधाभाषलाई उत्खनन् गर्ने यो पुस्तकको मुख्य उद्धेश्य रहेको बताए ।  

आफ्नो कथा–सङ्ग्रह ‘अर्को भोर’ का लागि हालै पद्मश्री पुरस्कार पाएका कथाकार केशवराज ज्ञवालीले पुस्तकमा चित्रित आमाहरुको कथाले जीवनमा आइपर्ने धेरै समस्याहरु पार गरेर पनि कोसिस गर्यो भने आफनो लक्ष्य हासिल गर्न सकिदो रहेछ र अहिलेको सहज स्थितिमा अझ अग्ला सगरमाथाहरु चढ्न सकिन्छ भन्ने वर्तमान पुस्तालाई प्रेरणा दिन सक्ने बताए ।

यसैगरी संयोजक मञ्जु थापाले पुस्तकको परिकल्पनादेखि लेखन, सम्पादन एवं प्रकाशनसम्ममा करिब डेढ वर्ष लामो अथक परिश्रम लागेको उल्लेख गर्दै आफ्नो एक अनुसन्धानबाट नेपालमा यस किसिमका पुस्तकको संख्या पाँच सयभन्दा बढी नभएको निष्कर्ष निस्केको बताइन् । उनले भनिन्, ‘कुनै पनि समाजको विकास र राज्य निर्माणमा पुरुषहरू मात्र योगदान हुँदैन, अझ बढी भूमिका महिलाहरूको हुन्छ । हरेक महिलाका भोगाइहरू घरभित्र मात्र हुँदैनन्, त्यसकारण पनि ती सबैबारे लेखिनुपर्छ । हामी छोरीले मात्र होइन, छोराहरूले पनि आमाहरूका बारेमा लेख्नुपर्छ ।’

मञ्जु थापाले अगाडि भनिन्, ‘हामीले अमेरिकामा जुम मिटिङ गर्‍यौँ । पच्चीसजना छोरी आमाहरूको जीवनकथा लेख्न तयार भए तर सबैको कथा आएन । हरेक महिना बैठक गर्दै रह्यौँ र त्यस क्रममा १४ जना आमाहरूका कथाको लेखन र अन्तिम सम्पादनसमेत भइसक्दा केही लेखकले छाप्न चाहनुभएन र योजनाबाट अलग्गिनुभयो । अन्त्यमा हामी १२ जना लेखकको सामूहिक एवं साझा कृतिका रूपमा प्रस्तुत कृति तयार भएको हो ।’  

लेखकहरू कमला न्यौपानेले स्वागत गर्नुभएको, मीरा बस्नेत एवं उमा शर्माले सञ्चालन गर्नुभएको र कविता घिमिरेद्वारा धन्यवाद ज्ञापन गरिएको लोकार्पण समारोहमा पुस्तकका सम्पादक जयदेव गौतमले आफ्नो सम्पादन अनुभव सुनाएका थिए भने पुस्तकमा समाविष्ट लेखकहरूले आ–आफ्नो विशिष्ट लेखन–अनुभव सुनाएका थिए ।

सतहमा बाह्रजना आमाको जीवनगाथा भए पनि पुस्तकले उहिले र अहिलेको समय–अन्तरालमा महिलाले भोग्नु परेका, भोगेका र भोगिरहेका विविध सामाजिक–सांस्कृतिक–राजनीतिक–आर्थिक पहलुहरूबारे रोचक ढंगले बोलेको छ ।

पुस्तकमा आमाहरूको जीवनका विभिन्न पक्षहरूको चर्चा गरिएको छ । यसमा ती आमाहरूको व्यक्तिगत जीवनी छ, उहाँहरू बाँचेको समाजको कथा छ, त्यतिबेलाका महिला–पुरुष अवस्थाको चित्रण छ, आमाछोरी सम्बन्धको संस्मरण छ र हजुरआमा–आमा–छोरी–नातिनीहरूको अन्तरपुस्ता नालीबेली पनि छ ।

अक्षर व्रिएसन्सले प्रकाशन गरेको करिब ४५० पृष्ठ लामो “छोरीले जन्माएका आमाहरू” पुस्तकमा इन्द्र गुरौ, उमा शर्मा, कमला न्यौपाने, डा. कविता घिमिरे, कल्पना तामाङ, जानु ओझा, तनुजा पाखरेल, निर्मला राई, मीरा बस्नेत, मञ्जु थापा, डा. मोनिका आचार्य र सञ्जीता बराइली गरी बाह्रजनाका लेख समाविष्ट छन् ।

प्रतिक्रिया