क्यानाडामा १४ औं हिमालयन मेला सम्पन्न: हजारौं नेपालीको सहभागिता !! 

इनेप्लिज २०७९ असोज ३ गते २१:४८ मा प्रकाशित

मदन बस्नेत – क्यानाडा। क्यानाडाको ब्यस्त शहर टोरन्टोमा नेपाली समुदायले मनाउँदै आएको सबैभन्दा ठूलो नेपाली मेला: “हिमालयन मेला” हजारौं नेपालीहरुको सहभागिताका बीच भब्यताकासाथ सम्पन्न भएको छ।

नेप्जिल क्यानेडीयन कम्युनिटी सर्भिसेजको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न विधाका कलाकारहरुले आकर्षक नृत्य र मौलिक सांस्कृतिक झाँकीहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा चर्चित कलाकारहरु नलिना चित्रकार, हेमन्त रानालगायतको बिशेष प्रस्तुति रहेको थियो। उनीहरुको गायन र प्रस्तुतिमा सहभागी दर्शक तथा श्रोताहरुले उनीहरुसंगसंगै नाचेर गाएर मनोरञ्जन लिएका थिए।

कार्यक्रम परिसरमा नेपाली खानाका विभिन्न परिकारहरुका स्टल पनि राखिएको थियो। नेपाली मौलिक खानाको स्वाद लिनेहरुको भिडभाडले नेपाली फूड स्टहरु निकै ब्यस्त देखिन्थे।

कार्यक्रममा नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यक्रम सफलताकोलागी पठाउनु भएको शुभकामना सन्देश पढेर सुनाईएको थियो। त्यसैगरी अन्टारियोका प्रिमियर डग फोर्डले मेला सफलताकालागि दिएको शुभकामना सन्देशको पनि जानकारी गराईएको थियो।

मेलाका अवसरमा क्यानाडाका विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको उल्लेख्य सहभागिता थियो। पारिवारिक भेटघाट गर्न नेपालबाट क्यानाडा आउनु भएका नेपाली अभिभावक तथा जेष्ठ नागरिकहरुले मेला निकै चाख लिएर अवलोकन गर्नु भएको थियो। मेलामा नयाँ पुस्ताका नेपाली र साना केटाकेटीहरुको पनि उल्लेख्य उपस्थिति थियो।

मेलामा उच्च शिक्षा हाँसिल गर्न नेपालबाट क्यानाडा आएका नेपाली बिद्यार्थीहरुको पनि बाक्लै जमघट थियो। मेलामा स्थानीय जनप्रतिनिधि र क्यानेडेली अधिकारीहरु पनि सहभागी भएर रमाइलो गरेका थिए।

मेलामा बाग्लुङ सेवा समाजको पञ्चे बाजा, हिमालयन भाईब्सको मौलिक नेपाली सांगीतिक धुन, जनजाति समुहको नाचगान, नेवा गुठीको सांस्कृतिक प्रस्तुति र लाखे नाच, सृजनशिल नेपाली समाजको तर्फबाट नृत्य, नेपाल क्यानेडियन हेरिटेज सेन्टर: पशुपतिनाथको मन्दिरको तर्फबाट भजन र नेपाली खेलाडीहरुको खेल कौशल देखाउनुका साथसाथै योगाभ्यासको पनि प्रदर्शनी गरिएको थियो।

कोरोना महामारीका कारण अघिल्ला दुई वर्ष हुन नपाएको यो नेपाली मेला क्यानाडा र खासगरी टोरन्टो आसपासका क्षेत्रका नेपालीका लागि एउटा पर्व र उत्सवको रुपमा स्थापित छ। यसपटकको हिमालय मेला: नेपाली मेलाको चौधौं संस्करण हो।

कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न आर्थिक रुपमा सहयोग गर्ने कार्यक्रमको टाईटल स्पोन्सर एभरेष्ट रियल्टी ब्रोकेजलाई बिशेष सम्मान प्रदान गरिएको थियो भने अन्य सहयोगी संघ संस्थाहरुलाई अभिनन्दन गर्नुकासाथै मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रमको सफलतामा अहोरात्र खटिने संस्थाका पदाधिकारीहरु, स्वयंसेवकहरु तथा आर्थिक र भौतिक रुपले प्रत्यक्ष अप्रत्यक्ष रुपमा सघाउने सम्पूर्ण संघसंस्था तथा महानुभावहरुप्रति नेप्जिल क्यानेडीयन कम्युनिटी सर्भिसेजको तर्फबाट संस्थाका अध्यक्ष तुलसी पाठकले हार्दिक आभार प्रकट गर्नु भएको थियो।

  • मदन बस्नेत, क्यानाडा।

प्रतिक्रिया