अर्जुन लामाको हत्या, सभामुख अग्नि सापकोटा, बार्दली “बा” र प्रधान न्यायाधीश चोलेन्द्रको नियती !

-रामप्रसाद खनाल २०७९ असोज २ गते १५:१० मा प्रकाशित

१- काभ्रेमा अर्जुन लामाको हत्या गर्ने हत्यारा अभियुक्त अग्नि सापकोटा सभामुख बनाइए प्रचण्ड र ओलीको लगन गाँठो कायम रहेका बेला । सर्वोच्च अदालतले फरार अभियुक्त भन्दै प्रहरीले संरक्षण गरेका सापकोटाको मुद्दामा अन्तिम फैसला गरी जेल पठाउन ढिलो गर्दा उनी सभामुख मात्र बनेनन् सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र सम्झेर जबरालाई महाभियोग लगाउने, नलगाउने, कहिले लगाउने, कसरी महाभियोगको आरोपमा झुन्ड्याइ राख्ने, सबै खेलमा यिनले खेल मात्र खेलेनन्, महाभियोगको टुङ्गो लाग्न नदिएर उनको पदीय हैसियत निलम्बनमा राखेर, प्रधान न्यायाधीश लाई निवासमै नजरबन्द राखेर संसद् टुङ्गाए । हत्या अभियुक्त अग्नि सापकोटा नै प्रधान न्यायाधीशको पनि महा न्यायाधीश बने । बल्ल थाहा पाए होलान् चोलेन्द्रले आफूहरूले समयमा सर्वोच्चमा मुद्दा टुङ्गो लगाउन नसक्दा कसरी हत्या अभियुक्त अपराधी आफ्नै न्यायाधीश बने ।   

२- भस्मासुर प्रचण्ड, देउवा, माकुनेहरुको सत्ता गठबन्धनले सत्ता स्वार्थका लागि प्रयोग गरेका र आफ्नो स्वार्थका लागि पछि महाभियोग लगाएका  सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र सम्झेर जबरालाई दोषी भए दोष अनुसारको सजायँ दिएर कानुन अनुसार जेल हाल्नु पर्ने भए जेल हालिनु पर्थ्यो, निर्दोष भए निर्दोष भनेर सफाइ दिनु पर्थ्यो तर अर्को सँसद बने पछि मात्र बाँकी काम पुरा गर्ने भन्ने जस्तो ठुलो अन्याय र अपराध अरू के हुन सक्ला र ! याद रहोस् ढिलो न्याय आफैमा अन्याय हो । 

३- प्रचण्ड सँग ५ वर्ष अघि एकाएक लगन गाँठोमा बाँधिने केपी ओली र उनको एमाले नामको दुइजिब्रे पार्टीको गलत निर्णय ले गर्दा सकिनै लागेको, निभ्न लागेको बत्ती जस्तो माओवादी र प्रचण्ड नामको भस्मासुरले पुनर्जीवन मात्र पाएनन, दुई तिहाइमा रहेका ओली आफै बार्दलीमा पुगे, माकुनेका १४ भाइ प्रकरण कसरी सुरु भयो ? अग्नि सापकोटा नामका अपराधका जल्लादले कसरी खेले र हेर्दा हेर्दै के के भयो ? एमाले र ओली महाराजलाई पक्कै चेतना भएकै होला । अपराधीहरू, राक्षसीहरू कहिल्यै कसैका आफ्ना हुन्नन् चेत खुलोस् र अझै पनि हत्यारा अपराधीहरूलाई सुनपानी छर्किँदै अबिर माला लगाइदिंदै एमाले प्रवेश गराउने ओलीहरूले आफैलाई पुर्ने खाडल खन्न बन्द गरुन् । हुन त झापामा टाउको काटेर, जेल जीवन यापन गरेर आएका हरू पो कुनसा चोखा छन् र ? किन बुझ्छन् र !     

४- गठबन्धन गरेर चुनावमा जाने, बहुमत ल्याउने र आफू प्रधानमन्त्री हुने, प्रधानमन्त्री हुन नसके चुनाव लगत्तै यो प्रणालीका विरुद्ध सडक मा जाने भस्मासुर प्रचण्ड को उदघोस भैसकेको छ । यती भन्दा पनि अझ नबुझे झैँ गरेर लिसो टाँसिए झैँ टाँसिने देउवा र उनको लाचार काँग्रेसले ओलीले भन्दा ठुलो धोखा पाउने छन् लेखेर राखे हुन्छ । पहिला पनि धोखा खाएर नचेत्ने देउवा र काँग्रेस, ओली र एमालेकै बाटो मा छन । 

५- मान्नुस् या नमान्नुस् देश लाई माया गर्ने हरू, स्वतन्त्रहरू, बुद्धि विवेक भएका हरू, केही गरौं भन्नेहरू आफू आफू मै खुट्टा तानातान गर्ने, एकले अर्कालाई नगन्ने, मै ठुलो भन्ने, दम्भ पालेर बस्ने, आफै अध्यक्ष भए एकता हुने अर्को लाई अध्यक्ष मान्नै नसक्ने प्रवृत्ति जुन देखिएको छ त्यो भनेको अर्को अपराध हो किन कि यसले अपराधीहरू र राक्षसी राजलाई सहयोग पुग्छ । 

६- चुनाव आउन लाग्यो, यी स्वतन्त्र र राष्ट्रवादी भनिने हरू म यो क्षेत्रबाट उठ्छु भनेर फेसबुक, युट्युबेहरु सँगको कुराकानीमा घोषणा गरिरहेका देखिन्छन् । सबैलाई सांसद हुन मन छ, मन्त्री, प्रधानमन्त्री हुन मन छ । व्यक्तिगत स्वार्थ भन्दा माथि उठौँ मित्रहरू । फेसबुक, मा युट्युबेहरु सँगको कुराकानीमा आउने लाइकले चुनाव जितिन्न । चुनावमा मतदाताले मत दिनुपर्छ र बल्ल जितिन्छ । योजना भिजन सहित कहाँ के आवश्यकता हो, कसरी सङ्गठित हुने, कसरी मतदाता माझ जाने सोंच्नुभाछ ? हँचुवाको भरमा जाँदा फाइदा पुग्ने तिनै अपराधी र राक्षसी राजका  मतियारहरूलाई हो है चेतना भया । 

७- अपराधी र राक्षसी राज बदल्ने हो भने या त सडक बाटै कब्जा जमाउन सक्नु पर्‍यो या त चुनावमा आफ्नो मत बाट प्रकट गर्नु पर्‍यो । चुनाव  भन्दा ठुलो अवसर अरू केही हुन्न । तपाईँको म त नै परिवर्तन को बाहक हुन सक्छ र अपराधी र राक्षसी राजका मतियारहरूलाई मत नदिनुस् त त्यहाँ भन्दा ठुलो महाभियोग तिनीहरूलाई अरू कुनै हुन्न । 

८- प्रधान न्यायाधीशलाई नजरबन्द गरेको समाचार बाहिर आउँदै गर्दा सँयोग भनौं या के भनौं आजै ७०२ जना कैदीहरू पनि जेल मुक्त गरिएछ । पहिला पहिला न्यायाधीशहरुले आदेश दिएर हत्यारा अपराधीहरू थुन्न जेल पठाउँथे अहिले हत्यारा अपराधीहरूको आदेशमा प्रधान न्यायाधीश लाई नजरबन्द गरेर ७०२ जना कैदी जेल मुक्त गरिन्छ । जेल मुक्तहरू मध्ये अधिकांश प्रचण्ड र माओवादीका अपराध गरेका मान्छे छन् भन्ने सुन्नमा आयो । वास्तविकता के हो खुल्दै जाला । बधाई छ प्रचण्डको अघोषित जङ्गली राजलाई । बधाई छ बिपी कोइरालाका अनुयायीहरूलाई । बधाई छ प्रचण्ड जस्ता भस्मासुरका पछुवा माकुनेहरुलाई । छि तिम्रो लोकतन्त्र, गणतन्त्र । यस्तो पनि हुँदो रहेछ देश, यसरी पनि चल्दो रहेछ देश । अझ लोकतन्त्र गणतन्त्र रे ! अब त अति भो ! सहने कति हो ??

९-  बुझ्नुहुन्छ बुझ्नुस् नत्र “बुझ्नेले कुरा नबुझे पछि, मनमा कुरा नलिए पछि, मनलाई पिर त पर्ने नै भयो, यो मन त्यसै मर्ने नै भयो” भनेर बसौँला म पनि । अरू त खोइ के भनौँ र म एउटा “देश हराएको मान्छे”, “मुर्दाहरूको बस्ती”, “माटोको दुखाइ” को लेखकले ! 

नोट : लेखक खनाल अमेरिकाबाट प्रकाशित हुने लोकप्रिय डिजिटल पत्रिका नेपाल मदर डट कमका प्रधान सम्पादक पनि हुनुहुन्छ – इनेप्लिज ।

  

प्रतिक्रिया