युवराज भण्डारीको गीतमा राजेश थापाको सङ्गीत

इनेप्लिज २०७९ भदौ २६ गते २१:४१ मा प्रकाशित

गीतकार युवराज भण्डारीले नेपाली सङ्गीत क्षेत्रमा एउटा अर्को सुमधुर प्रेम गीत थपेका छन्। लोकप्रिय गायक प्रविण बेडवाल र गायिका रचना रिमालको स्वर रहेको तिम्रो आँखामा बोलको युगल गीत हालै वाई बी कृयसन मार्फत सार्वजनिक भएको छ। प्रसिद्ध सङ्गीतकार राजेश थापाको सङ्गीत र गीतकार युवराज भण्डारीको शब्द रहेको उक्त गीतमा फणीन्द्र राईले सङ्गीत संयोजन गरेका छन् ।

काठमाडौंको ए-वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन् भने ध्वनि सम्पादन किशोर थापाले गरेका छन्। वाई बी कृयसनले हालै सार्वजनिक गरेको यस गीतको भिडिओमा गायक गायिका र वाधवादकहरूको अभिनय देख्न सकिन्छ । बिनोद बमको निर्देशन/ सम्पादन र केशव अधिकारी छायाङ्कनमा भिडिओ साङ्ग्रिला कृयसनले तयार पारेको हो।

गीत, गजल र अन्य विधामा तिन दशकदेखि सक्रिय डुम्रीबेँसी, तनहुँ निवासी युवराज भण्डारी हाल क्यानडा छन्। भण्डारीको एक गीति कविता सङ्ग्रह प्रकाशित छ भने उनको शब्द / सङ्गीतमा केही गीतहरू रेकर्ड भइसकेका छन्। पेशाले इन्जिनियर भण्डारी प्रवासमा साहित्यिक र सामाजिक अभियानमा सक्रिय छन्।

प्रेम गीतहरू भन्दा विरह बिछोडका गीत बढी सुन्न देख्न पाइने नेपाली सङ्गीत उद्योगमा ‘तिम्रो आँखामा’ एक सशक्त र सुन्दर प्रेम गीतको रूपमा आएको छ । यस गीतले दर्शक श्रोताहरूको मन जित्ने विश्वास गरिएको छ। यो साङ्गतिक भिडिओ एकपटक हेरेर सहयोग गरिदिन दर्शक श्रोतासँग स्रष्टाहरूले हार्दिक अनुरोध गरेका छन्।

भिडिओको लिङ्क तल दिइएको छ ।

प्रतिक्रिया