‘आफै कमाउ, आफै पढ र कम्तीमा एक अभिभावक, एक विद्यार्थी पढाऊ ’ अभियान सञ्चालन

मनोज दाहाल २०७९ भदौ ५ गते १०:३० मा प्रकाशित

 

मोरङ, २ भदौ (रासस): प्रदेश सरकारको अन्तर्गतको मोरङको वुढीगंगा–४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालय । विश्वविद्यालयले अहिले पहिलो समूहमा सिभिल र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक इन्जिनियरिङको अध्यापन कार्य शुरु गरेको छ। तस्बिर : मनोज दाहाल ÷रासस

विराटनगर,५ भदौ । मनमोहन प्राविधिक विश्वविद्यालयले मुलुकलाई विकसित राष्ट्र निर्माणका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन कार्य शुरु गरेको छ।

प्रदेश नं १ सरकार, भारत सरकार र मनमोहन स्मृति प्रतिष्ठान बीच त्रिपक्षीय सम्झौताबाट मोरङको बुढीगङ्गा गाउँपालिका वडा नं ४ मा स्थापित विश्वविद्यालयले विश्वमा अध्ययन अध्यापनमा आएको अत्याधुनिक पाठ्यक्रम प्रयोग गरी सिभिल र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक इन्जिनियरको अध्यापन कार्यको पहिलो समूह विसं २०७८÷८९ देखि शुरु गरेको छ ।

प्रदेश नं १ सरकारबाट मनमोहन स्मृति पोलिटेकनिकलाई मनमोहन प्राविधिक विद्यालय बनाउन अनेक रस्साकस्सीका बाबजुद विधेयक संसदबाट पारित भै तत्कालीन प्रदेश प्रमुखबाट विसं २०७६ असोज १६ गते प्रमाणीकरण भएको हो ।

विश्वविद्यालय अन्तर्गत मनमोहन पोलिटेक्क्निकमा रहेको २१ विगहा दुई कठ्ठा आठ धुर जग्गामध्ये सात विगाहा छ कठ्ठा जग्गामा पूर्वाधार निर्माण भएको छ ।

विश्वविद्यालय स्थापनाले यहाँ अध्ययन गर्ने विद्यार्थीहरुका कारण यस क्षेत्रलाई तराई, पहाड र हिमालसँग जोडेको छ ।

विश्वविद्यालय स्थापनले यस क्षेत्रमा पूर्व, उत्तर, दक्षिण क्षेत्रमा थारु र पश्चिम क्षेत्रमा बसोबास गर्ने मुस्लिम समुदायमा शिक्षाको विकास हुनुका साथै बजार विस्तारबाट आर्थिक चलायमान समेत भएको छ।

विश्वविद्यालयले अहिले सिभिलमा २४ र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक इन्जिनियरमा १० गरी ३४ विद्यार्थीहरुलाई अध्यापन गराइरहेको रजिष्टार डा दिपनाथ फुयाँलले जानकारी दिनु भयो ।

नेपाल ईन्जिनियर काउन्सिलबाट ४८÷४८ सिटको कोटा प्राप्त भए पनि पहिलो वर्ष भएकाले २४ र १० सिटमा भर्ना गरिएको उहाँले बताउनु भयो ।

विश्वविद्यालयले यही वर्ष १२ कक्षाको परीक्षाफल प्रकाशित भएको एकहप्ता पछि दोश्रो समूहको लागि प्रवेश परीक्षा लिएर भर्ना लिने बताउनु भयो ।

विश्व विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ अन्तर्गत सञ्चालित सिभिल तथा इलोक्ट्रोनिकमा अध्ययनका लागि क्रमशः रु पाँच लाख ८० हजार र रु. पाँच लाख ७० हजार शुल्क तोकिएको छ।

तीन वर्ष पहिले मात्र स्थापना भएको विश्वविद्यालय आगामी १० वर्षभित्र स्नातक, स्नातकोत्तर र विद्यावारधी(पिएचडी) गरी २८ वटा विभित्रविषयहरु सञ्चालन गर्ने रणनीति बनाएको छ ।

जस अन्र्तगतहाल स्कुलअफइन्जिनियरिङ्ग, स्कुलअफएप्लाईड साइन्स एण्ड टेक्नोलोजी र स्कूलअफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज सङ्काय स्थापना भइसकेका छन ।

यो विश्वद्यिालयले तीन वटा स्कूलहरु अन्तर्गत १०वर्षमा सबै कार्यक्रमहरु सञ्चालन गराएर हरेक वर्ष कूल दुई हजार ८३१ जनाविद्यार्थी दिक्षित बनाउन लक्ष्य राखेको डा दिलनाथ फुँयालले जानकारी गराउनु भयो ।

विद्यार्थी भर्नाका लागि नेपाल सरकारले तोकेको आरक्षण विश्वविद्यालयलमा समेत लागु हुने उहाँले बताउनु भयो । नेपालको पहिलो प्राविधिक विश्वविद्यालयको रुपमा रहेको तथा यहाँ विद्यार्थीहरुलाई प्रयोगात्मक अध्ययनका ५० प्रतिशत गराउनाले दक्षजनशक्ति उत्पादनमा सहयोग पुग्ने डिन डा प्रचण्डमान प्रधानले बताउनु भयो ।

प्रविधिको प्रयोग र प्रयोगशालाको लागि नयाँ सामाग्रीको उपलव्धताले विद्यार्थीहरु उत्तीर्ण हुनासाथ रोजगारी उपलव्ध हुने उहाँले बताउनु भयो ।इन्जिनिरिङ विद्यार्थीहरुलाई हाइड्रो पावर, तयारी सामाग्रीको गुणस्तर जाँच,स्ट्रेन्थ हाइवे,फ्रुट मेकानिक, आर.सि.सी ह्यावी लगायतको प्रयोगशालाको प्रयोगवाट दक्षता प्रदान गर्न सहयोग पुग्ने डिन डा प्रधानको भनाई छ ।

प्रदेश नं १ लगायत सुनसरी मोरङ औद्योगिक क्षेत्रमा आवश्यक पर्ने दक्षजनशक्ति अनुरुपको शिक्षा विश्वविद्यालयले प्रदान गर्ने उहाँले बताउनु भयो । डा प्रधानले दक्ष विद्यार्थी उत्पादनका लागि आवश्यक पर्ने उत्कृष्ट प्रयोगशाला, शिक्षक, पुस्तकालय अध्ययन मैत्री भवनमा करिब रु. पाँच करोड मूल्यबराबरको प्रयोगशालामा रहेको जानकारी दिनुभयो ।

काठमाण्डौंको पुल्चोक इन्जियनिरिङ स्तरको प्रयोगशाला विश्वविद्यालयमा रहेकाले विद्यार्थीहरुले प्रयोगशालाबाट आफ्ना अविष्कार पनि गर्न मद्दत पुग्ने विश्वास लिएको छ । अहिले पनि विद्यार्थीहरुले समूह बनाएर ती प्रयोगशालाको माध्यमबाट नयाँ नयाँ अविष्कार गर्ने गरेकाले विद्यार्थीहरुमा थप ज्ञान आर्जन गराउन विश्वविद्यालय आधार बनेको छ ।

विद्यार्थीहरुलाई प्रमाणपत्रसँगै सीप पनि प्रदान हुनाले मुलुकको विकासमा सहयोग पुग्नुका साथै रोजगारी उपलव्ध हुने डीन डा प्रधानको भनाई छ ।

उहाँले खोप इन्जिनियर कलेज भक्तपुर, काठमाडौ विश्वविद्यालयमा सिभिल इन्जिनयिरिङको सुरुवात गर्नुका साथै अहिलेसम्म दुई हजार ३०० स्वदेशी विद्यार्थीहरुलाई अध्यापन गराइसक्नु भएको छ।

विश्वविद्यालयमा रहेको २७ वटा भवनमध्ये २२ वटा भारत सरकारले निर्माण गरेको विश्वविद्यालय संरक्षण समितिका सदस्य सत्यनारायण चौधरीले बताउनु भयो ।

उहाँले दक्षजनशक्ति तयार गर्ने विश्वमा चलनचल्तीका नयाँ प्राविधिक विषयहरुलाई विश्वविद्यालयले क्रमशः स्नातकोत्तर तहको आर्किटेक्चर,फार्मेसी, पव्लिक हल्थ,हेल्क पटेक्नोलोजिक एग्रिकल्चर इन्जिनिरिङ,पारामेडिकल र एमविविएसको कक्षा सञ्चालन गर्ने जानकारी दिनु भयो ।

सिभिल इन्जिनिरिङ विभागका प्रमुख नरेन्द्रकमार डाँगीले विद्यार्थीहरुलाई प्रयोगात्मकतर्फ दक्ष बनाउनका लागि मुलुकको विकासमा महत्वपूण रहेको जलविद्युततर्फको हाइड्रोपावरतर्फ प्रयोगशाला सामाग्रीको समेत व्यवस्था गरिएको बताउनु भयो ।

यस्तै, इलेक्ट्रोनिक एण्ड इलेक्टिक इन्जिनियर विभागका प्रमुख डा. दिपरत्न डङ्गोलले विद्यार्थीहरुलाई अध्ययनका लागि तेश्रो वर्षसम्मको लागि प्रयोगात्मक कक्षाका लागि प्रयोगशालाको व्यवस्था गरिएको बताउनु भयो । विश्वविद्यालयमा रहेको कम्प्युटर प्रयोगशाला अन्य विद्यालयभन्दा उत्कृष्ट रहनुले यसबाट विद्यार्थीहरुले नवीनतम प्रविधिको ज्ञान प्राप्त गर्ने डा डङ्गोलले धारणा राख्नु भयो ।

विश्वविद्यालय अन्तर्गत आङ्गिक शिक्षालयको रुपमा रहेको मनमोहन स्मृति पोलिटेक्किले प्रविधिक शिक्षा शैक्षिक कार्यक्रम अन्तर्गत विभिन्न विषयमा अध्ययन गरी उत्तीर्ण भएका एक हजार ४७ जनाले नेपाल तथा भारतको विभिन्न औद्योगिक क्षेत्रमा रोजगारी प्राप्त गरेका छन्।

पोलिटेक्निकमा तीन वर्षे डिप्लोमा अन्तर्गत मेकानिकल, इलेक्ट्रकल, इलेक्ट्रोनिक्स, सिभल, आर्किटेक्टचर र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स गरी एक हजार ९०० विद्यार्थी अध्ययन गरेका मध्ये एक हजार ७७४ जना जनशक्तिको रुपमा तयार भएका छन् भने ५८८ जना अध्ययन गरिरहेका छन् ।

पोलिटेक्निकमा ३० जिल्लाका विद्यार्थी अध्ययनमा रहनुका साथै आदिवासी जनजनजाति, मधेशी, मुस्लिम, दलित, अपसङख्यक जातिका विद्यार्थीहरुको सहभागिता रहेका छन् ।

यसैगरी, मुलुकको आवश्यक्ताका लागि आवश्यक प्राविधिक जनशक्तिको रुपमा छोटो अवधिको विभिन्न १७ विषयमा ३९० घण्टाको दुई हजार ८६९ जना, इलेक्ट्रिकल, प्लम्बर, मोटरसाइकल मेकानिक, लाइट भेइकल मेकानिकमा एक हजार ६९६ घण्टाको तालिम १०० जना, दैनिक जीवनमा सदैव आवश्यक पर्ने प्राविधिक विषयमा अन्तर्गत विल्डङ्ग इलेक्ट्रिसियन, एसी तथा फ्रिज मेकानिक, मोटरसाइकल, इण्डट्रियल इलेक्ट्रिसियन र प्लम्वर विषयमा ९५ घण्टाको तालीम १८० जना, पशु स्वास्य सम्बन्धी ९० घण्टाको ग्रामीण पशु स्वास्थ्य सेवा कार्यकर्ता तालीम ३६ जनालाई तालिम दिइसकिएको छ ।

पोलिटेक्निकले आर्थिक विपत्रता भएका वर्गलाई लक्षित गरी दुई हप्ते अवधिको तरकारी खेती, च्याउ खेती, माछा पालन, बङ्गुरपालन, बाँसका विभित्र सामाग्री बनाउने, अचार बनाउने, हाते ब्याग लगायतका जीवन निर्वाहका लागि दुई हजार ६६४ जनालाई तालिम प्रदान गरेको छ । पोलिटेक्निकले प्रदेश १४ जिल्लाका मागका आधारमा तालीम सञ्चालन गर्नुका साथै यस क्षेत्रका उद्योग व्यवसायीहरुसँग समन्वय कार्य गर्दै आइरहेको छ।

पोलिटेक्निकले ‘ आफै कमाउ, आफै पढ र कम्तीमा एक अभिभावक, एक विद्यार्थी पढाऊ ’ अभियान सञ्चालन गर्दै आएको छ जसबाट उल्लेखनीय सफलता प्राप्त भएको छ।

-मनोज दाहाल

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया