अमेरिकाको बाल्टिमोर र न्यूयोर्कमा ‘को–हजबेण्ड’

इनेप्लिज २०७९ भदौ ४ गते १:१४ मा प्रकाशित

अमेरिका, ३ भदौ । नेपालको बहुपति प्रथाका बारेमा निर्मित चर्चित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड)को अमेरिकामा पनि विशेष प्रदर्शनी हुने भएको छ ।

अमेरिकाको बाल्टिमोर र न्यूयोर्कमा पहिलोपटक ‘सहायक श्रीमान’ (को–हजबेन्ड) प्रदर्शन हुन लागेको हो । बाल्टिमोरमा लमजुङ–अमेरिका सेवा समाजको आयोजना तथा बाना र एनआरएन बाल्टिमोरको सहयोगमा अगष्ट २१ तारिख आइतबार १ बजे बानाको हलमा प्रदर्शन हुँदैछ ।

यसैगरी, न्यूयोर्कमा अगष्ट २४ तारिख बुधबार साँझ ७ बजे ठमेल एनवाइसीको आयोजनामा ‘सहायक श्रीमान’ (को–हजबेन्ड)को प्रदर्शन हुँदैछ । अमेरिकाको एटलान्टमा अगष्ट ४ देखि ७ सम्म आयोजित आठौं कब इन्टरनेशनल फिल्म फेस्टिवलमा ‘को–हजबेण्ड’ले उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड जितेको थियो ।


‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले पनि अहिलेसम्म सात वटा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ । काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिबलबाट यात्रा आरम्भ गरेको ‘को–हजबेण्ड’ले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको थियो । यसैगरी, नेपालमै आयोजित नेपाल–अफ्रिका चलचित्र महोत्सव, भारतको सिम्ला अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट डकुमेन्ट्री अवार्ड र रसियामा आयोजित अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा सर्वोत्कृष्ट पुरस्कार ‘ग्राण्ड प्रिक्स अवार्ड’ जितेको थियो । विश्वका एक दर्जन बढी चलचित्र महोत्सवमा छनौट भइसकेको ‘को–हजबेण्ड’ले स्लोभाकियाको पोपरोडमा आयोजित प्रतिष्ठित २९औं इन्टरनेशनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस् पोपराडमा अनरेवल मेन्सन अवार्ड जितेको थियो ।

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हुम्ला लगायतका हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक गणेश पाण्डेले पहिलोपटक पर्दामा उतार्नुभएको हो । निर्देशक पाण्डेले करिब ४ बर्षको छायांकन र रिसर्चबाट सहायक श्रीमान निर्माण गर्नुभएको हो । यसअघि पनि निर्देशक पाण्डेको बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)ले पनि डेढ दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो ।

 

प्रतिक्रिया