‘बावुआमालाई वृद्धाश्रममा छोड्ने सन्तानलाई सामाजिक वहिष्कार गर्नुपर्छ’

इनेप्लिज २०७९ भदौ ३ गते २१:३५ मा प्रकाशित

मोरङ,३ भदौ (रासस): जेष्ठ नागरिक वडा कार्य समिति द्वारा विराटनगर महानगरपालिका –११ मा निर्माण गरिएको जेष्ठ नागरिक सामुदायिक भवनको शुक्रवार आयोजित उदघाटन समारोहमा                                                                       सहभागी महानगरका प्रमुख नागेश कोइराला लगायतहरु । तस्बिर : मनोज दाहाल ÷रासस

विराटनगर,३ भदौ । जेष्ठ नागरिकहरुको बाँकी जिवन सहज विताउनका लागि विराटनगर–११ मा जेष्ठ नागरिक सामुदायिक भवनको निर्माण गरिएको छ।

विराटनगर महानगरपालिकाको रु ४० लाख, प्रदेश नं १ सरकारको रु पाँच लाख र चिरिन्जिवि दाहालबाट आठ धुर जग्गा निःशुल्क प्रदान एवं स्वदेश तथा विदेशका विभिन्न दाताहरुबाट प्राप्त रु ९० लाख सहयोग प्राप्त भएको छ।

सामुदायिक भवनको लागि १६ धुरजग्गा रु ६३ लाखमा खरीद गरी रु ७० लाखमा दुई हजार आठ सय स्क्वायर फिटमा सभा हल सहित भवन निर्माण गरिएको छ।

सामुदायिक भवनमा जेष्ठ नागरिकहरुलाई विज्ञहरुद्वारा मनोरन्जन, विभिन्न विषयमा ज्ञान प्रदान,भवनकीर्तन, आधुनिक प्रविधिको विषयमा जानकारी दिनुका साथै विहान योग कक्षा सञ्चालन गरिने छ ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले भवनको आज उद्घाटन गर्दै जेष्ठ नागरिक जिउँदो इतिहास र राष्ट्रका गहना भएकाले उनीहरुबाट प्राप्त अनुभव समाज र राष्ट्रको विकास लगाउनु पर्नेमा जोड दिनु भयो ।

उहाँले अहिलेको आधुनिक जीवनशैलीमा जेष्ठ नागरिकहरुको बाँकी जीवय सहज विताउन भवन सहयोगी हुने विश्वास व्यक्त्त गर्नु भयो ।

मोरङ,३ भदौ (रासस): जेष्ठ नागरिक वडा कार्य समिति द्वारा विराटनगर महानगरपालिका –११ मा निर्माण गरिएको जेष्ठ नागरिक सामुदायिक भवनको शुक्रवार शिलालेख अनावरण गर्दै महानगरका प्रमुख नागेश कोइराला लगायत । तस्बिर : मनोज दाहाल ÷रासस

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले उमेर ठूलो होइन इच्छाशक्ति र चाहना भएमा सिर्जनशिल कार्य गर्न सकिने उदाहरण निर्माण भएको भवन रहेको छ भन्दै यसको उच्चतम सदुपयोग गर्नुपर्ने बताउनु भयो ।

उपप्रमुख शिल्पा निराला कार्कीलेले परिवारलाई जोड्न भवन सहयोगी हुने छ भन्द यसलाई हामीसबैले व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने आवश्यक्त्ता औल्याउनु भयो ।

जेष्ठ नागरिक वडा कार्य समितिका अध्यक्ष ललित श्रेष्ठ, विराटनगर ११ का वडाअध्यक्ष तीर्थेन्द्र न्यौपाने,महानगरपालिका कार्यकारी अधिकृत उमेश वस्नेत, उद्यमी दिनबन्धु गोयल, जगत अर्याल,भवन निर्माण समितिका शोभा कोइराला,मणिकुमार अर्याल र अर्जुनकुमार भट्टराईले आमावावुलाई वृद्धआश्रममा छोड्ने सन्तानलाई सामाजिक रुपमा वहिष्कार गर्नुपर्ने बताउनु भयो ।

सोही अवसरमा रु एक लाख भन्दा वढी सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।

भवन निर्माण र जग्गा खरीदका लागि तीन सय दाताहरुले रु तीन लाख १११ देखि ३५८ सम्म सहयोग गर्नु भएको थियो ।

प्रतिक्रिया