मोरङमा २७ हजार नयाँ मतदाता थप

मनोज दाहाल २०७९ साउन ३१ गते २२:३३ मा प्रकाशित

विराटनगर,३१ साउन । मोरङ जिल्लामा गएको असार १ गतेदेखि साउन २१ गतेसम्म फोटो सहितको मतदाता नामावलीमा २७ हजार २२५ जनाले नाम दर्ता गराएका छन् ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार यसरी नाम दर्ता गराउनेहरुमा पुरुष १३ हजार ८३९, महिला १३ हजार ३८६ रहेका छन् ।

गत वैशाख ३० गतेसम्पन्न जिल्लाको पालिकाको निर्वाचनमा पुरुष तीन लाख ६३ हजार ४४८, महिला तीन लाख ५१ हजार ७६९ र छ अन्य गरी सात लाख १५ हजार २२३ मतदाता रहेका थिए ।

कार्यालयका प्रमुख लवनकस्यप अधिकारीले मोरङमा पाँच मतदान स्थल थप र सात मतदान स्थल सार्नका लागि केन्द्रमा पत्राचार गरिएको जानकारी दिनु भयो ।

गएको वैशाख ३० गते सम्पन्न जिल्लाको १७ पालिकामा सम्पन्न निर्वाचनमा ३०० मतदान स्थलमा ८२० केन्द रहेको थियो ।

यस्तै वैशाख ३० गते सम्पन्न स्थानीय पालिकाका निर्वाचनमा उम्मेदवार भएकामध्ये मोरङ जिल्लामा ४६२ जनाले निर्वाचन खर्च विवरण वुझाएका छन् ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार जिल्लामा रहेको १७ स्थानीय पालिकाका उम्मेदवार भएका चार हजार ३४६ मध्ये ११ प्रतिशतले मात्र निर्वाचन खर्च विवरण वुझाएको जनाएको छ।

निर्वाचन आयोग ऐन २०७३ को दफा २५ अनुसार राजनीतिक दल वा उम्मेदवारले निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले तीस दिनभित्र आयोगले तोकेको ढाँचामा खर्चको विल भरपाई सहित आयोगले तोकेको कार्यालयमा निर्वाचन खर्चको विवरण पेश गर्नु पर्नेछ व्यवस्था रहेको छ । मोरङमा रतुवामाई नगरपालिका र धनपालथान गाउँपालिकामा उम्मेदवारी दिएका कुनैपनि उम्मेदवारले खर्च विवरण पेश नगरेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवनशक्यप अधिकारीले बताउनु भयो ।

निर्वाचन खर्च विवरण पेश गर्नका लागि पत्राचार गरिसकिएको र अहिलेपनि छिटपुट रुपमा बुझाउने क्रम जारी रहेको उहाँले जानकारी दिनु भयो ।

निर्वाचन खर्च छ महिनासम्म नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागू हुनेगरी बढीमा छ बर्षसम्म कुनैपनि निर्वाचनमा भाग लिन रोक लगाउन वा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्ने व्यवस्था रहेको प्रमुख अधिकारीले बताउनु भयो ।

यस्तै गत वैशाख ३० गते सम्पन्न स्थानीय पालिका निर्वाचनमा उम्मेदवार भएका मध्ये दुई हजार २७ जनाको जमानत जफत भएको छ ।

उक्त निर्वाचनमा उम्मेदवार भएका ४७ प्रतिशतले खसेको सदर मतको १० प्रतिशत पनि ल्याउन नसकेको कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिनु भयो ।

जमानत जफत हुने उम्मेदवारहरुमा उर्लाबारी नगरपालिकाका १२६, कटहरी गाउँपालिकाका ९४, कानेपोखरी गाउँपालिकाका ९८, केराबारी गाउँपालिकाका ५९,ग्रामथान गाउँपालिकाका ७८, जहदा गाउँपाकिलकाका १०१, धनपालथान गाउँपालिकाका ४२, पथरीशनिश्चरे नगरपालिकाका १२४, बुढीगंगा गाउँपालिकाका ९७, बेलबारी नगरपालिकाका १३८, मिक्लाजुङ गाउँपालिकाका ८४, रंगेली नगरपालिकाका १४८, रतुवामाई नगरपालिकाका १०३, लेटाङ नगरपालिकाका ४६, विराटनगर महानगरपालिकाका ३९२, सुनबर्षीका नगरपालिकाका १३३ र सुन्दरहरैचा नगरपालिकाका १६४ जना रहेको कार्यालयले जनाएको छ।

पालिका निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकिकृत समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)र स्वतन्त्रले उम्मेदवारी दिएका थिए।

मनोज दाहाल

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया