पीडीतको माग सम्बोधन गरी संक्रमणकालीन न्याय प्रकृया निष्कर्शमा पुर्याउने कानुनमन्त्रीको प्रतिवद्धता

इनेप्लिज २०७९ साउन ३१ गते ९:५२ मा प्रकाशित

३० साउन, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद कोइराला (बन्दी) ले पीडितको माग सम्वोधन गरी संक्रमणकालीन न्याय प्रकृया तार्किक निष्कर्शमा पुर्याउने प्रतिवद्धता जनाउनुभएको छ । तत्कालिन सेना, प्रहरी र माओवादीबाट पीडीत भएका समुदायसँग मन्त्रालयमा आज सामुहिक छलफल गरी मन्त्री बन्दीले संक्रमणकालीन न्याय प्रकृयालाई अवरुद्ध हुन नदिने बताउनुभयो । पीडीत समुदायको सरोकारलाई संसदीय प्रकृया अन्तर्गत सुधार गरि संक्रमणकालीन न्याय प्रकृयालाई निष्कर्शमा पुर्याउन राजनीतिक तहमा छलफल भइरहेको बन्दीले बताउनुभयो ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा आवश्यक संशोधन गरी अघि बढ्न सकिने उहाँको भनाइ छ । लामो समयदेखि अवरुद्ध शान्ति प्रकृयालाई टुङ्ग्याउन सरकारको नीति तथा कार्यक्रम र बजेट बक्तव्यमा समेत यस सम्बन्धी व्यवस्था गरिएको र सर्वोच्च अदालतको आदेश अनुसार ऐन संशोधन प्रकृया अगाडि बढाइएको उहाँले बताउनुभयो ।

विधेयकमा आफुहरुले प्रस्तुत गरेको सुझावलाई समावेश गर्न पीडीत समुदायले माग गरेका थिए । परिपुरणलाई पीडितको अधिकारको रुपमा सुनिश्चित गर्ने, पीडितको स्वतन्त्र सहमति बिना मेलमिलाप नगराउने र क्षमादान नदिने, आयोगहरुलाई द्वन्द्वका कारण तथा मानव अधिकार उल्लंघनका कारण पत्ता लगाई भविष्यमा त्यस्ता कुरा दोहोरिन नदिन सिफारिस गर्ने कार्यदेश दिने, आयोगले गरेको सिफारिसका आधारमा महान्यायाधिवक्ताले मुद्दा चलाउने, गम्भीर अपराधमा क्षमादान नदिने, बेपत्ता पारिएका व्यक्तिहरुको नाउँमा रहेको सम्पत्ति परिवारको नाममा हस्तान्तरण हुने, मानव अधिकार उल्लंघनमा संलग्न सार्वजनिक अधिकारीहरु उपर परीक्षण हुने लगायतका व्यवस्था पीडितको पक्षमा रहेको उनिहरुको भनाइ थियो ।

उनिहरुले विशेष अदालतबाट भएको फैसला चित्त नबुझेको खण्डमा सर्वोच्च अदालतमा पुनरावेदन दिन सक्ने व्यवस्था विधेयकमा राख्नु पर्ने, हत्या र यातनालाई मानव अधिकारको गम्भीर उल्लङ्घनको परिभाषामा समावेश गर्नु पर्ने, मानवअधिकारको गम्भीर उल्लंघनका घटनामा अभियोजन गर्न हदम्याद वा कानुनको पश्चातदर्शी प्रयोग विरुद्धको सिद्धान्त लागु नहुने व्यवस्था विधेयकमा राख्नु पर्ने र आयोगमा सक्षम पदाधिकारीको नियुक्ति गर्ने र नियुक्ति प्रकृयालाई पारदर्शी बनाउनुपर्ने बताएका थिए ।

सरकारको सक्रियताले लामो समयदेखि अवरुद्ध संक्रमणकालीन न्याय प्रकृया तार्किक निष्कर्षमा पुग्ने आशा जागेको उनिहरुको भनाइ छ । मन्त्री बन्दीले पीडित र नागरिक समाजको तर्फबाट उठाइएका सवालहरु सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

प्रतिक्रिया