बाल्टिमोरमा नेपाली पार्कोर खेलाडी दिनेश सुनारको १२ औं विश्व रेकर्डको प्रयत्न सफल

इनेप्लिज २०७९ साउन २९ गते २०:३३ मा प्रकाशित

मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा नेपाली पार्कोर खेलाडी दिनेश सुनारको १२ औं विश्व रेकर्ड(किर्तिमान)को प्रयत्न सफल भएको छ । सुनारले गरेको प्रयत्नले नेपाल र नेपाली नाम उच्च राख्ने विश्वास गरिएको छ ।

प्रयत्न सफल भएको छ भने आधिकारिक बिश्व किर्तिमानको लागि केही समय प्रतिक्षा गर्नु पर्ने छ ।

अमेरिकाको वाशिङ्गटन डि.सि. स्थित नेपाली दुतावासले ७५ औं वर्ष पुगेको नेपाल र अमेरिका बीचको कुटनैतिक सम्बन्धको उत्सव मनाउने विभिन्न क्रमहरु मध्ये नेपाली पार्कोर खेलाडी दिनेश सुनारको १२औं गिनिज बुक वर्ल्ड रेकर्डको प्रयत्नलाई समर्थन गरेको छ ।

बाल्टिमोरमा सम्पन्न विश्व रेकर्डको प्रयत्नलाई त्यहाँका विभिन्न संघ-संस्थाको पूर्ण समर्थन र सहयोगमा आयोजना सम्पन्न गरिएको छ ।

अमेरिकाको बाल्टेमोर काउण्टी स्थित ‘एभरेष्ट वर्ल्ड क्लास ताइक्वान-डो एवं फ्यामिलि मार्शल आर्ट’को परिसरमा पहिलो नेपाली पार्कोर खेलाडी दिनेश सुनारले १२ औ विश्व गिनिज बुक वर्ल्ड रेकर्डका लागि गरेको प्रयत्न सफल भएको छ।

द मोस्ट बटरफ्लाई किक फुल ट्वीसटेड इन वान मिनेट (पार्कोर )विधामा गरिएको प्रयत्न पार्कोर खेलको फ्रि स्टाइल अन्तर्गत पर्दछ।

उक्त प्रयत्नमा दिनेश सुनारले उपस्थित निर्णायकहरुका अनुसार एक मिनटमा २३ पटक फ्लिप गरेका थिए, जुन हालको रेकर्ड १५ भन्दा आठ पटकले बढी छ।

यस अर्थमा नेपाली पार्कोर खेलाडीले राखेको यो प्रयत्न पूर्ण सफल भएको र आधिकारिकता लागि छिट्टै गिनिज बुक वर्ल्ड रेकर्डको केन्द्रिय कार्यलयमा पठाउने तयारी समेत भएको जानकारी पार्कर दिनेश सुनार एवं उनको टीमले गराएको छ।

हेर्दा अति सहज र रोमान्चकारी देखिए तापनि हावामा उडिरहेको बेलामा शरिरलाई ३६० डिग्रीमा घुमाई फेरि पाउमा पूर्ण खडा हुन एकदम कुशलतापूर्वक गर्नु नसके शरिरलाई नै हानी हुनसक्ने भएकाले यो खेल अति कठिन खेल मध्ये एक हो भनि निर्णायक मण्डल बताउँदछ ।

यसरी नेपाली पार्कोर खेलाडी दिनेश सुनारले नयाँ विश्व रेकर्ड कायम हुनेगरी सम्पन्न गरेकोमा सम्पूर्ण निर्णायक मण्डलले सराहना गरेका छन् ।

एभरेष्ट ताइक्वान्दो स्कुलका प्रशिक्षकहरु मास्टर  कुमार कार्की र कल्पना कार्कीको अगुवाई र मार्शल आर्ट सम्बन्धि नै नेपाल तथा फिलिपिन्सका  प्रशिक्षकहरु मास्टर राजु नगरकोटी, कृष्ण बलाल, राजु क्षेत्री, मेल्विन मोर्ते, उज्वल सिंह ठकुरी तथा नकुल शर्मा सहायक निर्णायक मण्डलमा रहेका थिए । उक्त निर्णायक मण्डलको प्रमुखता माष्टर राजु नगरकोटी र समय निर्णायकमा माष्टर उज्वल सिंह ठकुरी रहेका थिए ।

यसरी नै ईनेप्लिज तथा नेपालिज डायस्पोराद्वारा प्रत्यक्ष प्रसारण सहित भिडियो रेकर्ड गरिएको थियो भने थप भिडियो तथा क्यामेरामा राजु रामदाम, अनिल रामदाम र सुरज विश्वकर्मा पौडेलले सहयोग गरेका छन् ।

नासो अमेरिकाका महासचिव राजन सुनारले स्वागत गर्दै अघि बढेको उक्त कार्यक्रममा बाल्टीमोर काउण्टी डिस्टृक्ट ७ए बाट निर्वाचित डेमोक्रेटिक पार्टीका केन्द्रिय सद्स्य, पाल्पाली संगमका अन्तर्राष्ट्रिय अध्यक्ष तथा नेपालिज डायसपोराका प्रधान सम्पादक सतिश चापागाईंले यस्ता एतिहासिक कृयाकलापले नेपाल र नेपालीलाई विश्वमा चिनाउने मात्र नभै आगामी पुस्तालाई समेत अभिप्रेरित गर्ने भन्दै सुनारको प्रयत्नको पूर्ण सफलताको शुभकामना सहित साक्षात्कारता समेत गरेका थिए ।

त्यस्तै, नासो अमेरिकाका अध्यक्ष राजेन्द्र सुनार सेन्चुरी, एभरेष्ट वर्ल्ड क्लास ताइक्वान्दोका संचालक एवं प्रशिक्षक माष्टर कुमार कार्की, पि डि आर सी इन्टरनेशनलका अन्तर्राष्ट्रिय संयोजक भीम बि.क , साथी बाल्टीमोरका अध्यक्ष रमेश भट्ट ‘नेपाली छोरो’, गोरखा समाज मेरिल्याण्डका अध्यक्ष अपार श्रेष्ठ, गिरिजा प्रसाद कोइराला फाउन्डेसनका संस्थापक सदस्य सुर्य सिम्खडा, युवा नेता एवं व्यवसायी राजु रामदामले शुभकामना मनतव्य राखेका थिए ।

त्यस्तै एन आर एन अमेरिका मेरिल्याण्ड च्याप्टर, अमेरिकन पार्कोर एपिके, र लम्जुङ्ग अमेरिका सेवा समाजहरुले पूर्ण सफलताको कामना सन्देश पठाएका थिए । त्यसरी नै मिडिया पार्टनरहरु ईनेप्लिजका प्रधान सम्पादक विश्व राज थापा, नेपालीज डायस्पोराका प्रमुख सतिश चापागाईंले सफलताको शुभकामना दिएका थिए भने ग्लोब नेपाल , सूर्योदय न्यूज र खासोखासले शुभकामना सन्देश पठाएका थिए ।

ईनेप्लिज र नेपालिज डायस्पोराद्वारा प्रत्यक्ष प्रसारण भएको उक्त कार्यक्रममा प्रमुख निर्णायक माष्टर राजु नगरकोटी र उहाँको समुहले सफलताको प्रमाणिकरणका लागि आवश्यक प्रमाणित कागाजात पार्कोर खेलाडी दिनेश सुनारलाई हस्तान्तरण गरिएको थियो भने प्रत्यक्ष-अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पूर्ण व्यक्तित्वहरुलाई नासोका अध्यक्ष राजेन्द्र सुनार सेन्चुरीले आभार प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रिया