विराटनगरमा युरिया मलको विक्री वितरण शुरु

इनेप्लिज २०७९ साउन २९ गते १३:३५ मा प्रकाशित

 

मोरङ,२९ साउन (रासस): कृषि सामाग्री कम्पनी प्रदेश नं १ कार्यालय विराटनगरमा आइतवार आएको युरिया मल ट्रकबाट झार्दै मजदुरहरु । कम्पनीले आजदेखि सहकारीमार्फत मल बिक्री वितरण कार्य शुरु गरेको छ। तस्बिर : मनोज दाहाल ÷रासस

मनोज दाहाल

विराटनगर,२८ साउन । धानबालीको उत्पादन वृद्धिका लागि आवश्यक पर्ने युरिया रसायनिक मल कृषि सामाग्री कम्पनी प्रदेश कार्यालय विराटनगरले आजदेखि वितरण कार्य शुरु गरेको छ।

कार्यालयका प्रमुख नरेश कुमार सापकोटाले अहिले कम्पनीमा सात हजार ५०० मेट्रिक टन युरिया आउने क्रम जारी रहेपनि उपलव्धताको आधारमा आजदेखि सहकारीमार्फत वितरण कार्य शुरु गरेको बताउनु भयो । कम्पनीले युरिया वितरण गर्ने सम्वन्धमा सहकारीलाई एक महिनादेखि पत्र पठाएको उहाँले बताउनु भयो ।

कम्पनीले यसअघि पोटास तथा डिएपी मल बिक्री वितरण गरिएको थियो ।

कम्पनीले विहान १० बजेदेखि साँझ ५बजेसम्म मल विक्री वितरण गर्ने गरेको छ।

मोरङ,२९ साउन (रासस): कृषि सामाग्री कम्पनी प्रदेश कार्यालय विराटनगरमा आइतवारदेखि सहकारीमार्फत मल बिक्री वितरण कार्यमा संलग्न कर्मचारीहरु । तस्बिर : मनोज दाहाल ÷रासस

कम्पनीले प्रदेशका १४ जिल्लामा स्थानीय तहको सिफारिशका आधारमा सहकारी मार्फत किसानलाई मल विक्री वितरण गर्ने गरेको हो ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको कम्पनीले विराटनगर सहित शाखा कार्यालयहरु गाईघाट, धनकुटा, इटहरी, विर्तामोड र इलाम मार्फत मल वितरण गरेको सूचना अधिकारी होमप्रसाद पराजुलीले बताउनु भयो ।

विस २०७८ माघदेखि युरिया मल मौज्दातमा अभावको कारण वितरण गर्न सकेको थिएन भने अहिले युरिया मल प्राप्त भएकोले वितरण शुरु गरेको प्रमुख सापकोटाले जानकारी दिनु भयो ।

प्रदेशमा कृषकहरुलाई बार्षिक रुपमा धानका लागि युरिया ४० हजार मेट्रिक टन, डिएपी ३० हजार मे.टन र पोटास सात हजार मे टन आवश्यक रहेको उहाँले बताउनु भयो ।

कम्पनीले ५० केजीको युरिया रु ७५०, डिएपी ५० केजीको रु दुई हजार २०० र पोटास ५० केजीको रु एक हजार ६०० मा बिक्री वितरण गरिरहेको छ।

संस्थानकाले आफ्नो मल विक्री वितरणको सम्पूर्ण हिसाव दुरुस्त राख्नुका साथै अनलाईनमार्फत मन्त्रालयलाई जानकारी दिने गरेको छ।

मोरङ,२९ साउन (रासस): कृषि सामाग्री कम्पनी प्रदेश नं १ कार्यालय विराटनगरमा आइतवार आएको युरिया मल गोदाममा राख्न लग्दै मजदुरहरु । कम्पनीले आजदेखि सहकारीमार्फत मल बिक्री वितरण कार्य शुरु गरेको छ। तस्बिर : मनोज दाहाल ÷रासस

धानको विरुवालाई फस्टाउन नाइट्रोजन, फोस्फोरस र पोटास चाहिन्छ । युरिया मलले नाइट्रोजन आपूर्ति गर्छ भने डीएपीले नाइट्रोजन तथा फोस्फोरस । धानबालीलाई समयमा मलखाद दिन नसके उत्पादन एक तिहाईले घट्छ । एक किलो रसायनिक मल हाल्दा १० किलो उत्पादन बढ्ने अनुमान गरिन्छ ।

बाली–बिरुवाका लागि १६ प्रकारका पोषक तत्व आवश्यक पर्दछन्, जसमध्ये धेरै अभाव भइरहने र बिरुवालाई बढी मात्रामा आवश्यक पर्ने तत्व नाइट्रोजन हो । नाइट्रोजनको सस्तो र भरपर्दाे स्रोत युरिया मल हो । युरिया मलमा ४६ प्रतिशत नाइट्रोजन हुन्छ । बिरुवाको वानस्पतिक विकासको लागि नाइट्रोजन अपरिहार्य रहेको छ।

गङ्ग्रोती सहकारी संस्था रतुमाई –३ का मोरङका लक्ष्मीप्रसाद सिंहले कम्पनीको पत्रको आधारमा विगत तीनदिनदेखि मल लिनको लागि कम्पनी आइरहेको बताउँदै तर कम्पनीमा अध्याधिक भीडभाडले संस्था नविकरण गर्न समस्या भएको बताउनु भयो ।

उहाँले कार्यालयले ५० केजीको ८० देखि १०० बोरा प्राप्त हुने तर सहकारीमा पाँच हजार कृषक आवद्ध भएकोले खुल्ला विक्री गर्ने जानकारी दिनु भयो।

बाली विकास कृषि सहकारी संस्था लेटाङ मोरङका मानवबहादुर मगरले धान उत्पादन वृद्धिको लागि युरिया आवश्यक भएकोले विगत दुई दिनदेखि मलको लागि आइरहेको आजदेखि वितरण गरेको हुनाले प्राप्त हुने आशा व्यक्त्त गर्नु भयो । उहाँले कृषकलाई धानबालीका लागि प्रतिविगाहा दुई वोरा युरिया आवश्यक रहन्छ भन्नु भयो ।

मोरङ,२९ साउन (रासस): कृषि सामाग्री कम्पनी प्रदेश नं १ कार्यालय विराटनगरमा आइतवार आएको युरिया मल गोदाममा राख्दै मजदुरहरु । कम्पनीले आजदेखि सहकारीमार्फत मल बिक्री वितरण कार्य शुरु गरेको छ। तस्बिर : मनोज दाहाल ÷रासस

मल लिन आउने सहकारी संस्थाले पालिकाको सिफारिश पत्र, मल माग सम्वन्धि संस्थाको सक्कल पत्र, अघिल्लो पटक लगेको मलको विक्री प्रतिवेदन,अघिल्लो पटक लगेको मलको अनलाईन सफ्टवेयरमा इन्ट्रि गरिएको हुनुपर्ने रहेको छ ।

यसैगरी कम्पनीमा सहकारी संस्था नविकरणका लागि वार्षिक कारोवारको विवरण, नविकरण गरिएको कृषिको प्रमाणपत्रको प्रतिलिपि ,पालिकाको सिफरिश पत्र सक्कलै, संस्थाको निवेदन, संस्थाको विक्री मूल्य सूचि,असोज मसान्तसम्मको लेखा परीक्षण प्रतिवेदन र करचुक्ता प्रमाणपत्रको कागजात संलग्न गर्नुपर्ने छ ।साथै मल खरीदका लागि कम्पनीले तोकेको वैकमा रकम जम्मा गरेको भौचर संलग्न गर्नुपर्ने छ ।

प्रतिक्रिया