कविता: फिलिङ्गो

रामप्रसाद खनाल २०७९ साउन २६ गते २१:५६ मा प्रकाशित

चेतनाको सानो फिलिङ्गोले
अज्ञानताको घनिभूत जंगलमा,
आगो बालेर,
बाटो प्रसस्त गर्ने बाटो हेरिरहेको छ,
हिमाल ।
थाकेको पथिक भएको छ,
वर्तमान ।
ऊ विश्राम पछि जुर्मुराएर उठेको छ,
अब हिंडने तरखरमा ,
त्यो सानो फिलिङ्गोले बालेको प्रकाशले
बाटोको स्पस्ट रेखा कोरिदियो,
सजिलो भयो भन्छ,
वर्तमान् !
ऊ देख्छ,-
भ्रमको मचानबाट
उन्मादित मान्छेका सिकारीहरू
दुर्विनले परपर हेरेर मान्छे गन्दैछन्,
कोही कता ढले कोही कता ढल्छन् ।
फेरि देखा पर्छ फिलिङ्गो
यसपाली रावण र लङ्का दुवैको
एउटै नियति होला भन्छ,
तंग्रिएको वर्तमान् ,
र-
लमक लमक फिंलिड्गोले बालेको
प्रकाश पछ्याउदै,
चार भन्ज्याङ छिर्छ
गन्तव्य घपक्क बल्छ ,।
चेतना जीवन्त हुन्छ,
फिलिङ्गो अगाडि बढछ,
एउटा नयाँ रावण र
उसको लङ्काको खोजीमा !

८/१०/२२
राजमित्र प्रांगण,
माल्डेन,बोस्टन
अमेरिका

रामप्रसाद खनाल

पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।

प्रतिक्रिया