विराटनगर, २० साउन(रासस): विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८÷७९मा कुल रु.४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ ।
सो अवधिमा कार्यालयले रु.४९ अर्ब ६५ करोड ९५ लाख चार हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा ८१ दशमलव ४१ प्रतिशत मात्र प्रगति हासिल गरेको छ ।
कुनै पनि शीर्षकमा लक्ष्य हासिल गर्न नसकेको कार्यालयबाट निरन्तर प्रगति गुम्दै गएको पाइएको छ ।
कार्यालयले सङ्कलित राजस्वमा भन्सार महशुल रु१५ अर्ब ३२ लाख छ हजार,मूल्य अभिवृद्धि कर रु.२० अर्ब ८७ करोड ६७ लाख २९ हजार, अन्तःशुल्क रु.दुई अर्ब ५७ करोड ७२ लाख २९ हजार र अन्यबाट रु.एक अर्ब ९७ करोड छ लाख १६ हजार राजस्व सङ्कलन गरेको छ ।
आर्थिक वर्ष २०७७÷७८ मा कार्यालयले कुल रु.४० अर्ब८१ करोड ९० लाख १३ हजार राजस्व सङ्कलन गरी ८८ दशमलव ४५ प्रतिशत प्रगति हासिल गरेको थियो । सो अवधिमा कार्यालयले रु.४६ अर्ब १४ करोड ९५ लाख ८९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो ।
प्रतिक्रिया