जुजु फाउण्डेसनको सुभारम्मा पुगे न्ह्यू बज्राचार्य र योगेश्वर अमात्य

इनेप्लिज २०७९ साउन १७ गते ११:३२ मा प्रकाशित

काठमाडौं । आर्थिक अभावका कारण संगीतमा लाग्न चाहनेहरुलाई सहयोग पुर्‍याउने उद्देश्यले काठमाडौंको गल्फुटारमा जुजु फाउण्डेसन सञ्चालनमा आएको छ । फाउण्डेसनको संगीतकार न्ह्यू बज्राचार्य र गायक योगेश्वर अमात्यले आइतबार उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै गायक अमात्यले आफूले १३ वर्षको उमेरदेखि गाउन सुरु गरेको भए पनि नजिकमा संगीत विद्यालय नहुँदा समस्या भोग्नुपरेको अनुभव सुनाए । विपन्न र असहायका लागि सहयोग गर्ने उद्देश्यले जुजु फाउण्डेसन सञ्चालनमा आएको देख्दा आफूलाई खुसी लागेको उनले बताए । संगीतकार बज्राचार्यले जुजु फाउण्डेसनले अधिकतम आफ्नो खर्चमा संगीत सिकाउने र म्युजिक भिडियो बनाएर बजारमा ल्याइदिने कार्य गर्दा धेरै व्यक्तिको उद्धार हुने बताए । यस्ता फाउण्डेसनले लुकेका प्रतिभालाई बाहिर ल्याउन सहयोग गर्ने उनले बताए ।

कार्यक्रममा फाउण्डेसनका अध्यक्ष एवं संगीतकर्मी सुशील श्रेष्ठ जुजुले संगीतमा विशेष रुचि राख्ने तर आर्थिक अवस्था नाजुक भएकाहरुलाई फाउण्डेसनले सहयोग गरेर अडियो र भिडियो बनाउन मद्दत गर्ने जानकारी दिए । गैरनाफामूलक ढंगले सञ्चालनमा ल्याइएको फाउण्डेसन गरिब, असहाय र संगीतमा रुचि राख्ने जो कोहीका लागि पनि एउटा गन्तव्य बन्न सक्ने उनको विश्वास छ । फाउण्डेसन करिब ५० लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याइएको हो । सो अवसरमा जुजु क्रियशन स्टुडियोको पनि शुभारम्भ गरिएको थियो ।

प्रतिक्रिया