शनिबार, भदौ ४ २०७९
काठमाडौं ०९:१२
वासिङटन डिसी 23:27

भर्जिनियामा चक्र विज्ञान सप्ताह सम्पन्न

इनेप्लिज २०७९ साउन १० गते ११:१८ मा प्रकाशित

श्रद्धेय सद्गुरुवरद्वय रमेश नेपाल तथा एल पि भानु शर्माको सत्प्रेरणा एवं प्रत्यक्ष समुपस्थितिमा यही जुलाई १८ देखि जीवन विज्ञान अमेरिकाको आयोजनामा भर्जिनियाको मनाससमा सञ्चालन भएको चक्र विज्ञान सप्ताह हिजो समापन भएको छ ।

जुलाई १८ मा जीवन विज्ञान प्रतिष्ठानका अध्यक्ष श्रद्धेय गुरुमा देवी शर्माले दीपप्रज्वलन गणपतिपूजन तथा ब्रह्मलीन श्रद्धेय वसन्ती माको तस्वीरमा माल्यार्पणसहित श्रद्धा अर्पण गरी शुभारम्भ गर्नुभएको चक्र विज्ञान सप्ताहमा डा लक्ष्मीनारायण ढकाल तथा शालिग्राम अर्यालले वेदपाठ गर्नुभएको थियो ।

जीवन विज्ञान दोस्रो केन्द्रीय कार्यालयका अध्यक्ष शिव लामिछानेले समुद्घाटन समारोहलाई स्वागत गर्दै नेपाल बाहिरका नेपालीहरुका माझ सहज रुपमा सद्गुरुवाणीका साथ सञ्चालन हुने जीवन उर्जा विकास हुने योग, प्राणायाम र ध्यानलाई विस्तार गर्न जीवन विज्ञान अमेरिकामा संस्थागत सन् २०२० सेप्टेम्बरदेखि नेपालबाहिरको पहिलो शाखाका रुपमा सञ्चालन भएको जानकारी गराउनुभयो । उहाँले जीवन विज्ञानको महाज्ञान अंग्रेजी र जर्मन भाषामा पनि प्रयोगशालाका माध्यमबाट गैरनेपालीका माझ पुगिसकेको जानकारी पनि दिनुभयो ।

भर्जिनियाको मनाससमा अवस्थित विन्द्हाम गाडेन होटलमा सञ्चालन भएको चक्र विज्ञान सप्ताहमा अमेरिकाको न्युयोर्कदेखि क्यालिफोर्निया र ओरेगनसमेत विभिन्न डेड दर्जन राज्यहरु तथा क्यानडा र बेलायतका कूल १५४ सहभागीहरुको सहभागिता रहेको थियो ।

चक्र विज्ञान सप्ताहको समापनसितै गुरु ऊर्जा लिएर फर्कँदै गर्दा सहभागीहरुले जीवन विज्ञानका प्रत्येक दिनका सत्रहरु जीवनपरक भएको र यसको भरपूर फाइदा संसारभरिका हामी नेपालीले पहिलो चरण लिनु पर्ने बताउनुभयो । उहाँहरुले नेपाली भाषाबाट अन्य भाषामा लैजान सकेमा विश्वभरिका मानिसहरुको जीवन ऊर्जामय हुनुका साथै सबैमा शान्तिप्रियता, सुखवैभव र समृद्धि प्राप्त हुने प्रतिक्रिया  दिनुभयो ।

श्रद्धेय सद्गुरुवरद्वय रमेश नेपालज्यू तथा एल पि भानु शर्माले सहभागीहरुलाई समापन समारोहमा आशीर्वचन प्रदान गर्नुभयो ।

चक्र विज्ञान हाम्रै शरीरका विभिन्न स्थानमा रहेका शक्तिकेन्द्रहरुलाई सक्रिय बनाउँदै जीवन ऊर्जा जागृत गर्ने प्रयोगपरक विज्ञान हो । हरेक दिन एकएक गरी मूलाधारदेखि सहस्रार चक्रसम्मका सात चक्र सक्रिय गराउँदै हरेक व्यक्तिभित्र प्रकृति र परमात्माले प्रदान गरेको अनन्त सम्भावनाको अनुभव गर्न र जीवन पूर्ण सफलतातर्फ उन्मुख गराउन सिद्ध र विज्ञ गुरुद्वारा गराइने अभ्यास चक्र विज्ञान साधना हो । यो साधना यसरी निश्चित पाठ्यक्रममा केन्द्रित भएर सहभागीलाई पूर्ण सदाचारणमा राखी नियमित रुपमा सञ्चालन संसारभरिमै जीवन विज्ञान प्रतिष्ठान नेपालले मात्र गर्दै आएको छ ।

 

श्रद्धेय सद्गुरुवरद्वय रमेश नेपाल एल पि भानु शर्माजीवन विज्ञान प्रतिष्ठानका अध्यक्ष गुरुमा देवी शर्माज्यूको समुपस्थितिमा खाम भट्ट, कृष्ण रेग्मी, शारदा खाती, समज्ञ अर्याल, सुरेश कोइराला, डिल्लीराम अधिकारी, डा. लक्ष्मीनारायण ढकाल, कमल भट्टराई, कविन्द्र सिटौला, ललित न्यौपाने (बेलायत), दोबा ढकाल, रमेश ढकाल, बद्रि खनाल, मनिस पोखरेल, शालिग्राम अर्याल (क्यानडा) विजया सुवेदी, सुनीता आचार्य, परशुराम भण्डारी, सुनीता खत्री, मुकुन्द दवाडी, सुरेश भट्ट, रस्मी प्रसाई धमला, लोकेश तिवारी, महन बस्ताकोटी, विभु लुईटेल, आयुष बजगाईँ तथा श्रेया पराजुलीले चक्र विज्ञान साधनामा सहभागी हुँदा आफूले प्राप्त गरेको रोमाञ्चक अनुभवहरु सुनाउनुभयो ।

जीवन विज्ञान अमेरिका प्रशासन विभाग प्रमुख एवं चक्रसाधना आयोजनक समितिका संयोजक मधु पन्थीले चक्र विज्ञान सप्ताहको आयोजनाको तयारीका सन्दर्भहरुबारे जानकारी दिनुभयो ।

सहभागीहरु, स्वयंसेवकहरु तथा होटल व्यवस्थापनका साथै श्रद्धेय सद्गुरुवरद्वयप्रति हार्दिक आभार व्यक्त गर्दै जीवन विज्ञान अमेरिकाका अध्यक्ष शिव लामिछानेले यस सप्ताहको समापनले प्रवासमा जीवन विज्ञानको नयाँ अध्याय सुरु गरेको जानकारी दिनुभयो ।

जीवन विज्ञान अमेरिकाको आयोजनामा नेपाली मन्दिर टेक्सासको संयोजन तथा अन्य विभिन्न संस्थाहरुको सहभागितामा जुलाई ६ देखि १२ सम्म नेपालबाहिरको पहिलो चक्र विज्ञान सप्ताह सञ्चालन भयो भने ग्लोवल भुटनिज हिन्दु एसोसियसनको संयोजनमा यही जुलाई २७ देखि अगस्ट २ सम्म नेपालबाहिरको तेस्रो चव्रm विज्ञान सप्ताह सञ्चालन हुँदै छ ।

श्रद्धेय सद्गुरुवरद्वय तथा गुरुमा टेक्सासका विभिन्न स्थानमा रहेका नेपाली समुदायसित सत्सङ्गमा सरिक हुनुभयो । भर्जिनियामा जुलाई १६, १७, २१, २२, २३ र २४ मा मेरिल्यान्ड र भर्जिनियाका विभिन्न स्थानमा आयोजना भएका सत्सङ् समारोहमा समुपस्थित हुनुभई श्रद्धेय सद्गुरुवरद्वय तथा गुरुमा देवीले स्थानीय नेपालहरुको स्वागत स्वीकार गर्दै श्रद्धेय सद्गुरुवरद्वयले ऊर्जामय स्ववाणी र शुभाशीष प्रदान गर्नुभयो ।

साथै भर्जिनियामा रहँदा श्रद्धेय सद्गुरुवरद्वय तथा गुरुमाले स्थानीय परिवार तथा व्यक्तिहरुसँग प्रत्येक्ष भेट गरी वहाँहरुलाई आशीर्वचन प्रदान गर्नुभयो ।

श्रद्धेय सद्गुरुवरद्वय तथा गुरुमा जीवन विज्ञान अमेरिका प्रशासन विभाग प्रमुख तथा चक्र विज्ञान सप्ताह आयोजक समितिका संयोजक मधु पन्थीले अमेरिकाको राजधानी वासिङ्टन डी सी तथा मेरिल्यान्डका विभिन्न स्थलहरुको अवलोकन भ्रमण गर्नुभयो । जीवन विज्ञानका सल्लाहकार तथा शिक्षक निर्मला के.सी. तथा गीता मैनाली चव्रm विज्ञान सप्ताह अवधिभरि श्रद्धेय सद्गुरुवरद्वय तथा गुरुमाका साथ हुनुहुन्छ । चक्र विज्ञान सप्ताहका अवसरमा शिक्षकहरु निर्मला के सी, गीता मैनाली तथा प्रशिक्षकहरु माला महत, गोमा संग्रौला, पुष्पा खनाल, मनिसा भट्टराई, माया श्रेष्ठ तथा इच्छा लामिछाने उपस्थित हुनुहुन्थ्यो ।

श्रद्धेय सद्गुरुवरद्वय तथा गुरुमा भोलि जुलाई २६ तारिख चक्र विज्ञान सप्ताह सञ्चालनका लागि भर्जिनियाबाट ओहायो राज्यको कोलम्बस प्रस्थान गर्दै हुनुहुन्छ । श्रद्धेय सद्गुरुवरद्वय तथा गुरुमा ओहायोको चक्रविज्ञानको समापनपछि केन्टकी, पेन्सिलभेनिया र न्युयोर्कका विभिन्न स्थानमा आयोजना हुने विशेष सत्सङ्मा समुपस्थित हुनुभई ती स्थानका साधकहरुका साथ स्ववचन प्रस्तु गर्दै ध्यानका बिधिहरु सिकाउनुहनेछ । श्रद्धेय सद्गुरुवरद्वय तथा गुरुमा अगस्ट १४ मा न्युयोर्कबाट नेपाल प्रस्थान गर्नुहुनेछ ।

प्रतिक्रिया