विदेशी शैक्षिक संस्थाको मनपरीविरुद्ध आन्दोलन गर्ने अखिल क्रान्तिकारीको घोषणा

इनेप्लिज २०७९ असार १७ गते १०:५३ मा प्रकाशित

२०७९ असार १७ गते

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी) ले नेपालमा खुलेका विदेशी शैक्षिक संस्थाको मनपरीविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । हालै काठमाडौँमा सम्पन्न संगठनको विशेष राष्ट्रिय भेलाले नेपाली शैक्षिक संस्थालाई धरासायी बनाउने गरी विदेश शैक्षिक संस्था अघि बढेको निष्कर्ष निकाल्दै त्यसविरुद्ध संघर्ष गर्ने निर्णय गरेको हो ।

संवाद डबलीमा नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले पत्रकार सम्मेलन गरी विदेशी शैक्षिक संस्थासँगै मेडिकल शिक्षामा भइरहेको माफियाको दादागिरी अन्त्य गरी सरकारको लगानीमा मेडिकल कलेजहरुको विस्तारको लागि संगठनले संघर्ष गर्ने बताएको छ ।

भेलाबाट नवनिर्वाचित अध्यक्ष मिलन राईले विदेशी शैक्षिक संस्थाहरुले सम्बन्धनको हवाला दिँदै कमिसन खुवाएर वर्षमा दुई पटक भर्ना लिने गरेको तर शिक्षा गुणस्तर, भौतिक संरचनाको अनुगमन नहुने गरेको बताए । उनले विदेशी शैक्षिक संस्थाहरुले नेपाली विद्यार्थीहरुलाई लुटिरहेको समेत आरोप लगाए । उनले विदेशी शैक्षिक संस्ठाहरुले पुँजी पलायन समेत गरेकाे बताउँदै स्वदेशी शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिनुपर्ने बताए ।

“विशेष राष्ट्रिय भेलाबाट संघर्षका निसाना ठोस गरेका छौं, आवश्यकतामा हामी सार्वजनिक गर्दै जानेछौं । सरकारीमा जागिर खाएर निजी शैक्षिक संस्था विज्ञापन गर्ने दलाल शिक्षक हाम्रो निसानामा पर्नेवाला छन् । सम्बन्धको हवाला दिएर विदेशी शैक्षिक संस्थाहरुले कमिसन खुवाएर बर्षमै दुईतिन पटकसम्म भर्ना लिएका छन्, विद्यार्थीलाई लुटिरहेका छन्, हाम्रो निसाना त्यस्ता शैक्षिक संस्थाहरु पनि हाम्रो संघर्षको निसामा छन्” अध्यक्ष राईले भने । उनले त्रिविले पनि कमिसन खाएर जग्गा भाडा दिएको तर कहिलै नतिरेको बताउँदै त्यसविरुद्ध पनि आफूहरुले संघर्षको एजेण्डा बनाउने बताए ।

भेलाले बढ्दो छात्रा हिंसा नियन्त्रण गर्न, सुन्दरी प्रतियोगिता खारेज गर्न र छात्रा सशक्तिकरण कार्यक्रम हरेक शिक्षालयमा संचालन गर्न माग समेत गरेको छ । त्यस्तै, एमसीसी र एसपीपी समझौता अमेरिकी सैन्य रणनीति इण्डोप्यासिफिक रणनीति अन्तरगत भएको भन्दै भेलाले खारेजीको माग गरेको छ ।
पत्रकार सम्मेलनमा वितवरण गरिएको प्रेस विज्ञप्तिमा भेलाले विप्लव नेतृत्वको नेकपासँग सम्बन्ध विच्छेद गरी निरन्तर क्रान्तिको मार्गमा अघि बढ्ने पार्टी नेतृत्वको कदमको भेलाले स्वागत गरेको उल्लेख छ ।

“विप्लव नेतृत्वको नेकपाभित्र देखापरेको दार्शिनिक रुपमा सारसंग्रहवाद, राजनीतिक रुपमले संसदीय संशोधनवाद, संगठनात्मक रुपले निषेधात्मक अधिभूतवाद तथा विसर्जनवाद, संघर्षमा आत्मसुरक्षावाद र आर्थिक हिसाबले जुझारु अर्थवादका विरु निर्णयक सम्बन्ध विच्छेद गरी निरन्तर क्रान्तिको मार्गमा अघि बढिरहेको कार्यप्रति यो विशेष राष्ट्रिय भेला हार्दिक स्वागत गर्दछ” विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा उपाध्यक्ष विरेन्द्र शाह, महासचिव रुपा बुढामगर, सचिव नवराज भट्ट र कोषाध्यक्ष दिपक विष्टले आफूहरुले विगतको नेतृत्वले जस्तो पैसामा विद्यार्थीका एजेण्डा नसाट्ने र शैक्षिक क्षेमा भइरहेको दलाली र माफियाकरणविरुद्ध संघर्षमा उत्रिने प्रतिवद्धता समेत जाहेर गरे ।

भेलाले राईको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । त्यस्तै, सम्मेलनले वैज्ञानिक व्यवस्थामा मात्रै वैज्ञानिक शिक्षा प्राप्त हुने भन्दै त्यसको लागि समाजवादी क्रान्तिमा लामबद्ध हुने निर्णय गरेको छ ।

 

प्रतिक्रिया