शनिबार, भदौ ४ २०७९
काठमाडौं ०९:०४
वासिङटन डिसी 23:19

अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न

इनेप्लिज २०७९ असार १७ गते ३:१९ मा प्रकाशित

भर्जिनियाको मनासस शहरमा क्रियाशील नेपालीहरुको संस्था अमेरिका नेपाल सहयोगी समाज (ANHS) को वनभोज कार्यक्रम जुन २६, २०२२ मा सम्पन्न भएको छ ।

संस्थाले वार्षिक रुपमा आयोजना गर्ने गरेको वनभोज कार्यक्रम, कोभिड–१९ को कारण विगत २ वर्षदेखि  हुन सकेको थिएन । कोभिड–१९ को प्रभाव क्रमशः घट्न थालेपछि यो वर्ष वनभोजको आयोजना गरिएको हो ।

जुन २६ गते आइतबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म 4155 Monroe Parkway Marshall VA 20115 मा आयोजना गरिएको वनभोजमा करिब पाँच सयभन्दा बढिको संख्यामा उपस्थिती रहेको थियो । संस्थाले आयोजना गर्नेगरेको वनभोज कार्यक्रमहरु मध्ये अहिलेको कार्यक्रममा सबैभन्दा बढि सहभागी भएका थिए ।

कार्यक्रम सम्पन्न गर्नको लागि संस्थाका निवर्तमान अध्यक्ष केदार प्रसाद तिम्सिनाको संयोजकत्वमा कार्यसमितिले २५ सदस्यीय तयारी समिति निर्माण गरेको थियो । संयोजक तिम्सिनाको कुशल संयोजन तथा व्यवस्थापनमा वनभोज कार्यक्रम सफल भएको सहभागीहरुले प्रतिक्रिया दिएका थिए ।

वनभोज स्थलको छनौटदेखि लिएर सम्पूर्ण सदस्य तथा साधारण सदस्यहरुलाई इमेल तथा व्यक्तिगत रुपमा फोन सम्पर्क गरि वनभोजको लागि पहिले नै जानकारी गराएकोले ठूलो संख्यामा यस क्षेत्रका नेपालीहरु सहभागी भएको पनि संयोजक तिम्सिनाले बताउनुभयो । करिब २ दुई महिनाको अथक प्रयास पछि वनभोज कार्यक्रम सभ्य एवं भव्य रुपमा सम्पन्न गर्न सफल भएको वहाँले बताउनुभयो । २५ सदस्यीय तयारी समितिमा पनि प्रत्येक सदस्यको लागि कार्यविभाजन गरि दिएको कार्यमा आफ्नो जिम्मेवारी कूशलतापूर्वक सम्पन्न गर्नुभएकोले हामीले सोचे भन्दा पनि बढी जनसहभागिता रह्यो । वनभोज भन्नेबित्तिकै भोजनको कुरा प्रमुख हुन्छ । त्यसको लागि सबै तयारीहरु गरेका थियौं, हामी पहिले नैं सजग थियौं कि खानाका परिकारहरु स्वादिष्ट एवं यथेष्ट होउन् । आयोजकले पहिले नैं भनेको थियो कि आऊँ हामी सबै वनभोज जाऊँ, नाचौं, खाउँ अनि हाँसी हाँसी रमाउँ । भने बमोजिम सबै सहभागीहरु खाएर रमाएको देख्दा हामीलाई पूर्ण सन्तुष्टि भयो, संयोजक तिम्सिनाले भन्नुभयो ।

ANHS एउटा सामाजिक संस्था हो, यसका सम्पूर्ण सदस्यहरुले संस्थाको लागि ठूलो योगदान दिइरहनुभएको छ । संस्थाले आयोजना गर्ने कार्यक्रमहरु अहिले सम्म असफल भएको हामीलाई जानकारी छैन, सबै कार्यक्रमहरु सफल हुनुमा यसका सम्पूर्ण सदस्यहरुको भूमिका महत्वपूर्ण छ । वनभोजको लागि हामीले तयारी समिति बनाएका थियौं, त्यसको संयोजन निवर्तमान अध्यक्ष केदार प्रसाद तिम्सिनाले गर्नुभएको थियो । वहाँको कूशल संयोजनमा यति ठूलो कार्यक्रममा पनि कुनै कुराको कमी हुन पाएन–संस्थाका अध्यक्ष कमल भट्टराईले भन्नुभयो । वहाँले थप्नुभयो–हामीलाई चिन्ता थियो कि, लामो समयपछि आयोजना गरिएको वनभोज कार्यक्रममा सहभागी हुने सदस्यहरुलाई केही कुराको कमि हुने हो कि भन्ने, तर यसबाट प्रमाणित भयो कि अनुभवी व्यक्तिलाई जिम्मेवारी दिने हो भने कुनै कुराको कमी नहुने रहेछ ।

वनभोज कार्यक्रमको लागि वनभोज स्थल छनौट गर्ने, समान खरिद गर्ने, समानको व्यवस्थापन गर्ने, चिया नास्ता तयार तथा वितरण गर्ने, बारबिक्यू तथा मकै पोल्ने, सेलरोट र अचार बनाउने, खाना पकाउने भोजन गराउने, लेखाको व्यवस्थापन गर्ने, सरसफाई गर्ने तथा त्यसको व्यवस्थापन गर्ने सम्पूर्णलाई संस्थाका अध्यक्ष तथा वनभोज कार्यक्रम संयोजकले हार्दिक धन्यवाद दिदै सधै र सबै कार्यक्रमहरुमा यस्तै सहयोगको लागि अपेक्षा समेत गर्नुभयो ।

युवा तथा वयष्ककोलागि न्युनतम शुल्क निर्धारण गरिएको वनभोजमा वृद्द–वृद्दा तथा बालबालिकाहरुको लागि निशुल्क व्यवस्था गरिएको थियो । कार्यक्रममा प्रविण अधिकारीले पिउने पानीको सौजन्य गर्नुभएको थियो ।

सोही वनभोज कार्यक्रमको अवसरमा ANHS ACADEMY  मा अध्ययनरत विद्यार्थीहरुमध्ये अघिल्लो महिनामा उत्कृष्ट घोषणा गरिएका विद्यार्थीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र, संस्थाका अध्यक्ष कमल भट्टराई तथा एकाडेमिका संयोजक भुपाल पौडेलले प्रदान गर्नुभएको थियो । सो को लागि संस्थाका आजिवन तथा कार्यसमिति सदस्य कमल अधिकारी, आजिवन सदस्य तथा समाजसेवी राम मिश्र, आजिवन तथा कार्यसमिति सदस्य प्रेम नुवाकोटी र संस्थाका नव आजिवन सदस्य संगम कँडेल र बाबु सुवेदीबाट नगद सौजन्य गर्नुभएको थियो भने सो कार्यक्रमको सञ्चालन संस्थाका महासचिव चन्द्र विष्टले गर्नुभएको थियो ।

सोही वनभोज कार्यक्रममा नयाँ आजिवन सदस्यहरुः१.  सँगम कँडेल÷रञ्जीता तिम्सिना कँडेल२. नारायण गौतम÷लता ज्ञवाली गौतम३. निरञ्जन ज्ञवाली÷सपना अधिकारी ज्ञवाली४. महेन्द्र खड्का÷निलु गौतम५. अर्जुन गौतम÷गौरी गौतम६. अनन्त तिवारी÷प्रार्थना भट्ट तिवारी७. ठाकुर प्रसाद अर्याल÷वसन्ती रेग्मी अर्याल८. राजा वस्नेत÷शोभा वस्नेत९. हेमराज घिमिरे÷मृणालिनी घिमिरेलाई अध्यक्ष कमल भट्टराईले मायाको चिनो स्वरुप संस्थाको लोगो र कप प्रदान गर्नुभएको थियो ।

बिहान ९ बजेदेखि चिया नास्ताबाट शुरु भएको कार्यक्रममा सेलरोटी अचार, बारबिक्यू र मकै, खर्बुजा, पुलाउ, मासु र तरकारी एवं सलादको व्यवस्था गरिनुका साथै फलफूल लगायत अन्य स्वादिष्ट परिकारहरुको भोजन सहित साँझा ५.३० बजे ANHS को समापन गीत जाग लम्क चम्क हे….मा मिठो नृत्यसँगै वनभोज कार्यक्रमको समापन गरिएको थियो ।

विष्णु न्यौपाने ,मिडिया को–अर्डिनेटर ANHS

प्रतिक्रिया