शनिबार, भदौ ४ २०७९
काठमाडौं ०८:२५
वासिङटन डिसी 22:40

कसैले दिनुपर्दैन प्रमाणपत्र

नवीन रायमाझी २०७९ असार १६ गते २:५८ मा प्रकाशित

म अमेरिकाको सामाजिक, राजनैतिक र आर्थिक अवस्थाबारे बहस गर्नसक्ने बौद्धिक हैसियत राख्दिनँ तर त्यही समाजमा बसोबास गर्ने भएको कारण धेरै कुराहरु देखिन्छ, सुनिन्छ र भोगिन्छ। जसलाई नकार्न सकिन्न।

अमेरिका बसोबास गर्ने र आफूलाई सबै विषयमा विज्ञ सम्झिने केही मान्यवरहरुले मलाई नकारात्मक सोचले ग्रस्त र आफ्नै नेपाली दाजुभाइको मात्र खोइरो खन्ने भनी आरोप लगाएका छन्।

एक ‘महामानव’ ले त मलाई आफ्नो पहुँच प्रयोग गरेर यस्ता अनलाइन पोर्टल हरुमा कुनै पनि विचार प्रकाशित गर्न रोक लगाइदिने कुरा पनि गरेका थिए। मैले आजसम्म कुनै पनि व्यक्तिलाई तोकेर उसको हँस्सी उडाएको छैन तर सत्य जे हो उजागर पनि त्यही गर्नु पर्छ भन्ने मेरो मान्यता छ र सदा रहने छ।

अब यस कुरामा कसैलाइ आपत्ति छ भने त्यो उसको समस्या हो। त्यस्ता समस्या आफैँले समाधान गर्नुपर्छ। अरुलाई तथानाम गाली गरेर एउटा रौँ पनि झर्दैन। यो लेखमा मैले उठाएका प्रसङ्गहरुलाई कसैले झूटो प्रमाणित गर्छ भने म अब उप्रान्त लेख्ने छैन।

कुरा वास्तविक हो तर किन लेख्नु भन्छ भने त्यो उसको कमजोर मानसिकताको उपज हो। मेरो मतलब हामीले ठाउँ र जमानाअनुसार आफूलाई ‘अपडेट’ र ‘अपग्रेड’ गर्नुपर्छ। सिक्ने र बुझ्ने क्रम कहिले पनि अन्त्य हुँदैन।

मेरा एक जना परिचित व्यक्ति ट्याक्सी चलाउने काम गर्छन्। बिहान छ बजेदेखि राति आठ बजेसम्म गाडी हाँक्दा तिघ्रा पछाडि र फिलाको छाला हलो जोत्दा–जोत्दा गरेको गोरुको गर्धन जस्तो भएको छ अर्थात छाला मरिसकेको छ, तर ऊ आफूलाई सम्पन्न र खुशी देखाउन सामाजिक सञ्जालमा किसिम–किसिमको फोटो अपलोड गरिरहेको हुन्छ। मेरो विचारमा अरुलाई आफू खुशी भएको देखाएर नाटक गर्नुभन्दा आफैँभित्र बाट खुशी हुनु महत्वपूर्ण हो। यो मान्छे जीवनदेखि खुशी छ भनेर कसैले प्रमाणपत्र दिनुपर्दैन।

त्यस्तै, अर्का एक दम्पती छन् उनीहरुलाई ‘मेसिज’ नामको महङ्गो पसलबाट मात्र लुगा किनेर लगाउनुपर्छ तर पैसा हालेर किन्ने भए कुनै कुरा गर्नुपर्दैनथ्यो। उनीहरुले अमेरिकी सरकारले उपभोक्तालाई दिएको अधिकारको यसरी दुरुपयोग गरेका छन् कि सुन्दा पनि लाज लाग्छ।

हरेक उत्सव तथा समारोहमा नयाँ लुगा किनेर लगाउने तर त्यसको लेबल तथा बिल जतनसाथ राख्ने, जब आफ्नो काम सकिन्छ त्यसपछि आफूलाई मन नपरेको भन्दै फर्काइदिने। त्यस्तै नेपालबाट पाहुना आएको बेलामा किनेर ल्याएको ओछ्यान उनीहरु नेपाल फर्केपछि फिर्ता गरेको पनि पंक्तिकारले थाहा पाएको छ।

त्यस्तै अर्का पात्र छन् कुनै प्रसङ्गबिना नै आफ्नो काठमाडौँमा पाँचतल्ले घर भएको र प्रतिमहिना तीन लाख रुपियाँ आम्दानी हुने बताउँछन्। प्रथम त जसको जति तल्ले घर भए पनि र जति आम्दानी भए पनि अर्कोलाई कुनै सरोकार हुने कुरा आएन किनभने अर्कोले त्यो घर र पैसाको उपयोग गर्न पाउने होइन।

जब उपयोग गर्न नपाउने कुरामा नै खुशी हुनु छ भने यो संसारमा धेरै सम्पन्न मान्छेहरु छन् उनीहरुको महल जस्तो घर हेरेर खुशी भए भयो। त्यसको तुलनामा मजदुरी गरेर कमाएको पैसाको कुनै औकात नै हुँदैन। त्यसैले मेरो विचारमा यस्तो कुरा सबैलाई भन्नु उचित होइन।

दोश्रो, नेपालमा जत्रो घर भए पनि यता छिँडी (बेसमेन्ट) मा सुत्नुपरेको छ। यसरी उपभोग गर्न नपाएपछि त्यो घर हुनु र नहुनुमा के अर्थ रहन्छ? त्यस्तै मेरो कमाइ यति र उति भनेर हैरान पार्ने अर्को वर्ग पनि छन्। सबैले आफ्नो क्षमता र योग्यताअनुसार कमाइ गर्ने हो त्यसमा पनि प्रचारप्रसार गर्दै हिँड्नुको कुनै मतलब छैन।

हालै प्रकाशित अमेरिकामा धेरै तलब खाने १०१ जना मुख्य कार्यकारी अधिकृत (सीईओ) हरुमा वार्षिक २० लाख डलर तलब खाने व्यक्तिहरु पनि छन्। माइक्रोसफ्ट कम्पनीका सीईओ सत्य नरुला सबैभन्दा बढी तलब खाने सीईओ हुन्। अब सोच्नुस्, यत्रो रकम त के, यसको चौथाई रकम तलब खाने पनि कुनै नेपाली छैन अमेरिकामा। अब अमेरिकी सरकारको दृष्टिमा ‘लो इन्कम’ गर्ने हरुले कमाईको के फूर्ति गर्नु?

अमेरिकालाई मान्छेहरु अवसरै अवसरको देश भन्छन्। त्यस्तो अवसर कसले कति पायो वा केवल भन्नको लागि मात्र भनिरहेका छन् ? त्यो मलाई जानकारी भएन तर अमेरिकाले सबैलाई कडा परिश्रम गर्न भने सिकाउँछन्।

कडा परिश्रम गरेपछि परिणाम पनि राम्रै हुनेमा कुनै शङ्का छैन। समयको सदुपयोग गरेर काम गर्ने हो भने यो देशमा सबैलाई काम छ। यहाँ बेरोजगार भनेको अल्छि मान्छे मात्र हो।

अन्त्यमा, मलाई राम्रोसँग थाहा छ यो लेख प्रकाशित भएपछि मैले इङ्गित गरेको प्रवृत्तिलाई अङ्गीकार गर्ने पात्रहरुलाई रिस उठ्ने छ। उनीहरु एकपटक मसँग फेरि रुष्ट हुने छन्। त्यस्तो अवस्थाको लागि म मानसिक रुपमा तयार छु। साथै यताका आफन्तहरुको कुरा सुनेर अन्ध विश्वास गर्ने नेपालमा रहेका पाठकवर्गसँग उता बसेर यताको बारेमा सोच्नु बिल्कुल फरक भएको कारण कुनै धारणा नबनाउन विनम्र अनुरोध छ।

-नवीन रायमाझी

प्रतिक्रिया