पितृ देवो भवः

कृष्ण शर्मा २०७९ असार १३ गते २२:०४ मा प्रकाशित

म सानो हुंदा मेरो बुबालाइ देखेकाहरूले भन्थे – बाबुको मुख त ठ्याक्कै बुबाको जस्तो!

बुबा बांचुन्जेल अर्कै कुरा भो। आजकल बिहान म आफ्नो मुख हेरेर बुबालाइ सम्झने गर्छु।

गएको हप्ता पश्चिमले ‘बुबाहरुको दिन’ मनायो। हाम्रो पात्रोका अनुसार नेपालका बुबाहरुको लागि त्यो (मुख हेर्ने) दिन आउन करिव दुइ महिना बांकि छ। भदौ ११ को औंसिमा हामि जहां भए पनि बुबाहरुको दिनलाइ फेरि त्यत्तिकै भब्य रूपमा मनाउनेछौं।

हामि नेपालीहरु सांचो अर्थमा धार्मिकरूपमा सहिष्णु मात्र होइन, सामाजिक रुपमा समेत सर्व धर्म मान्ने बर्गमा पर्छौं जस्तो यसअर्थमा लाग्छ कि हामि सबै मनाउन मिल्ने दिनहरुलाइ बिन्दास, बेहिच्किचाहट एबम बेफिक्रि साथ मनाइदिन सक्छौं। बुबाको दायित्व निभाउनु/ननिभाउनु, निभाउन सक्नु/नसक्नु तपसिलको कुरा भयो तर त्यसको निहुमा रमाइलो गर्न केहि कसर बांकि छोड्दैनौं। आखिर जीवन भनेको एउटा न एउटा निंहु खोजेर बांच्न सक्ने कलाको नाम त रहेछ नि; होइन र?

छोराछोरीहरुले मेरि अर्धांगिनिको सहयोग र सल्लाहमा मलाइ घरका सानातिना वस्तु बिग्रेमा मर्मत गर्न सहयोग गर्ने बिजुलि र ब्याट्रिबाट चल्ने दुइवटा छुट्टै प्रकारका यन्त्रहरुलाइ आकर्षक बट्टामा राखेर दिएको उपहार खोले पछि जुन भाव म मा आयो त्यसलाइ नपोखी बस्न नसकेकोले यो लेख तयार
गरें।

मलाइ लाग्दछ बुबाहरु बाल बालिकाहरुका लागि आमाहरु पछिका दोस्रो पुस्ताका (अस्वचालित) मेशिन हुन। बच्चाहरु जन्माउने र हुर्काउने सवालमा महिलाहरुकोभुमिका ९९ प्रतिशत र पुरुष हरुको १ प्रतिशत रहन्छ भन्दा कसैलाइ अन्याय नहोला । हुर्काउने क्रममा पनि पिताहरुले अलिक दूरीमा बसेर सहयोग गर्ने मात्र भएकोले मैले उनिहरूलाइ दोस्रो संस्करणका मेशिन भन्न खोजेको हो।

अव प्रसंगमा फर्कौ:

मैले छोराछोरीलाइ कसरी दोस्रो संस्करणको मेशिनले गर्न सक्ने जस्तै गरी हुर्कन सहयोग गर्दै छु भन्ने कुराबारे केहि लेख्नुअघि म कसरि हुर्केको थिएं भन्ने कुराबाट विषय प्रवेश गर्दा अलिक सान्दर्भिक होला। फर्केर हेर्दा, मेरो हुर्काइ सद्गुरुले भने/गरे जस्तो तरिकाले भएको हो कि जस्तो लाग्दछ। अभिभावकहरुबाट बेरोकटोक एबम बिन्दास। खुवाउने, बिरामी पर्दा उपचार गर्ने, आवश्यकता अनुसारको माया दिने बाहेक ‘यो खेल खेल्नु पर्छ’, ‘त्यो खेल खेल्नु हुंदैन’, ‘यो पढ्नु पर्छ’, ‘त्यो पढ्नु हुंदैन’, ‘त्यो मान्छे नराम्रो छ’, ‘त्यसबाट बंच्नु’, ‘यो राम्रो मानिस हो यसलाइ बिश्वास गर्नु’ लगायतका तरिकाले ‘माइक्रो नियन्त्रण’ गर्ने काम भएन।

हामिले जुन खेल आफुलाइ मन पर्यो त्यो खेल खेल्यौं। जे विषय पढ्न मन लाग्यो त्यो विषय रोज्यौं। जसको घर पछाडिको आंप, आरु, अम्बा आदी चोर्न मन लाग्यो ती सब चोर्यौं। थारुको छोरासंग उनकि आमाले बनाएको घोंगिको सुप खान मन लाग्यो, त्यो खायौं। साथिहरु संग बयर घारीमा गएर बयर खान मन लाग्यो, बयरका कांडाबाट गन्जी मात्र होइन शरीरको छाला नच्यातिउन्जेल सम्म बयर खायौं। शिवरात्रिको सांझ भांगको पेडा खान मन लाग्यो, त्यो खायौं। मामाको साइकल पछडि चढेर गोरखपुर सिनेमा हेर्न जाने अफर आयो; त्यो स्विकार्यौं।

साइकल चढेरै लुम्बिनि जान मन लाग्यो, लुम्बिनि पुग्यौं। कसैले नसिकाइकनै रोहिणि एबम सगरहवा जस्ता गहिरा खोलामा हाम फाल्यौं; पानि पियौं; कसै बाट उतारियौं; भाग्य रहेछ – बांच्यौं। लहलहैमा लागेर गोमन सर्पलाइ जिस्कायौं र मृत्युको नजिकै बाट गुज्रियौं। आफ्नै कान्छा हजुरबुबालाइ अरुले ‘पण्डित बाजे मुर्दाबाद’ भन्न लगाउदा त्यसै गर्यौं तर हृदयको भित्रैबाट हजुरबुबा र हजुरआमाका कुरा सधै सुन्यौं र सधै मान्यौं र सधै सबैलाइ सम्मान गरिरह्यौं।

हाम्रो परिवार कुनै आगोले खारिएर बनेको २४ क्यारेट सून जस्तो नरम, शुद्ध र चमकिलो थिएन। हामि सबैका आ-आफ्ना कमजोरिहरु थिए। कोहि रोगी, कोहि स्वस्थ। कोहि कमजोर, कोहि बलिया। कोहि पढ्नमा सुस्त, कोहि तेज। कोहि लोभि, कोहि पापि। कोहि दानी, कोहि कन्जूस। बांच्नुको सार भनेको बेरोक्टोक सोझो नहरमा बग्नु मात्र नभई ‘डाइभर्सिटि” को पनिघट्टमा पेलिनु हो र कसैलाइ बहिर तार्न सक्नु हो भन्ने तथ्य क्रमशः बुझ्दै अगाडि बढ्दै गयौं।

सत्य बोल्दा कसै संग डराउनु हुन्थेन। काकाहरुसंग भट्टिमा पिएर घर फर्के पछि ‘हो, पिएर आएका हौं’ भन्नु हुन्थ्यो। 

म मेरो बुवालाइ उहाँको आमा र दाजु भाउजु बाहेक सबैले (हो मैलै दोहोर्याउन चाहेंः सबैले) अलिक बढि नै हेपेको समाजमा हुर्केको मानिस हुं। उनिहरूले हेप्नुको एक मात्र कारण के थियो भने उहां झूठ बोल्नु हुन्थेन। सत्य बोल्दा कसै संग डराउनु हुन्थेन। काकाहरुसंग भट्टिमा पिएर घर फर्के पछि ‘हो, पिएर आएका हौं’ भन्नु हुन्थ्यो। उहांले घर आएपछि काकाहरुले जस्तो सुटुक्क आफ्नो कोठामा गएर आ-आफ्ना अर्धांगिनि हरुलाइ खाना ल्याउन लगाएर त्यहिं खाई सुत्ने र खाना नल्याईदिए राति राति श्रिमती कुट्ने तर अर्को दिन भलाद्मि बन्ने नाटक कहिल्यै गर्नु भएन। उहां स्वाभावमा हठि हुनुहुन्थ्यो। शाष्तार्थमा अब्बल। तपाइलाइ थाहा छ तः समाजले “आउटस्पोकनहरूलाइ” कालान्तर सम्म मन पराउंदैन। मेरो बुबाको मामिलामा पनि रमेशको ससुराको जस्तै, प्रकाशको बुबाको जस्तै, बिमलको हजुरबुबाको जस्तै भयोः शुरुमा हांसोको पात्र – त्यसपछि निन्दा – त्यसपछि आलोचना – अनि अवहेलना -र अन्त्यमा गृह त्याग गराउने वातावरण।

नेपाली समाज रक्सि पिउनेहरूलाइ सम्झाउने, माया गर्ने, उसको चिन्ताको कारण पहिल्याई त्यसको निवारणका लागि पहल गर्न सहयोग गर्ने खालको त्यति बेला पनि थिएन; अहिले पनि छैन। त्यस सम्बन्धि राष्ट्रीय चेत त्यति बेला पनि थिएन; अहिले पनि छैन। लागु पदार्थको दुरुपयोग गर्नेलाइ खिशिट्युरि गर्ने, दुत्कार्ने र पल्लो भित्तामा पुर्याउने बाहेक उसमा कुनै बिवेक र दायित्वको बोध छैन भन्दा हुन्छ। म सम्झन्छु उहांलाइ परिवार र समाजले क्रमै संग कुरा काट्दै, उपेक्षा गर्दै, शोषण गर्दै सहनशिलताको पल्लो छेउ सम्म पुर्याएको। तर पनि उहांले कसैलाइ कुनै पनि प्रसंगमा चित्त दुख्ने गरि केहि नभनी सुटुक्क घर छोडेर हिड्नु भएको थियो।

तर पनि उहांले कसैलाइ कुनै पनि प्रसंगमा चित्त दुख्ने गरि केहि नभनी सुटुक्क घर छोडेर हिड्नु भएको थियो।

मैले मलाइ माया गरेको नदेखाउने तर सधै आफ्नाको मात्र होइन सबैको भलो चाहने बुबा गुमाएं। सधै स्कूल, आफन्त र समाज भन्ने अनि उनिहरुको लागि सम्पूर्ण खर्चेका बुबाले मलाइ आजकलका बुबाहरुले जस्तो हात समातेर कतै लैजानु भएन। साइकल चलाउन पनि सिकाउनु भएन। सुत्ने बेलामा कथा हालेरसुत्नको लागि थप्थपाउनु पनि भएन। ति सब लगायत अरु पनि केहि नगरेकोमा मलाइ उहां प्रति गुनासो होइन बरु गर्व छ। बुवाले पदचांप बनाइदिएको भए शायद आज पर्यन्त म तिनै पाइला पछ्छ्याईरहेको हुन्थें होला। आफ्नो बाटो शायद आफै खन्न सक्ने हुन्थिन होला। सधै आशे भएर अरु कसैको मुख ताक्थें होला। भोली त चिठ्ठा पर्ला कि भन्ने आशामा जीवन काट्थें होला।

अव बुबाको भुमिकामा मेरो आफ्नो कुरा गर्न तिर लागौं।

बच्चाहरु हुर्काउने मामिलामा मैले पनि बुबाकै सिको गरेको छु भन्दा फरक नपर्ला। हो, मैले सबै बाबुहरुले जस्तै आफ्ना छोराछोरिहरुलाइ माया गर्छु। तर आधुनिक देखावटी मायाको नाममा मैले उनिहरुको गाला कहिल्यै चाट्ने र हजारौ पटक ‘म तिमिलाइ माया गर्छु’ भन्दै पुल्पुल्याउने काम गरिन। मैले उनिहरुलाइ एउटा कथा पनि सुनाईन। बरु मैले उनिहरुलाइ ‘तिमिहरुले स्कूलमा सुनेको कथा मलाइ सुनाऊ भनें। मलाई पौडि, पिंग पंग, फूटबल, बास्केटबल आदि खेल्न आउंछ तर मैले उनिहरुलाइ स्वयमले केहि सिकाइन। प्रशिक्षक मार्फत सिक्दा उनिहरुको सिकाइले एउटा लय समात्छ जस्तो लागेर त्यसै गरें।

मेरिउनिले उनिहरुलाइ खाना पकाउन, भांडा माझ्न, कोठा सफा राख्न, बगैचामा सिंचाइ गर्न, खाना नफाल्न, अतिथिको सत्कार गर्न सिकाएकि छिन। मलाइ लाग्छ एक बाबुले आफ्ना बच्चाहरुलाइ दिने अमुल्य उपहार भनेकोः घर, गाडि, बैंक ब्यालेन्स आदि केहि होइन। हामिले संस्कार र अवसरका ढोकाखोलिदिने दिने हो। उड्न दिने हो। घर बनाउन दिने हो। साना तिना कुरा बिग्रेको खण्डमा मर्मतका लागि औजारहरु दिने हो।

बाटो खनिदिने होइन। जीवनएक यस्तो यात्रा हो जसको गन्तब्य अरुले खोलिदिएको बाटो हिंडेर पुग्न सकिंदैन।

 

प्रतिक्रिया