बिहीबार, असार १६ २०७९
काठमाडौं १२:५४
वासिङटन डिसी 03:09

बैंशमा लागे कान्छीको पाखुरा समाई नाचौंला

-नवीन रायमाझी २०७९ असार ९ गते १:०१ मा प्रकाशित

स्व. गोपाल योञ्जन र मिरा राणाको स्वरमा एउटा गीत छ, ‘भोक लागे भने भात खाउँला, तिर्खामा लागे मोही खाउँला, थकाइ लागे बसौँला, बैंशमा लागे कान्छीको पाखुरा समाई नाचौंला’। यस गीतमा मान्छेको स्वभाविक इच्छा वा चाहनालाई दर्साउन खोजिएको छ।

जवानीमा सबैले कोही न कोही कान्छीको पाखुरा समाएर नाचेका होलान्। विभिन्न कारणले नाच्न नसक्ने वा नाच्ने मौका नपाउनेहरुले पनि भित्र भित्रै कल्पेर पनि बसेका होलान्, अर्थात् विपरित लिङ्गी प्रतिको आकर्षण स्वभाविक हो र यसलाई सहज रुपमा लिनु पर्छ।

सबैको आ-आफ्नो यौन जीवन हुन्छ र यो गोप्य हुनुपर्छ। यो कुनै प्रतियोगिता होइन र धेरै मान्छेहरुसँग सम्बन्ध भयो भने स्वर्ण पदक पाउने विषय पनि होइन। अत आफ्नो यौन जीवन र त्यो जीवनको प्रसङ्ग आफैँ सँग मात्र सिमित राख्नुपर्छ र सधैं त्यो कुरा बहकिरहनु हुँदैन।

एउटाको यौन जीवनको बारेमा अर्कोलाई खासै रुचि होला जस्तो मलाई लाग्दैन। यो प्रसङ्ग उप्काइरहनु भनेको आफ्नो टाट पल्टेको मानसिकताको प्रदर्शन गर्नु मात्र हो।

अमेरिकाको सभ्य समाजमा एउटा कथन छ- आफ्नो कमाई र सम्पत्ति, प्रेम र यौन जीवनको प्रसङ्ग र भविष्यको योजनाको बारेमा कसै सँग पनि उल्लेख गर्नु हुँदैन अर्थात् यो अत्यन्तै नीजि र गोप्य हुनुपर्छ। यी तीन विषयहरुको बारेमा सबैसँग कुरा गर्दै हिंड्यो भने बेफाइदा मात्र हुन्छ वा कमसेकम अरुको दृष्टिमा बकम्फुसे मात्र भए पनि हुन् पुगिन्छ।

अफसाेचको कुरा के छ भने हामी नेपालीहरु यी तीनै विषयहरुलाई बढाइ चढाई मात्र होइन शत प्रतिशत काल्पनिक कुरा गर्न पनि पछि पर्दैनौँ। कुनै महिलाको चरित्रको विषयलाई लिएर यस्ता प्रसङ्गहरुको बारेमा बोल्नु धेरैलाई सामान्य विषय लाग्न सक्छ वा लाग्छ।

वि.स. २०५१ सालतिरको कुरा हो, तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा एक नायिकाले एक साहित्यकारलाई सबैको अगाडि थप्पड हानिन्।

साहित्यकारले ती नायिकाको चरित्रको बारेमा नानाथरी कुरा र उनीसँग आफ्नो शारीरिक सम्बन्ध भएको कुरा गर्दै हिंडेका रहेछन्। यसरी आफ्नो चरित्र हत्या भएको कारण उनलाई रिस उठ्यो र उनले आफूले गर्न सक्ने कारबाही गरिन्, त्यसमा पंक्तिकारलाई खुशी लागेको छ।

यसरी कुनै मान्छे र त्यसमा पनि एउटी महिलाको चरित्र हत्या गर्दै हिंड्ने त्रिभुवन विश्वविधालयका अध्यापक समेत रहेका ती मान्यबरले लेखेको साहित्यले नेपाली साहित्यलाई कति योगदान दियो होला? उनले अध्यापन गराएका विद्यार्थीहरुले के कस्तो सिके होलान्? त्यो कुरा आदरणीय पाठक वर्गलाई नै जिम्मा दिन चाहन्छु।

विपरीत लिङ्गी प्रतिको सहज र स्वभाविक आकर्षणको बारेमा विशिष्ट ज्ञान राख्ने फ्रेन्च समाजशास्त्री इमाइल दुर्खिमका अनुसार भोक, निन्द्रा र यौन चाहना सबैमा हुन्छ र यो हुनु पनि पर्छ। तर यी विषयहरुलाई सधैं वा प्रसङ्ग नहुँदा पनि बोलिरहनु भनेको उसको आन्तरिक कुण्ठा हो। जसरी कसैले दैनिक रुपमा सफा र स्वादिष्ट खाना खान पाएको हुँदैन, उसलाई खानाकै बारेमा मात्र ध्याउन्न भएको जस्तै स्वभाविक यौन सम्बन्ध राख्न नपाएको मान्छेले यस्तै क्रियाकलाप गर्ने गर्छन् र अधिकांश समयमा हास्यको पात्र बन्ने गर्छन्।

वास्तवमै कुरा गर्ने हो भने यदि यौन चाहना भएन भने त्यो कसरी हुन गयो भनेर चिकित्सकसँग सल्लाह लिने हो।

-नवीन रायमाझी

प्रतिक्रिया