माउण्ट एभरेष्ट टेलिभिजन, क्यानाडाको तेस्रो बार्षिकोत्सब जुलाई १ मा !

इनेप्लिज २०७९ असार ७ गते २२:४८ मा प्रकाशित

मदन बस्नेत, क्यानाडा। बिदेशी भूमी क्यानाडामा नेपालीद्वारा स्थापित र संचालित नेपाली टेलिभिजन “माउण्ट एभरेष्ट टेलिभिजन, क्यानाडा” ले स्थापनाको तेस्रो बार्षिकोत्सबको अवसर पारेर आउँदो जुलाई फर्स्ट अर्थात् “क्यानाडा डे” का दिन “बिशेष सांगीतिक साँझ” को आयोजना गर्ने भएको छ।

क्यानाडामा नेपालीहरुको बाक्लो बसोबास रहेको शहर मिसिसागा स्थित पर्ल बैंकेट एण्ड कन्भेन्सन सेन्टरमा आयोजना हुन गइरहेको उक्त सांगीतिक साँझमा नेपालका बरिष्ठ लोक गायक पुरुषोत्तम न्यौपानेको बिशेष प्रस्तुति रहने छ भने क्यानाडाबाट गायिकद्धय देबिका केसी र रिता बुर्लाकोटीले पनि सांगीतिक कोसेली प्रस्तुत गर्नेछन्। साथ साथै क्यानाडामा बसोबास गरिरहेका अन्य स्थानीय नेपाली कलाकारहरुले पनि नृत्य लगायतका सांस्कृतिक कोसेलीहरु प्रस्तुत गर्नेछ्न्।

टेलिभिजनले बिगत तीन बर्ष देखि क्यानाडाबाट बिश्वभरी छरिएर रहेको नेपालीहरुलाई समाचार, सुचना तथा मनोरञ्जनका साथै बिभिन्न गतिबिधि मूलक कार्यक्रमहरु प्रसारण गर्दैआइरहेको छ। माउण्ट एभरेष्ट टेलिभिजनका प्रबन्ध निर्देशक बसन्त कार्कीका अनुसार टेलिभिजनले आउँदा दिनहरुमा श्रोता र दर्शकहरुको ईच्छा, रुचि, माग र सल्लाह सुझाव अनुसार समय सान्दर्भिक अन्य विविध बस्तुहरुलाई पनि समाबेश गर्दै जाने छ।

वहाँले आफ्नो टेलिभिजन माउण्ट एभरेष्टले यसै बर्षदेखि भगिनी संस्थाको रुपमा “माउण्ट एभरेष्ट रेडियो” पनि सञ्चालनमा ल्याउने बताउनु भएको छ। माउण्ट एभरेष्ट टेलिभिजनको बार्षिकोत्सबको अवसरमा आयोजित “सांगीतिक साँझ” मा नै रेडियोको पनि औपचारिक शुभारम्भ गर्ने जानकारी दिनु भएको छ।

– मदन बस्नेत, क्यानाडा।

प्रतिक्रिया