अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो

नवीन रायमाझी २०७९ जेठ ३१ गते २२:४८ मा प्रकाशित

चरित्र नम्बर एक: एक मान्यबर छन्, जो मासचुसेटमा बसोबास गर्छन्। उनको हरेक क्रियाकलाप ‘खैरे‘ सँग जोडिएको हुन्छ। उनी बस्ने एर्लिङ्ग्टन गोराहरुको अधिक चाप भएको क्षेत्र हो। उनले किनमेल गर्ने पसलमा गोरा मात्र आउँछन्। उनको बच्चा पढ्ने स्कुलमा गोराका केटाकेटी मात्र पढ्छन्।

उनले उदाहरण को रुपमा दिने ‘खैरे’ उपमा उत्कृष्टता र सम्पन्नताको अर्को परिचायक हो। उनको अन्य गतिबिधिबारे मलाई राम्रो ज्ञान भएन तर उनी बस्ने सहर काठमाडौँमा पत्रकारिता गर्दाका तीन मित्रहरु पनि त्यही बस्छन्। उनीहरु हालसम्म ‘खैरे’ भइसकेका छैनन। तर, यी मान्यबरलाई ‘खैरे’ सँग यति बिघ्न आकर्षण छ। त्यो किन होला? मैले अहिलेसम्म बुझ्न सकेको छुइन।

अमेरिकाको विभिन्न दोबाटो र चौबाटोमा कागजमा ‘हेल्प मी’ लेखेर माग्न बसेका भिखमग्गा ‘खैरे’ हरुलाई उनले देखेका छन् कि छैनन्? त्यो पनि मैले बुझ्न सकेको छैन।

चरित्र नम्बर दुई: यस्तै टेक्सासमा अर्का मान्यबर बसोबास गर्छन्। उनलाई भने ‘टप टेन’ शब्दसँग ठूलो मोह छ। उनको दावी अनुसार अमेरिकामा बसोबास गर्ने नेपालीमाझ उनी ‘टप टेन’ धनी भित्र पर्छन्। उनका छोराछोरी पढ्ने कलेज ‘टप टेन’ हो। उनी बस्ने राज्य (टेक्सास), सहर (कुल) र काउन्टी (पार्कर) पनि ‘टप टेन’ नै हो। उनको गाडी (फोर्ड एक्सप्लोरर) चढ्नु भनेको यतैको धनी खैरेको लागि पनि गाह्रो कुरा हो। झन् नेपालीको त कुरै भएन।

डोनाल्ड ट्र्म्प राष्ट्रपतिको चुनावमा पराजित भएपछि विक्षिप्त बनेका उनी बेलाबेला नवनियुक्त राष्ट्रपति जो वाइडेनलाई आमाचकारी गाली गर्छन्। अमेरिकामा नेपालीको संख्या धेरै भएको र अब नेपालीलाई यता आउन रोक लगाउन पर्ने जिकिर छ, उनको। मानौ अमेरिका उनकै पिताजीको बिर्ता हो। सन् २००३ मा डिभी चिठ्ठा परेर अमेरिका प्रवेश गरेका यी मान्यबरलाई उनीभन्दा पहिले अमेरिका छिर्ने मानिसहरुले यस्तै विचार पोखेका भए के भन्थे होलान? ट्र्म्पसँग उनको मोह यति बिघ्न किन भएको होला?

चरित्र नम्बर तीन: न्युयोर्कमा पैसा कमाएर वाक्क भएपछि न्यु हेम्पसायर बसाइँ सरेका अर्का एक मान्यबर छन्। जसको काम बिल गेट्सलाई पछि पार्न तल्लिन उनको काम मध्य राती भिडियो कलमा फोन गरेर आफूले किनेका मोजा, थाल जस्ता सामान्यवस्तुको प्रदर्शन गर्नु हो। मेरा लागि उनी धन्यबादका पात्र छन्। केही नदेखेको र नसुनेको म जस्तो निर्धन ब्यक्तिलाई यस्ता बहुमूल्य जिनिस देखाउँदा आफूले प्रयोग गर्न नसके पनि हेरेर खुशी हुने गरेको छु।

उबर (ट्याक्सी) ले लाइसेन्स खोसेपछि अपाङ्ग मान्छेको स्याहार सुसारको काम गर्ने उनको निजी दावी अनुसार उनले जतिमस्ती यहाँ बसोबास गर्ने अन्य नेपालीहरुले कमै मात्रामा गरेका छन्। फेसबुकमा उही लुगा लगाएको तस्बीर पटक पटक देखियो भने बेइज्जती भएको ठान्ने उनीसँग त्यो लुगाहरु भने छैन। उनी महंगो लुगा किनेर ल्याउँछन् र आफ्नो काम सकिएपछि लेवलसहित पसलमा फर्काइदिन्छन्। उनको यो आइडिया काइदाको छ। मेरो अनुभवमा उनले लुगा किन्ने भनेको केवल तस्बीर खिच्नका लागि मात्र हो।

नेपालमा हुँदा घरमा तास खेलाएर त्यसैको कमिसनलाई आफ्नो आयस्रोत मान्ने उनले साथीभाईसँग लिएको सबै ऋण चुक्ता गरिदिए अमेरिकामा कमाएको डलरले पनि लाज मान्नु पर्थेन कि ?

चरित्र नम्बर चार: यस्तै न्यु हेम्पसायरमै अर्का मान्यबर पनि छन्। श्रीमतीलाई डिभी परेर अमेरिका भित्रिएका उनको भनाइ छ– अमेरिकामा कहाँ जोपायो त्यही आउने हो। म जस्तो उत्कृष्ट मान्छे मात्र आउनु पर्छ।

वैदेशिक रोजगारी ठगी मुद्दामा सर्बोच्च अदालतले साढे दुई बर्ष कैद र पाँच लाख जरिवाना तोकेका उनी आफ्नो सक्कली नागरिकता अनुसार प्रहरी रिपोर्ट नबन्ने भएपछि नक्कली नागरिकता र त्यसैको आधारमा बनेको पासपोर्ट बोकेर अमेरिका भित्रिएका हुन्।

अमेरिका आउने दिन घरदेखि एअरपोर्टसम्म गाडीको पछिल्लो सिटमा सुतेर आएका उनको हैसियत के रहेछ, त्यो अनुमान गर्ने जिम्मा पाठकवर्ग हो। विदेशमा जस्तो सुकै अपराध गरे पनि यदी अमेरिकामा अपराध गरेको छैन भने त्यस्तो नागरिकलाई सुरक्षा दिने कारण मात्र सुखको सास फेरिरहेका छन्। उनले पनि नेपालमा लिएको ऋण तिरे ठूलो कुरा गरेको अर्थ लाग्थ्यो।

चरित्र नम्बर पाँच: नर्थ क्यारोलिनामा पनि अर्का त्यस्तै दम्पत्ति छन्। नेपालबाट आएका बुवाआमा दिनभरी घरमा बस्यो भने बिजुलीको बिल बढी उठ्ने डरले आफू काममा जाँदा मल (किनमेल केन्द्र) मा छोड्ने र आफू आउँदा सँगै घरमा लिएर आउने उनको नियमित काम जस्तै हो। दुईचार दिन यसो झिलिमिली हेर्दा रमाइलो नै भयो होला ती बुढा आमाबावुलाई। तर महिनौंसम्म कुनै भाषा नबुझ्ने स्थानमा दुई बुढाबुढी टुक्रुक्क बसेको दृश्य कति मार्मिक होला? यहाँहरु सबैले अनुमान लगाउन सक्नुहुन्छ। अझ अच्चमको कुरा, उनी दैनिक जसो फेसबुकमा आमाबुवाको सम्मानमा ‘स्ट्याटस’ लेखिरहेका हुन्छन्।

यी मानिसहरु मैले नजिकबाट देखेका केही प्रतिनिधि पात्र मात्र हुन्। यसलाई अमेरिकामा बसोबास गर्ने सबै नेपालीले यस्तै व्यवहार गर्छन भन्ने अर्थमा नबुझ्न सबैलाई आग्रह गर्न चाहन्छु। अमेरिकामा उच्च पदमा बसेर सेवा गर्ने केही ब्यक्तिसँग मेरो दोहोरो चिनाजान छ। जस्तो कि बिश्व बैङ्कमा अफ्रिका शाखाका प्रमुख शाक्य थरका एक नेपाली, नासामा कार्यरत ओझा थरका बैज्ञानिक, हाल कोरोना खोपको अनुसन्धानमा सक्रिय महत थरका बैज्ञानिक र गुगल मुख्य कार्यालयका प्रमुख इन्चार्ज भट्ट थरका सुचना प्रबिधिका ज्ञाता। यसमा एकतर्फि मात्र चिन्ने अरु धेरै ब्यक्ति अमेरिकामा बसोबास गर्छन् तर उनीहरु चर्चामा आउन खासै रुचाउँदैनन्।

जसले सबै कुरा बुझेका छन्, उनीहरु मौन छन्। जसले कुनै कुरा जानेकै छैन, उनीहरु सबैलाई सामाजिक सञ्जालमार्फत उपदेश दिएर बसेका छन्। अल्पज्ञान कति खतरनाक हुन्छ, त्यो हामी सबैलाई थाहा भएको विषय हो। अमेरिकामा बसोबास गरिरहेका नेपाली, जसले जति ठूलो कुरा गर्छ, त्यसको सामाजिक तथा आर्थिक स्थिति कति नाजुक छ, त्यो माथिको उदाहरण पढेर नै तपाईहरुले अनुमान लगाइसक्नु भएको होला।

केही अपबादलाई छोडेर कुरा गर्नुपर्दा आफूलाई नेता वा सामाजिक अभियन्ता भन्न रुचाउने कसैको पनि अमेरिकामा खासै हैसियत छैन। खादा, माला र अबिरले भरिएको ठुस्स परेको अनुहारको तस्बीर फेसबुकमा अपलोड गरेर आत्मरतिमा डुब्ने र नेपालमा रहेका आफन्तलाई खोक्रो धाक दिनुबाहेक अर्को कुनै औचित्य देखिदैन।

यी माथी उल्लेखित पाँच वटा चरित्र अमेरिकामा बसोबास गर्ने नेपालीको वास्तविक अनुहार हो।

अन्तमा अधिकांस अमेरिकी नेपाली हरुको जिन्दगी इँजार चुढेको सुरुवाल जस्तो छ, समातुन्जेल गज्जबको तर हात छोड्यो कि खेल खत्तम।

 

नवीन रायमाझी

पत्रकार तथा लेखक

प्रतिक्रिया