नयाँ कृतिको समीक्षा

अरुणबहादुर खत्री “नदी” २०७९ जेठ २८ गते १०:४८ मा प्रकाशित

कवि सुन्दरप्रसादको कवितासङ्ग्रहको निमन्त्रणा पाएपछि समय मिलाएर कविता सङ्ग्रह विमोचन हुने स्थान बागबजारमा पुगे । कवितासङ्ग्रह विमोचन भैसकेपछि कार्यक्रममा पुगेका अतिथिहरु सबैलाई एकएक प्रति विमोचन भएको कविता सङ्ग्रह निःशुल्क वितरण भयो । विमोचनको कार्यक्रम सकिएपछि जलपान हुदै गर्दा एकजना कवि रुद्रकुमारले आफ्नो मुक्तकसङ्ग्रह झोलाबाट निकालेर वरिष्ठ साहित्यकार कृष्णरामलाई दियो । कृष्णरामलाई मुक्तकसङ्ग्रह दिदै गर्दा मैले पनि एकप्रति तपाईको सङ्ग्रह पढ्न पाउछु कि भनेर मागे । कवि रुद्रकुमारले मेरो मुक्तकसङ्ग्रह तपाईलाई चाहिएको छ भने पुतलीसडकका पुस्तक बेच्ने पसलमा गएर किन्नु नि भन्यो । मैले तपाईको मुक्तकसङ्ग्रह पढेर समीक्षा लेखेर साहित्यिक पत्रिकामा प्रकाशित गर्न मागेको हुं नि मैले भने ।

मेरो मुक्तकसङ्ग्रहको तपाईले समीक्षा गर्नु परेको छैन म तपाईलाई मेरो कृतिको समीक्षा गर्नुहोला पनि भन्दिन उसले भन्यो । एक वर्ष बितेपछि उसकोे फेरि नयाँ कवितासङ्ग्रह निस्क्यो र मेरो मोबाइल नम्बर पत्ता लगाएर मलाई फोन गर्यो र मेरो कवितासङ्ग्रहको विमोचन आउँदो शुक्रबार दिउसो ठिक तीन बजे प्रज्ञा भवनमा हुंदैछ तपाई जसरी भए पनि आउनु होला है भन्यो । उसको मुक्तकसङ्ग्रह समीक्षा लेख्न नपाएको घटनालाई सम्झेर मैले तपाईको कवितासङ्ग्रहको विमोचनमा म आउन सक्दिन मलाई कत्ति पनि फुर्सद छैन मैले भने । मेरो कवितासङ्ग्रहको विमोचनमा तपाई आउन नभ्याउनु भए पनि म तपाईलाई पछि कुनै दिन भेटेर मेरो नयाँ विमोचन हुन लागेको कवितासङ्ग्रह भेटेर दिन्छु दरोसंग मेरो कवितासङ्ग्रहको समीक्षा लेखेर कतै छापिदिनु होला नि उसले भन्यो । मकहाँ समीक्षा लेख्न धेरैका कृतिहरु आएका छन् म तपाईको कृतिको समीक्षा अहिले लेख्न भ्याउदिन मैले भने ।

सामाखुसी मार्ग, सरकारी धारा,काठमाडौं

प्रतिक्रिया