प्रदेश नं १ प्रदेश सभा वैठक– वार्षिक नीति तथा कार्यक्रमको छलफल निरन्तर

इनेप्लिज २०७९ जेठ २७ गते २२:१२ मा प्रकाशित

विराटनगर,२७ जेठ ।प्रदेश नं १ प्रदेश सभाको आज भएको दशौं तथा बजेट अधिवेशनको पाँचौ बैठकमा आर्थिक वर्ष २०७९÷८० वार्षिक नीति तथा कार्यक्रम माथि छलफलले निरन्तरता लिएको छ।

प्रदेश सभा नियमावली, २०७४ को नियम ३८(१) बमोजिम वार्षिक नीति तथा कार्यक्रमको छलफलमा भाग लिदै सदस्यहरुले आफ्नो सुझाव एवं आलोचनात्मक समर्थन गर्नु भएको छ।

छलफलमा प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईले पूर्ववती सरकारले गरेको कामहरु कोभिड–१९ मा जनताको स्वास्थ्य सुरक्षा, प्रदेश सरकारको जग बसाल्न पूर्वाधार निर्माण र कानून निर्माण जस्ता कुराहरुके जस लिन वर्तमान सरकारले नीति कार्यक्रममा उल्लेख गर्नु हास्यपद रहेको सदनलाई बताउनु भयो ।

उहाँले पूर्व सरकारले .जनताको सेवा सुविधाका लागि विभिन्न जिल्लामा स्थापना गरेको कार्यालय बन्द गरेकोमा आक्रोश व्यक्त्त गर्दै वर्तमान सरकारले विभिन्न निर्माणका आयोजना स्वार्थ अनुसार छानीछानी छनौट गरेको आरोप लगाउनु भयो

पूर्वमुख्यमन्त्री राईले सात बटा मन्त्रालय विस्तार गरि १३ वटा बनाउनु वर्तमान सरकारको उपलव्धि भएको व्यङग गर्दै मुख्यमन्त्री ग्रामीण सडक निर्माण कार्य रोकेर त्यस क्षेत्रका जनताको सदरमुकामसम्मको पहुँच पु¥याउन नखोजेको बताउनु भयो ।

उहाँले जनताले अनुभूति गर्ने विकास निर्माणको कार्यबाट मुलुकमा प्रदेश र सङ्घीयता बलियो हुने चर्चा गर्दै प्रदेश सभासदस्यहरुसँग परामर्श गरि बजेट निर्माण गर्नुपर्ने सुझाव दिनु भयो ।

नीति तथा कार्यक्रममा बोल्दै सदस्यहरुले कृषकका उत्पादनको बजारीकरण गर्नुपर्ने,नेपाली कागज उत्पादन वृद्धिका आवश्यक नीति ल्याउनु पर्ने,पहाडी क्षेत्रका नदीमा वेलीव्रज राख्नु पर्ने लगायतका सुझाव दिनु भएको थियो ।

यसैगरी उहाँहरुले युवा लक्षित कार्यक्रम ल्याउनु पर्ने,ग्रामथानमा शिलन्यास गरिको जेष्ठ नागरिक आश्रम निर्माणका लागि वजेटको व्यवस्था हुनुपर्ने, धनकुटामा १०० शैयाको अस्पताल विस्तार गर्नुपर्ने,प्रदेशको समृद्धि सम्वन्धमा नीति तथा कार्यक्रममा उल्लेख गर्नुपर्नेमा जोड दिनु भएका छन् ।

यसरी आफ्नो सुझाव दिने २० जना सदस्यहरुमा अम्विका थापा, उत्तमकुमार बस्नेत, उषाकला राई, जीवन घिमिरे,तुलसीप्रसाद न्यौपाने, पूर्णप्रसाद राई(याम्फु), बलबहादुर साम्सोहाङ, विमल कार्की,वुद्धिकुमार राजभण्डारी, मोहनकुमार खड्का, यशोधा अधिकारी, राजकुमार ओझा,रामबहादुर मगर, रामचन्द्र लिम्वु, लछुमन तिवारी, लिला सुव्वा, लोकप्रसाद सङ्ग्रौला, सन्जाकुमारी दनुवार, सरिता थापा र सावित्री जोशी हुनुहुन्थ्यो ।

प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम माथिको छलफल आजदेखि समाप्त भएको छ ।

यसैगरी शुन्य समयमा बोल्दै विजयकुमार विश्वासले मोरङको गिदनिया – मोतिपुर सडक निर्माणतर्फ सरकारको ध्यानाकर्षण गर्नु भयो ।

प्रदेश सभाको अर्को वैठक जेठ २९ गते दिनको १ वजे वस्ने सभामुख प्रदीपकुमार भण्डारीले सदनलाई जानकारी दिनु भयो ।

प्रतिक्रिया