विराटनगर,२७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्घीयताको सफल कार्यान्वयनका लागि अहिलेदेखि निर्वाचनमा जुट्नु पर्ने बताउनु भएको छ ।
नेकपा एमाले मोरङ जिल्ला कमिटीद्वारा आज यहाँ आयोजित बृहत कार्यकर्ता भेलामा उहाँले जनताको ठूलो त्याग र बलिदानबाट ल्याएको लोकतन्त्र संरक्षण गर्न आगामी निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा ल्याउन कार्यकर्ताहरु अहिलेदेखि परिचालन हुनुपर्नेमा जोड दिनु भयो ।
उहाँले मुलुकको समृद्धि र विकासका लागि एमालेले एक्लै प्रदेश तथा संसदीय निर्वाचनमा अत्याधिक स्थानमा विजय हासिल गर्नुपर्ने आवश्यक्त्ता औल्याउनु भयो ।
पूर्वप्रधानमन्त्री ओली हालै सम्पन्न पालिका निर्वाचनमा पार्टीप्रति विश्वास भएर नागरिकले लोकप्रिय मत असाधारण रुपमा दिएकोमा धन्यवाद समेत दिनु भयो ।
उहाँले नेकपा एमाले आधार भनेको तल्लोस्तरमा वसोवास गर्ने जनमत नै भएको विचार राख्नु भयो ।
संसद विगठन गरी नयाँ जनादेशमा जानका लागि निर्वाचनको मिति तोक्नुलाई प्रतिगमन नभएको उहाँले जिकिर गर्नु भयो ।
अध्यक्ष ओलीले गठबन्धनमा रहेका दलहरु गठबन्धनबाट वाहिरने वित्तिकै निर्वाचनमा धुलोपिठो हुने भएकाले यो आगामी निर्वाचनसम्म कायम रहने धारणा राख्नु भयो ।
प्रतिक्रिया