प्रदेश नं १ प्रदेश सभा वैठक– नीति तथा कार्यक्रम छलफल शुरु

इनेप्लिज २०७९ जेठ २६ गते २२:३७ मा प्रकाशित

विराटनगर,२६ जेठ । प्रदेश नं १ प्रदेश सभाको आजको वैठकमा प्रदेश सरकारका तर्फबाट पेश भएको आर्थिक वर्ष २०७९÷८० वार्षिक नीति तथा कार्यक्रम माथि छलफल शुरु भयो ।

प्रदेश सभा नियावली २०७४ को नियम ३८ ( १) वमोजिम पेश भएको नीति तथा कार्यक्रमको छलफलमा प्रदेश सभा विभिन्न सदस्यहरुले बोल्ने क्रम शुरु भएको छ। प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्व मुख्यमन्त्री भीमप्रसाद आचार्यले नीति तथा कार्यक्रममा ठोस कार्यक्रम नभएको र यो कर्मकाण्डी हिसावले आएकोले सच्याउन सदनको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले कृषि , सडक, शिक्षा, स्वास्थ्य, पर्यटन, वन लगायतका क्षेत्रमा हुने पर्ने विकासमा सम्बन्धमा क्षेत्रगत हिसावले नछुट्याएको धारणा राख्दै भौतिक पूर्वाधारको रुपमा रहेको सडक, सिंचाईको निर्माण विना अन्य विकासका कार्य टिकाउ नहुने भएकोलेले कार्यक्रममा सुधार गर्नुपर्नेमा जोड दिनु भयो ।

पूर्वमुख्यमन्त्री आचार्यले मल, विऊ, सिंचाई, प्रविधि कृषिको मुख्य आधारमा भएकोले यस सम्वन्धमा नीति कार्यक्रममा उल्लेख नभएको चर्चा गर्दै यसले प्रदेशको कृषि उत्पादन २० प्रतिशत कमभै आत्म निर्भर होइन परनिर्भर बनाउने विचार राख्नु भयो ।

उहाँले प्रदेशको नामाकारणका लागि नेकपा एमालेले पूर्व मन्त्री हिक्मतकुमार कार्की सयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको र समिति सबै दलका सदस्यहरुसँग छलफल एवं परामर्श गरी नाम टुङ्गो लगाउन पहल गर्ने जानकारी सदनलाई दिनु भयो ।

छलफलमा भाग लिदै प्रदेश सभा सदस्य उमिता विश्वकर्माले प्रस्तुत नीति कार्यक्रममा कृषि उत्पादनका लागि ।।।एक पालिका एक उत्पादन’ले कृषकलाई सक्षम बनाउने विचार राख्नु भयो ।

जसमाया गजमेरले भ्रष्टाचार नियन्त्रण उल्लेख नभएको चर्चा गर्दै महिला हिंसा, बाल विवाह अन्त्यका लागि सचेतना तथा महिलाहरुलाई आर्थिक आय आर्जन कार्यमा संलग्न गराउनु पर्ने धारणा राख्नु भयो ।

प्रदेश सभा सदस्य धिरेन्द्र शर्माले वार्षिक कार्यक्रममा नगदेबाली उत्पादनमा जोड दिनु पर्ने चर्चा गर्दै स्रोत र साधन अनुसार कार्यक्रम रहेकाले सफल हुने विचार राख्नु भयो ।

नारायणबहादुर मगरले ताप्लेजुङ्गमा ओझलमा रहेको फुनफाने झरना, पाथीभरा मन्दिर लगायतका धार्मिक पर्यटकीय क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनु भयो ।

बसन्तीदेवी यादवले कृषकलाई सहज रुपमा मल र विऊ उपलव्ध गराउने सम्वन्धमा कार्यक्रममा उल्लेख नभएको बताउदै सबैलाई मान्य हुने प्रदेशको नामका लागि विराट,सगरमाथा वा कोशी राख्नु पर्ने सुझाव दिनु भयो ।

प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले सबै जातजातिका गरीवीका रेखामुनी रहेका नागरिकहरुको पहिचान गरी प्रमाणपत्र दिनु पर्ने सुझाव दिदै इ रिक्सा सञ्चालनका लागि पालिकालाई सवारी चालक अनुमति वितरणको अधिकार दिनु पर्ने बताउनु भयो ।

सूयर्मा राज राईले प्रस्तुत नीति कार्यक्रमले विकास र समृद्धको आधार तह हुने विचार राख्दै विगतको सरकारको कार्यक्रमलाई निरन्तरता दिनु यो सरकारको उदारता रहेको धारणा राख्नु भयो।

प्रदेश सदस्य हिराकुमार थापाले राष्ट्रिय आम्दानीको प्रमुख स्रोतको रुपमा रहेको कृषि क्षेत्र उपेक्षित रहेको बताउँदै कृषि उत्पादनको आधारमा अनुदानको व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

शुन्य समय
राजकुमार ओझाले सरकारले प्रतिपक्ष सदस्यहरुसँग योजना माग नगरेको भन्दै नीति कार्यक्रममा प्रदेशको नामाकरणका सम्वन्धमा उल्लेख नगरेकोले सच्याउनु पर्ने धारणा राख्नु भयो ।

प्रदेश सभाको अर्को वैठक जेठ २७ गते दिनका ११ः३० बजे वस्ने सभामुख प्रदीपकुमार भण्डारीले सदनलाई जानकारी दिनु भयो ।

प्रतिक्रिया