आइतबार, असार १२ २०७९
काठमाडौं २२:५८
वासिङटन डिसी 13:13

…अनि मेरो लभ परेन

नवीन रायमाझी २०७९ जेठ २४ गते २२:१४ मा प्रकाशित

सिनेमाको गीतमा नायक र नायिका विपरीत दिशाबाट दौडिँदै आए र नायकले नायिकालाई जुरुक्क बोक्यो। नायिकाले नायकको निधारमा चुम्बन गरेपछि नायकले पनि नायिकालाई दुई तीन पटक लगातार चुम्बन गरिरह्यो।

बाल्यकालमा जमल स्थित विश्वज्योति सिनेमा हलको ‘थर्ड क्लास’ मा बसेर हेरेको त्यो कुन सिनेमा थियो, मलाई त्यति हेक्का छैन तर सँगै सिनेमा हेरिरहेको र आफूलाई कामदेवको अवतार ठान्ने मेरो बालसखा (यो आलेखमा उसको नाम कमल भनेको छु) त्यो रोमान्टिक दृश्य देखेर यति उत्तेजित भयो कि सँगै बसेको मलाई नै चुम्बन गरिदियो। एकछिन त मलाई कसले के गर्यो भन्ने होशै भएन तर जब कुरा बुझेँ तब निकै लाज लाग्यो। अन्धकार भए पनि पछाडि बसिरहेका केही मान्छे त्यो घटना देखेर हाँसिरहेका थिए।

कमलसँग यस्तै निकै रोचक घटनाहरू जोडिएको छ। प्राय: सबै घटनाविपरीत लिङ्गीसँग हुने प्रेम प्रसङ्गसँग सम्बन्धित छ। हामी पढ्ने काठमाडौँको लैनचौर स्कुलमा सँगसँगै दुईवटा स्कुल थिए। एउटा छात्रहरूको र अर्को छात्राहरूको, छात्राहरूको स्कुलमा छात्र पस्न त के, यसो चिहाउन सम्म पनि पाइन्थेन। हाल ती दुवै स्कुल सहशिक्षा भएका छन्।

फर्कौं पुरानै प्रसङ्गमा। हाम्रो स्कुलका सबै छात्रले उतापट्टि स्कुलका एउटा–एउटा छात्रालाई आफ्ना लागि छानेका हुन्थे। उनीहरूले हामीलाई छान्ने काम गर्थे वा गर्थेनन् त्यो मलाई थाहा हुने कुरा भएन।

सबैको एउटा–एउटा र मेरो एउटा पनि एकतर्फी प्रेमिकासम्म नहुँदा कमलको भने सधैँ दुई वा दुईभन्दा बढी हुन्थे। उनीहरूबाट प्राप्त प्रेमपत्रहरू पढेर सुन्दा म डाहाले मर्थेँ। उसको त्यस्तो भाग्यको रिस गर्दै घर आएर घण्टौँ ऐना हेर्दा आफूलाई हिन्दी सिनेमाको कुनै पनि समकालीन नायक भन्दा कम लाग्दैनथ्यो।

सबैलाई हरेक दिन जस्तो प्रेमपत्र आउँदा मलाई भने एउटा पनि नआएकोमा हिन भावनाले ग्रस्त भइएला भन्ने डरले सधैँ सताउथ्यो। मनमनै डर लागेर भन्ठान्थेँ– हे भगवान म मात्र कस्तो गए गुज्रेको रहेछु ।

कमलसँग हिन्दी भाषामा लेखिएको एउटा किताब थियो– ‘लड्की पटाने के सौ तरिके’ अर्थात् ठिटीलाई प्रभावित गर्ने सय उपाय। यो किताबमा क्रमैसँग के–के उपाय अबलम्बन गरे भने सजिलै ठिटीहरूलाई प्रभावित गर्न सकिन्छ भनेर लेखिएको थियो।

वास्तवमा यो किताब कमलका ट्याक्सी ड्राइभर पिताले ‘शोले’ सिनेमा हेर्न रक्सौल जाँदा किनेर ल्याएका थिए। आफ्नो जोबन ढलेकी र कम रूप–रङ्गकी श्रीमतीसँग वाक्क कमलका पिता त्यो किताब बडो तन्मय का साथ अध्यन गर्थे। त्यसमा लेखिएका उपाय वास्तविक जीवनमा पनि अवलम्वन गर्न खोज्थे तर अपसोच उनले कुनै रूपवती युवतीलाई प्रभावित गर्न त सकेनन् तर यो तरिकाले उसलाई विभिन्न युवतीहरूको दुई–चार चप्पल खाने ‘अवसर’ भने प्राप्त भयो।

युवती प्रभावित गर्न नसक्ने विचार ‘गिभ अप’ गरेपछि कमलले त्यो किताब उम्काएको थियो। कमलले त्यो किताबलाई बडो जतनसाथ आफूसँग राखेको थियो। कक्षा चलेको बेलामा पनि पढिरहन्थ्यो। आफूले उक्त किताब पढेर हाल भएकाभन्दा सुन्दर युवतीसँग प्रेम सुरु भएपछि मलाई पनि पढ्न दिने वचन दिएको थियो तर एक दिन हाम्रो अत्यन्तै अनुशासनप्रिय प्रधान अध्यापक दमन सर (स्व. दमनप्रसाद आचार्य) को छड्के जाँचमा परेर त्यो किताब जफत भएपछि कमलको मात्र नभई मेरो पनि सुन्दर युवतीलाई प्रभावित गरेर माथि उल्लेख गरिएको सिनेमाका नायक र नायिकाले गरेकोजस्तो दौडिँदै आएर एक अर्कालाई चुम्बन गर्ने सपना त्यतिकै तुहियो।

कमसेकम उसले त त्यो किताबको केही अध्याय पढ्न पायो। मैले त हेरेर कल्पिने काम मात्र भयो। धेरै पछिसम्म पनि कमल आफ्नो त्यस्तो बहुमूल्य किताब खोसेकोमा दमन सरसँग रुष्ट थियो। बेला बेलामा उसले सरलाई आम़ाचकारी गाली गर्थ्यो। त्यो किताब पढेर “लड्की फटाउने” खुशी र दुइ वा दुइ भन्दा बढी “लड्की” लाई “पटाउन” सकिएको खण्डमा कसरी ब्यबस्थापन गर्ने भनेर भएको तनाब एकैपटक खत्तम भयो।

त्यो समयमा मैले सम्झेको सम्भवत: सबैभन्दा ठूलो सल्लाहकार कमलले एक दिन मलाई आफूसँग मोटरसाइकल भयो भने तुरुन्तै आकर्षक युवतीहरूलाई प्रभावित गर्न सकिने गुप्त र मूल्यवान कुरा भन्यो। कुरा त ठीकै हो तर एउटा थोत्रो एट्लस साइकल किन्ने समेत आर्थिक हैसियत नभएको म जस्तो निर्धन व्यक्तिले मोटर साइकल किनेर चढ्ने र आकर्षक युवतीलाई सीट पछाडि राखेर दौडाउने कुरा वास्तविक जीवनमा त के, कल्पना गर्नसमेत एकपटक सोच्नुपर्ने अवस्था थियो।

यो उपाय पनि कार्यान्वन भन्दा पहिले नै असफल भएपछि कमलकै सल्लाहमा अरुको भाकाबाट आफैँले प्रेमपत्र लेखेर अन्य साथीहरूलाई सुनाउने टुङ्गो लाग्यो।

त्यो बेलामा पल्लो स्कुलमा पढ्ने सबै भन्दा राम्री केटीको भाकाबाट नक्कली प्रेमपत्र लेखेर अरु साथीभाइलाई देखाउने काम त भयो। सबै डाहाले भुतुक्क भए– अहो यसको भाग्य शैलीमा ।

अरुले जति इर्श्या गरे पनि त्यो प्रेमपत्रको रहस्य त कि आफूलाई थाहा थियो कि त कमललाई। प्रेमपत्रको वास्तविकता अरुले थाहा पाए भने सगरमाथा जस्तै चुलिएको मात्र नभई बचे खुचेको इज्जत पनि गुम्ने डर लागिरहेकै अवस्थामा कमलले चिया पसलमा लगेर हलुवा–पाउरोटीको भोज नगर्ने हो भने त्यो रहस्य खोलिदिने धम्की दिन थाल्यो। अर्थात्, एक किसिमको ‘ब्ल्याक मेलिङ’ नै गर्न थाल्यो।

उसलाई हलुवा–पाउरोटी खान नदिने हो भने आफ्नो इज्जत माटोमा मिल्ने डर ! खान दिने हो भने पैसा कताबाट ल्याउने भन्ने समस्या ! आजकाल जस्तो ‘पकेट मनी’ भनेर हामीलाई घरबाट त्यतिबेला एक सुका पनि दिने चलन थिएन। बल्ल–बल्ल दशैँमा टीका लगाउँदा पाएको र आमा बुवाको आँखामा छारो हालेर लुकाएको अलिकति दक्षिणाले केही दिनको समस्या टर्‍यो। त्यसलगत्तै स्कुलको वार्षिक बिदा भयो। समस्या आयो गयो।

दुई महिनापछि स्कुल खुलेपछि पनि उसले मलाई प्रेमपत्रको रहस्य खोलिदिने धम्की दिँदै थियो तर अचानक मैले पनि उसले लेखेको सबै प्रेमपत्र नक्कली भएको थाहा पाएपछि एकले अर्काको रहस्य नखोल्ने र मैले त्यो दिनसम्म उसको लागि खर्च गरेको ३५ रुपियाँ फिर्ता गर्ने शर्तमा ‘तैं चूप मै चूप’ भइयो।

स्कुल पढ्दा सम्म कमलको सहयोगमा युवती प्रभावित गर्ने यस्ता बकम्फुसे र असफल प्रयासहरू जारी नै थिए तर पनि हामी दुवैले कुनै युवतीलाई प्रभावित गर्न सकेनौँ। यो कुरा बेग्लै हो कि उसको एकै समय कमसेकम पाँच जनासँग समानान्तर रूपमा एकतर्फी प्रेम चलिरहेकै थियो।

उसले जस–जसलाई आफ्नो प्रेम चलेको कुरा गर्थ्यो, त्यो युवतीसँग किन कुरा नगरेको भनेर सोध्यो भने अहिले बाटोमा बोलेको थाहा पायो भने उसको घरमा गाली गर्छन् भनेर टार्थ्यो। उसको कुरा सुनेपछि आफ्नो मित्रको त्यो महान विचार सुन्दा मलाई कमलजस्तो उच्च विचार भएको मान्छेसँग सङ्गत गर्न पाउनु नै अहोभाग्य जस्तो लाग्थ्यो तर मलाई के थाहा, त्यो सबै प्रसङ्ग हावादारी थियो भन्ने कुरा।

म त त्यो बेला उसको कुरालाई आँखा चिम्लेर विश्वास गर्थें। अनेकौँ प्रयासका बाबजुद पनि मैले कुनै युवतीलाई प्रभावित गर्न सकिनँ। समय बित्दै गयो। पछि हाम्रो स्कुले जीवन सकियो।

फलानो को ढिस्कानो सँग ‘लभ” पर्यो वा तिलानो ले चिलानो लाई “साइड” हानेको छ भन्ने खुब सुन्न मा आउँथ्यो तर मलाई लभ गर्ने र साइड हान्ने बिषय को प्राबिधिक पक्ष को बारेमा ज्ञान थिएन. अरुको कुरा सुनेर यसै रमाउने र सुन्दर महिला हरुसँग उनीहरुको काल्पनीक प्रेम प्रसँगको बिषयमा डाहा गर्नु मेरो अनिवार्य कार्य जस्तै भएको थियो जसको कुनै लाभ भएन.

स्कुले जिबन पछि मेरै टोलमा एउटी सुन्दरी युवती डेरा सरेर परिवार सहित आएकी थिइन्, उनि सँग मेरो अलिअलि बोलचाल पनि सुरु भएको थियो/ त्यसैक्रम मा एकदिन मैले “फिल्मी स्टाइल” मा रातो गुलाफ को फुल पनि दिएको थिए र उनले पनि लिएकी थिइन् , तर अपसोच यो दृश उसको बाउले पनि देखेछ र पुरै फिल्म सुपर फ्लप भयो अर्थात उनीहरु तुरुन्तै डेरा सरेर अज्ञात स्थल तर्फ लागे।

कलेज पढ्दा केही सँग “डेटिङ्ग” जुरेको थियो तर म जस्तो बिपन्न ले एक रुपियाँ को पोस्ट कार्ड किन्न नसक्दा त्यस्ता “डेटिङ्ग” गर्भ मै तुहियो र सम्भावित “गर्ल फ्रेन्ड” हरु “ममी” अर्थात् महिला मित्र मा सिमित हुन् पुगे. अर्थात त्यस्तो अनुभवी मित्रको साथ सहयोग हुँदाहुँदै पनि मेरो कसैसँग लभ परेन।

-नवीन रायमाझी

प्रतिक्रिया