सङ्घीयतामा विकास वजेट दामासाहीले बाँडफाँड हुने गरेको– मुख्यमन्त्री राई

मनोज दाहाल २०७९ जेठ २४ गते २१:५९ मा प्रकाशित

 

मोरब,२४ जेठ (रासस):प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सङ्घीयतामा प्रदेश सरकारले विकास बजेट सबै क्षेत्रमा दामासाही रुपमा बाँडफाँड हुने गरेको बताउनु भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदका कार्यालय र प्रदेश प्रशिक्षण केन्द्र कलवलगुढी झापाद्वारा आज यहाँ आयोजित सङ्घीयता कार्यान्वयनका सन्दर्भमा अन्तरतह समन्वय विषयमा छलफल र अन्तरक्रियाका समानुपातिक रुपमा बजेट वितरण गरेको कारण आज दुर्गम क्षेत्रमा विकासको अनुभूति जनताले गरेको धारणा राख्नु भयो ।

उहाँले एकात्मक राज्य प्रणालीमा विकास निर्माण एक ठाउँमा केन्द्रीत हुने गरेको चर्चा गर्दै सङ्घीयतामा विकासलाई विकेन्द्रीकरण गर्न प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, कृषि एवं पूर्वाधार निर्माण जस्ता कार्यलाई सम्पूर्ण भुगोलमा सन्तुलन रुपमा वितरण गरेको धारणा राख्नु भयो ।

मुख्यमन्त्री राईले आगामी प्रदेश सरकारको वजेट मन्त्री र कर्मचारीहरुले बन्द कोठाभित्र होइन जनता र उनीहरुले टेकेको भुगोलमा चाहिने आवश्यक्त्तालाई ध्यानमा राखी १४ जिल्लाका जनप्रतिनिधि, किसान, उद्योगी, पर्यटन व्यवसायीहरुसँग छलफल गरी सम्वोधन गर्ने जानकारी दिनु भयो ।

उहाँले लोकतन्त्र बलियो बनाउन जनताले योजना छान्नु पर्छ र मन्त्री तथा कर्मचारीरुले ती विकासका कार्यहरुलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भयो ।
प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले स्थानीय तहलाई सरकार भएको अनुमूति गराउनु पर्ने विचार राख्नु भयो ।

उहाँले तीन तहको सरकारलाई सदृढ गरी सङ्घीयता बलियो बताउन पर्नेमा जोड दिनु भयो ।

आर्थिक मामिला तथा योजना योजना मन्त्री इन्द्रबहादुर आबवोले प्रदेश सरकारले बजेट वितरणमा पूर्वाग्रह नराख्ने प्रतिवद्धता व्यक्त्त गर्दै पूर्वाधार निर्माण, कृषि, पर्यटनक्षेत्रमा स्थानीय पालिकासँग सहकार्य गर्ने विश्वास दिलाउनु भयो ।

उहाँले सङ्घीयताले जनताको आजको आवश्यक्त्ता सम्वोधन गर्ने विचार राख्दै जनतालाई सहज र सरल रुपमा सेवा प्रवाह गर्नु पर्नेमा जोड दिनु भयो ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले सार्वजनिक वित्तिय व्यवस्थापन विषयक कार्यपत्र प्रस्तुत गर्दै प्रदेश सरकारले वार्षिक रु चार अर्व राजश्व संकलन हुने गरेको जानकारी दिदै पालिकाले उठाउने राजश्व समयमा प्रदेश समक्ष पठाउन आग्रह गर्नु भयो ।

राष्ट्रिय सभाका सदस्य खिमलाल देवकोटाले स्थानीय शासन, वित्तीय सङ्घीयता, अन्तर तह समन्वय, बजेट तर्जुमा र स्थानीय तहका असल अभ्यास,पूर्व सचिव पूर्णचन्द्र भट्टराईले अन्तर तह

समन्वय : चुनौति र समाधान र योजना आयोगका पूर्व उपाध्यक्ष पिताम्वर शर्माले सङ्घीयता र नेपालको सविधान–२०७२ कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा सहभागी प्रदेशका प्रमुख, उपप्रमुख ,अध्यक्ष र उपाध्यक्षले हिमाली क्षेत्रमा राजमार्गको निर्माण हुनुपर्ने, पालिकामा सरकारको काम कारवाही सेवा मुखी हुनुपर्छ,प्रदेश सरकारबाट सञ्चालित योजनाहरु सम्वन्धित पालिकामा जानकारी हुनुपर्ने , विकास निर्माणका कार्य सुनसरी, मोरब र झापा केन्द्रीत हुने कार्य आगामी दिनमा हटाउनु पर्ने , प्रदेश प्रहरी, प्रदेश परिवाहन सञ्चालन गर्नु पर्ने जस्ता सुझावलाई आगामी बजेटमा समावेश गर्नुपर्ने धारणा राख्नु भयो ।

अन्तरक्रियामा प्रदेशका १४ जिल्लाका १३७ पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष ,उपाध्यक्षहरुको सहभागिता रहेको छ।

मनोज दाहाल

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया