मोहम्मद सदरुल,विराटनगर-२४ जेठ (रासस) : मोरङका नवनिर्वाचित स्थानीय तहका उपप्रमुखहरुले स्थानीय तहमा शान्ति सुरक्षाको स्थितिलाई बलियो बनाउन मदिरा पसल पूर्ण रुपमा बन्द गर्नु सुझाएकी छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङद्वारा आज यहाँ आयोजित पालिकाका नवनिर्वाचित उपप्रमुख तथा उपाध्यक्षहरुलाई स्वागत सम्मान कार्यक्रममा उहाँहरुले सो धारणा राखेका हुन ।
स्थानीय तहमा न्यायिक समितिको समेत संयोजकको भूमिका निर्वाह गर्नु पर्ने जिम्मेवारी रहने उपप्रमुख वा उपाध्यक्षहरुले कानूनको ज्ञानको अभावमा कुन मुद्दा दर्ता गर्ने र कुन नगर्ने अन्यौलमा रहेको जानकारी दिनुभयो । उहाँहरुले केही दिन भएपनि हामीलाई सरकारले कानूनसम्बन्धमा आवश्यक प्रशिक्षण दिनु पर्ने माग सहित विकास निर्माण वा बजेट बाँडफाँडमा उपप्रमुख र उपाध्यक्षहरुको पनि जिम्मेवारी रहनु पर्ने आवश्यकता औँल्याउनु भयो । उहाँहरुले जनताबाट निर्वाचित हुँदा गरेको कबुल र प्रतिवद्धता पूरा गर्न बजेट विना गर्न नसकिने भएकाले हामी उपप्रमुख वा उपाध्यक्षहरुले अनुगमन गर्ने, कागजपत्रमा हस्ताक्षर मात्र गर्ने भूमिका रहँदा समस्या आउने टिप्पणी गर्नुभएको थियो ।
सो अवसरमा जहदा गाउँपालिका उपाध्यक्ष हनना सोरेन, रंगेली नगरपालिका उपप्रमुख भूमाकुमारी पराजुली, मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दिनेश पौडैल, सुनवर्षी नगरपालिकाका उपप्रमुख मीरादेवी दास केवरत, लेटाङ नगरपालिकाका उपप्रमुख कृष्णाकुमारी पोखरेल र उर्लाबारी नगरपाकिका प्रमुख मीनाकुमारी खतिवडाले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जनप्रतिनिधि र प्रहरी एवं प्रशासनले पारस्परिक समन्वय गरेर आगाडि बढ्न सके जनता लाभान्वित हुने भन्दै जनप्रतिनिधिहरुले जनताका काम अभिरुचिका साथ काम गर्न सकेमा जनप्रतिनिधिप्रति जनताको अनादर नहुने कुरामा जोड दिनुभयो ।
।
प्रतिक्रिया