काठमाडौँ,
टुक्का साहित्य समाजकाे आयाेजनामा यही २०७९ जेठ १७ गते “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-३०” सम्पन्न भएकाे छ।
प्रशिक्षक अनिल खग्रासकाे संयाेजनमा सञ्चालित उक्त अभ्यासमा नेपाल भारत लगायत विश्वका विभिन्न देशहरूबाट २७ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे ।
छन्दमा टुक्का अभ्यास श्रृङ्खला विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकास गरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ टुक्का साहित्य समाजका संस्थापक अध्यक्ष ताराप्रसाद चापागाईंकाे परिकल्पनामा प्रारम्भ भएकाे थियाे ।
यस श्रृङ्खलाका सहभागीहरूले लाेक छन्द अन्तर्गत तिजे भाकामा टुक्काहरू सिर्जना गरेका थिए।
विशेषगरी चेलीबेटीहरू तिजमा जम्मा भइ आआफ्ना दुःखपीडा, खुसी गीतमार्फत पोखेर छुट्टै संसारमा रमाउने गर्दछन् त्यही भाकालाई तिजे भाका भनिन्छ। आधुनिकताकाे चपेटामा परेर लाेक संस्कृतिकाे रुपमा रहेकाे तिजे भाका हाल लाेप हुँदै गएकाे अवस्थामा प्रयाेगवादी लघुत्तम काव्यिक विधा टुक्का कवितामा यसकाे प्रयाेग गर्दै नेपाली लाेक संस्कृतिकाे जगेर्ना गर्न खाेजिएकाे हाे ।
कार्यक्रमकाे समापन गर्दै संस्थापक अध्यक्ष चापागाईं तथा संयाेजक/ प्रशिक्षक खग्रासले लाेक संस्कृतिकाे रुपमा रहेकाे तिजे भाका हराउँदै गएता पनि त्यही शैलीमा प्रयाेगवादी नव काव्यिक विधा टुक्का कवितामा यसकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि संस्कृतिलाई जाेगाउने प्रयास गरिएकाे र उत्साहपूर्वक तिजे भाका लाेक छन्दमा सुन्दर टुक्काहरू सिर्जना गरिएकाेमा सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।
आक्षरिक छन्द अर्थात लाेक छन्द अन्तर्गतको तिजे भाका छन्द
~ यस छन्दमा अक्षरको गन्ती हुन्छ।
~ आकार,इकार,उकार लागेका सबैलाई १ अक्षर गनिन्छ।
~ आधा अर्थात काटिएका अक्षर गन्ती हुँदैनन्।
~ यस छन्दमा विभिन्न स्थानहरूमा फरक फरक शैलीका तिजे भाकाहरू भएता पनि याे श्रृङ्खलामा १७ अक्षरका तिजे भाकामा टुक्का कविताहरू अभ्यास गरिएकाे थियाे।
~ सूत्र: ४+३+४+३+३ = १७ अक्षर ।
अभ्यासकाे क्रममा सङ्कलन गरिएका तिजे भाका (लाेक छन्द) का केही टुक्का कविताहरू
[१]
घर छोडी माइत जानुहुन्न अचेल मुरारी,
बाबाआमा नहुँदा राज्य गर्ने त्यहाँ छिन् बुहारी ।
भगवती दवाडी
दमक, झापा
[२]
आयो तिज भनेर रमाउँदै कम्मर भाचियो,
मिठो भाका गाएर छमछम उफ्रदै नाचियो।
अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा हाल मलेसिया
[३]
१.
वर्षामास पानीको थाहा छैन बर्सिने खेतमा
दुःख सुख जोतेर सकेपछि पोखौँला भेटमा।
२.
न त मोल दिनेछ न बिउको व्यवस्था गरौँला,
सरकार छ भन्ने आभास नै हुँदैन भनौँला।
सुरेशकुमार पान्डे
दाङ घोराही १८
[४]
१.
जीवनमा के गर्छौ सधैँभरी माइत बसेर,
सोचि हाल बेलैमा आँट गर कमर कसेर।
२.
सौभाग्यको तिजमा व्रत लिने नुहाई हर्षले,
उपासना गरेर पूजा आदि गरेर स्पर्शले।
३.
तिजे भाका गाएर खुसीसँग मनग्यै रमाऊ,
छम छम नाचेर हातै हात बेसरी समाऊ।
अच्युत घिमिरे
भुटान बाट
[५]
१.
खोला तरी आउँछु म त आफ्नो माइती गाउँमा,
प्राण भन्दा प्यारो त्यो जन्मिएको सुन्दर ठाउँमा ।
२.
हाँसीखुसी भएर नाचगान गरौँ है रमेर,
नरमाई बसियो भने बस्छ फोहोर जमेर ।
डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा. -६, दोलखा ।
[६]
१.
कुनै बेला पीडाले सताउथ्यो बोल्न नि नपाई
धुरुधुरु बेसरी रुन पर्थ्यो टाउको समाई ।
२.
मेलापात गएर घाँस पनि काटेर आइयो
कस्तो हुन्छ दुखेसो बल्ल थाहा यसरी पाइयो ।
३.
मनलाई बलियो बनाउन नबस गम्केर
कर्मलाई अब त दोष दिन्न अतित सम्झेर ।
प्रेम थापा “मन”
बागलुङ
[७]
१.
दु:ख सुख माइत गएर नै पोखौँला सोचेको,
सासूज्युले नदिन जानलाई शब्दले घोचेको ।
२.
बाआमाको काखमा लुटुपुटु गरौँला भनेर
पर्खी बस्छु माइती जाने दिन औँलामा गनेर ।
३.
प्यारो हुन्छ माइती सबलाई जन्मेको ठाउँमा
सोध्नु हुन्छ श्रीमान कतिञ्जेल बस्ने हो गाउँमा ।
राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ, हाल- प्रवास
[८]
१.
तिम्रै याद आउँछ आमा, तिज आउने बेलामा,
साह्रै लाग्छ नियाँस्रो हेर, रुन्छु एकान्त मेलामा ।
२.
काम गर्यो पाउन्न जस, खालि निकाल्ने खराबी,
भाग्यै खोटो परेछ आमा, लोग्ने भैदियो सराबी ।
३.
दु:ख पोख्न माइत जाऊ, सुन्ने मान्छेको खडेरी,
सधैँ कालो बादल कठै, हुन्छ मनमा अधेरी ।
वसन्त अनुभव
घोराही, दाङ
[९]
१.
निधारमा टीका छ सुहाउँदो सिन्दुर शिरमा,
आउँदैछु आमा म छिटो अब नबस्नु पिरमा।
२.
कोरिसकें कपाल साडीचोली आँचल फरर,
हावाचल्यो हरर गाडी चडी आउँछु सरर।
३.
आमा छोरी नाचौला भाँचीभाँची कम्मर घुमेर,
खाउँला नि साँझमा हाँसिहाँसि रोदन चुमेर।
होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[१०]
दुःख सबै भुलेर हासौं गाऔं तीजमा रमाई,
उठौं जागौं नारी हो अघि बढौं लौ हात समाई।
अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।
[११]
१.
घर लिप्दै सजाई स्वर्ग जस्ताे सुन्दर बनाएँ
आफ्नाे सबै कर्तव्य पूरा गरि दायित्व जनाएँ ।
२.
मिलिबसाैँ घरमा आफ्नाे आफ्नाे कर्तव्य निभाई
स्वर्ग आफ्नै घरमा हुन्छ खाेज्नु पर्दैन नि धाइ ।
ताराप्रसाद चापागाईं
धुनिबेसी हाल प्रवास
[१२]
१.
आएँ आमा दौडेर वर्षभरि बसेथें सम्झेर,
कहाउने गथासो पोको पारी आएछु बोकेर।
२.
सासुआमा बिरामी जान्छु म त भोलिको बिहान,
छोरा जस्तै मेरो नि कर्तव्य हो कुलको सम्मान।
म्यामराज राई
हतुवागढी-६,होम्ताङ्,भोजपुर,हा
[१३]
१.
राम्रो लाग्छ मलाई पहाडमा गुराँस फूलेको
उस्तै राम्रो लाग्दछ तराईमा फसल झुलेको ।
२.
बटुकीमा राखेको त्यो दुध खायो बिरालीले
आँसु मेरो झरेकै हो पीडा पायो सिरानीले ।
गुणनिधी घिमिरे
माेरङ्ग हाल अमेरिका
[१४]
१.
घरबार स्याहारी, सफलता तिमीले छाउनु,
बाहिरको काममा, अग्रसर अवश्य पाउनु ।
२.
परिवार मिलाई, आउनुछ चन्द्रमा छोएर ,
बदलिँदो समय, चलाउनु नबस रोएर ।
३.
दिदीबैनी आँटिला, आमाछोरी जोशिला धाएका,
भन्छन् गर्छौँ सहजै, जुनसुकै काम त पाएका ।
जमुना आचार्य
सिन्धुपाल्चोक
[१५]
१.
तिज आयो माइती जानलाई तयार हुँदैछु
माइतीको सम्झना आयो घरै बसेर रुँदैछु ।
२.
आँसु झर्छ माइती सम्झिएर बिहानै उठेर
खानुपर्छ तिजमा बासीभात घरमा भुटेर ।
३.
बर्खा झरी चिप्लो छ बाटो सम्झी दिक्दारी भएर
वर्ष दिन सम्झना खानुपर्ला माइत गएर ।
अम्विका अधिकारी
झापा विर्तामोड
[१६]
१.
मन जित्न अरुको मनोविज्ञ भएर आइयो,
खानपान सबका इच्छाहरू बुझेरै ल्याइयो।
२.
कति कति हण्डर चेलीहरू सहेर आएका,
कत्तिपनि नपढी अनुभव सिकाइ पाएका ।
मनोहरी पौडेल
गैडाकोट १
[१७]
१.
साथी सँगी सम्झेर आएको छु माइती घरमा,
पकाउदै खाने हो मिठो दर ,बाबाको भरमा ।
२.
बाआमाको घरको आगनीमा हुर्केको बढेको ,
धेरै याद आउछ साथी सँगी म स्कुल पढेको ।
बुद्धिमान दनुवार
कनकाई नगरपालिका ४ झापा
[१८]
१.
चेली सबै जुटेर नाचगान गर्नु छ यो पाली
तिज पर्व मानेर संस्कार र संस्कृति उचाली।
२.
सधैँभरि खुम्चेर घरभित्र बसेर हुँदैन
सबैजना नाचिन्छ छमछम ठाँगेले छुँदैन।
रामशरण न्यौपाने
भक्तपुर
[१९]
यो तिजमा माइत नजा भनिन् ती मेरी सासूले
आमालाई सम्झिदा यी परेली भिजेछन् आँसुले ।
तारा घिमिरे
सङ्खुुवासभा
[२०]
१.
छोरी राम्रो उनैको त्यो लजालु बानीले देखायो ,
भाग्य आफ्नै कर्ममा आउनेछ भनेर लेखायो ।
२.
माइतीमा जसरी कहाँ हुन्छ अर्काको घरमा ,
जन्मिएको त्यो घर बिर्सिएर अर्कैको करमा ।
बेदु न्यौपाने
काठमाडौ
[२१]
मीठो खाने देखिने तन्नेरीझैँ रहर हरायो ,
निष्ठुरीले छेकेर बाटाे किन कहर गरायो ।
रामकृष्ण दुवाडी
पाेखरा ।
[२२]
१.
दु:खै दुःख मनमा बुढालाई छोडेर घरमा,
बुढाबुढी बाआमा भेट्न आएँ आशा र भरमा।
२.
बैँस गयो कुरेर माईतीमै बसेर बिताएँ
अब बिहे गर्ने हो भन्नेकुरा मनमा चिताएँ ।
सहयात्री शाेभा अर्याल
बुटवल
[२३]
१.
पिरलो नै छ मेरो नरित्तिने यहाँ त कहिले,
व्यर्थमा पो मायानै गरेछु नि नहेरि पहिले ।
२.
आमा हुँदा सधैँ नै बेालाउने गर्थिन मलाई
सोध्ने सधैँ गर्दथिन् के के मिठाे लाग्छ है तँलाई ।
पवन कुमार बुढाथेाकी
काठमाडौं
[२४]
उज्यालोमा सूर्यको छ सहारा चहिन्न जुनको,
खोसे पनि मुस्कान हँसिलो छ मुस्कान उनको ।
एवाइ प्रभात
धनकुटा, हाल मोरङ
[२५]
१.
तिमीलाई छाडेर कतैपनि जादिनँ भन्नेले,
कहाँ सक्छ बस्न र कमिसन को पैसा गन्नेले।
२.
दर खाए सबैको झुपडीमा मैले त खाइनँ,
सबजना नाच्दैछन् मैलेमात्र नाच्ननी पाइनँ।
३.
माइतीले पनि त चेलीलाई वास्ता नै गरेनन्,
यो घुस्याहा पोईले पठाउन अगाडि सरेनन्।
मल्ल लक्ष्मी श्रेष्ट
बिर्तामोड झापा
[२६]
दर खान दिएको रुपैयाँ जाडमा सिध्यायौ ,
कहाँबाट खोजेर ल्याउनु खै ढुकुटी रित्यायौ ।
टिकाराम पुन टिपु
सल्यान छत्रेश्वरी २
[२७]
लुगाफाटो सामान्य भए हुन्छ भो खर्च नगराैँ,
तिलहरी सुनले गला ढाकी ऋणमा नपराैँ ।।
रामप्रसाद पुरी
बादेल, खाेटाङ ।
>> जय टुक्का! जय साहित्य!! <<
प्रतिक्रिया