आयातमुखी अर्थतन्त्र सुधारमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण–मन्त्री बडु

इनेप्लिज २०७९ जेठ २१ गते १७:३० मा प्रकाशित

विराटनगर,२१ जेठ । उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले आयातमुखी अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताउनुभएको छ।

उद्योग संगठन मोरंगको ४९ औं बार्षिको साधारण सभाको आज उद्घाटन गर्दै उहाँले खाद्यान्न लगायत अन्य सामान आयातमा रहेको परनिर्भरता हटाउन र व्यापार सन्तुलन कायम गर्न निजी क्षेत्रले कृषि लगायत औद्योगिक उत्पादन वृद्धि गर्नु पर्नेमा जोड दिनु भयो ।

मन्त्री बडुले वर्तमान सरकार निजी क्षेत्रको सहयोगका लागि लागि आर्थिक एवं मौद्रिक नितिमा सुधार गर्न तयार रहेको बताउदै उद्यामीहरुको सङ्घसंस्थाहरुको सुझाव अनुसार सरकारले यस बर्षको बजेटमा भूमि, उर्जा , निर्यात उद्योगमा सहुलियतको व्यवस्था गरेको जानकारी गराउनु भयो ।

उहाँले सरकार मुलकमा उद्योग, उद्यमी र उत्पादनलाई वृद्धि गर्ने लक्ष्यलाई साथ दिन तयार रहेको छ भन्दै उत्पादन वृद्धि, रोजगारी, निकासी योग्य गुणस्तरीय वस्तु उत्पादनमा निजी क्षेत्रलाई सरकारले सहयोग गर्ने धारणा राख्नु भयो ।

मन्त्री बडुले मोरबको कटहरीमा जग्गा मुआव्जा समाधान गरि मालवाहक रेल्वे सञ्चालन गर्नुपर्न पर्नेमा जोड दिदै यसले नेपालको वार्षिक अर्बो रकमको वचत हुने बताउनु भयो ।

उहाँले सरकारले सुनसरी जिल्लाको बर्जु गाउँपालिकामा रहेको ६५० विगाहा जग्गामा औद्योगिक जोन निर्माण गर्ने बजेटमा उल्लेख भएको चर्चा गर्दै यसबाट यस क्षेत्रका निर्यातमुलक उद्योग स्थापना भै रोजगारी वृद्धि हुनका साथै आर्थिक चलायमान हुने विश्वास व्यक्त्त गर्नु भयो ।

प्रदेश नं १ का उद्योग,,श्रम तथा रोजगारी मन्त्री प्रताप प्रकाश हाबगामले ५६२ विगाहा क्षेत्रफलमा रहेको विराटनगर जुट मिल सञ्चालन गर्न पहल शुरु गरेको जानकारी दिदै यसबाट मुलुकले विदेशी मुद्रा आर्जनमा मद्दत पुग्ने धारणा राख्नु भयो ।

उहाँले यस क्षेत्रमा नागरिकलाई रोजगारी उपलव्ध गराउने निजी क्षेत्रलाई उद्योग स्थापनामा आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त्त गर्नु भयो ।

विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की र नेपाली कांग्रेस मोरब सभापति डिगवहादुर लिम्वुले स्वदेशी उद्योगलाई प्रोत्साहन दिएर मुलुकलाई आत्मनिर्भर बनाउनु पर्ने भन्दै औद्योगिक प्रदर्शनीस्थल निर्माण सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।

संगठनका अध्यक्ष सुयश प्याकुरेल, मोरंग व्यापार सङ्घका अध्यक्ष नविन रिजाल ,पूर्व वाणिज्य सचिव पुर्षोत्तम ओझा,नेपाल उद्योग परिसङ्घका प्रदेश अध्यक्ष भीम घिमिरे, नेपाल उद्योग वाणिज्य सङ्घका उद्योग समितिका सभापति भरतराज आचार्य र संगठनका पूर्व अध्यक्ष किशोर प्रधानले सरकार र निजी क्षेत्र संयुक्त रुपमा आगाडि वढेमा मुलुकमा औद्योगिकीकरण र उत्पादन वृद्धि हुने धारणा राख्नु भयो ।

प्रतिक्रिया