चुनावी परिणाममा जनमत

गिरीराज दवाडी, इटहरी २०७९ जेठ १८ गते ०:५० मा प्रकाशित

आफूबाहेक दलको नेतृत्व पंङ्तिमा अरू कसैको क्षमता र बुद्धि नै छैन जस्तो सोच पुराना र ठुला भनौदा दलहरुको अग्रज नेतृत्वमा हावी भएक‍ोछ । दलका अग्रज नेताहरु स्वास्थ्य र उमेरले नेटोकाटिसकेका छन् । तथापि पटक पटक अवसर पाइरहदा पनि अझै आफू नभए पार्टी नै चल्दैन र देश नै बिग्रिन्छ भन्ने सोचले नेतृत्व हस्तान्तरण गर्न नचाहेको अवस्था देखिँदा नेतृत्वमा , तानाशाही मनोवृत्ति बढेर गएको कुरा दलहरुको अधिबेसनमा र संसदीय दलको नेताको छनौट र उमेद्वारी दिने प्रसंगको रस्साकसीले देखाउँछ ।

सधै संगसगै आन्दोलनमा लडेको,हरेक गतिबिधिमा अग्रपंतिमा खटेको, काम गरेका साथीसँगीहरु धेरै दलमा छदाछदै ,नेतृत्वमा आफूबाहेक अरू कोही सक्षम ,योग्य ,श्रेष्ठ छैन भन्ने सोच्नु अहंभावी मन‍ोग्रन्थिको द्योतक हो ।

हो हरेक पार्टिलाई दुःख गरेर नै हुर्काइएको हुन्छ ।अझ नेपालका पुराना राजनैतिक दलहरुको ईतिहास त , नेताहरुको जीवन मरणको त्याग र शहिदहरुको बलिदानी रक्तरंजित ईतिहासको धरातल र पृष्टभूमिबाट कठोर त्याग ,बलिदानबाट नै हुर्काइएको हो ।तथापि पार्टिको शक्ति र ईतिहास निर्माणमा अहोरात्र योगदान गरेकाहरुलाई , कार्य मुल्यंकनका आधारमा अवसर प्रदान गरेर नेतृत्वमा ल्याउने र आफ्नै छत्रछायामा नेतृत्वमा जन्माउने हुर्काउने प्रशिक्षित गर्दै सक्षम बनाउने र नेतृत्व हस्तान्तरण समय समयमा गर्दै जानुपर्दछ । तर नेपालको दलिय परम्परामा नेतृत्व हस्तान्तरण सहज र सरल देखिएन ।

पार्टीलाई बिर्ता, कार्यकर्तालाई कमारा, मतदातालाई रैती र आफूलाई जिम्मावाल सोच्ने नेतृत्वहरूले आफ्नै असक्षमताको परिस्थितिले उब्जाएको पार्टिप्रतिको चुनावमार्फत ब्यक्त जनआवेग लाई टुल्टुल्ति हेर्नु भन्दा सुधारका प्रयासहरु तर्फ संकेत नगरी रहन सकिएन ।

त्यसैले पार्टीको नेतृत्व त्यति सजिलै अरूलाई छाड्न नचाहानाले ,दलहरुमा बैकल्पिक नेतृत्व दिएर नेपाली जनताको दलिय राजनीतिमा बिश्वास जोगाएर राख्न अब नसकिने दिनहरु आउँदै गरेको ,भन्ने सोच्नु पर्ने अवस्थाको आभास, यस पटकको स्थानीय तहको काठमाण्डौ ,धरान र धनगडीको चुनावले संकेत दिएको छ ।

स्थानीय निर्वाचनमा, खास गरी काठमाडौंका मतदाताले जसरी मै हुँ भन्ने कांग्रेस र एमालेलाई दलीय अहंको चेत उग्रने गरि हार खुवाए , त्यो हेर्दा जनता आगामी संसदीय निर्वाचनका लागि पनि अब पुरातन शैल र स्वादमा यस्तै नेता र प्रबृतिलाई स्विकार्ने पक्षमा छैनन् भन्ने संकेत देखिएको छ । यश परिस्थितिलाई बुझेर समग्र पार्टि नेतृत्व पंङ्ति सुधारका प्रयासहरुमा लागेर दलहरु प्रतिको बिश्वासमा आएको कमिकमजोरीमा भरपर्दा अनुशासन संहिताबाट सुधारमा लाग्नुको अन्य बिकल्प देखिदैन ।

नेपालको राजनैतिक परिवर्तनका ऐतिहासिक घटनाक्रम हेर्दा ,जति पनि राजनैतिक चेतनाका उभारहरु उब्जेर देशभर कुनाकाप्चा छाएक‍ो अवस्था थियो र परिणाम दिएको थियो त्यो राजधानीबासीको पूर्ण सहभागिताबाट नै सम्भब भएको थियो ।तसर्थ पनि यो स्थानीय तहको २०७९ को चुनावको राजधानीबाटै दिएको परिणामले ‘अबको जनमत नेतृत्व परिवर्तन गर्नुपर्छ भन्नेमा छ ‘भन्ने संकेतलाई सामान्य ठान्नु हुदैन ।

दल भित्रको आन्तरिक निरंकुसता ,अहं र स्वार्थ केन्द्रित तानाशाही प्रवृत्तिले नेपालका ठुला भनौदा पुराना राजनीतिक दलहरू अब आएर नेतृत्व र कार्यशैली परिवर्तन नगर्दाको दूस्परिणाम भोग्न अब आइहालेको ससदिय चुनावबाट , बाध्य हुनुपर्ने अवस्था आउँदैछ ।

अब आउने संसदीय निर्वाचनले नेपाली जनतालाई दिने नयाँ प्रधानमन्त्री फेरि पनि तीनै ५/५ पटक प्रधान मन्त्री बन्दा नविनता र दुरगामी परिवर्तन दिन नसक्ने शेरबहादुर देउवा, झण्डै दुईतिहाइको सरकार बन्ने अवसर पाएर पनि आन्तरिक कारणले दुई पटक संसद भंग गर्ने तीनै केपी ओली , देशमा द्वन्दको भूमरी चलाएर सत्रहजार नेपालीहरुको ज्यानको बदलामा , राजनीतिलाई जहानीया सत्ता प्राप्तिको सिडीको रुपमा लिने, खेल रचिरहने तीनै पुष्पकमल दाहाल , पद, मान अपमानको गुटगत खेलमा राज्य कोषमा रम्ने माधव कुमार जस्ताहरु मध्येबाट अब नेपाली जनताको राजनैतिक अपेक्षा पुराहुने देखिदैन ।

पाँच वर्ष फेरि पनि आलोपालो प्रधानमन्त्री हुने यिनै तीन–चार जनाबाट ,देशले आशातित परिवर्तन गर्छ, सुख समृध्दि आउँछ ,शुसाशन र आदर्श पद्दतिहरु, प्रणालिहरु ,स्थापित हुन्छन् भन्ने अब कुनै आधार देखाउन ,देखिन छुटपुट भएको छैन ।

युवाहरुको नविनतम् राजनैतिक अभियानको चेत ,योभन्दा बढी ,अर्को कुनै थप परिस्कृत नविनतम् परिदृश्यमा मात्र झुल्कने शंकेत देखिइसकेको छ ।अबको नेपाली राजनैतिक जनमत पुराना दल नेका र नेकपाहरुबाट बिचलित हुदैजादा अपुरणीय क्षति भोग्न पर्ने पनि हुन्छ ।यसरी आउने राजनैतिक क्षतिको कारण जनता नभएर स्वयं दलहरुको गतिबिधि र नेतृत्वमा भएको कार्य शैली नै जिम्मेवार छ ।दलहरुबाट जनमत बरालिदै जाँदा कताकता पुग्छ ,यसै भन्न त सकिँदैन ।

तथापि ,प्रौढ जनमत राजेन्द्र लिङ्देनमा थुरिन पुग्ने संकेत त अहिलेको चुनावले नै देखाएको छ । धर्म सापेक्षता , राजसस्था प्रतिको मोह र भ्रष्टाचार प्रतिको “‘कसम'” बिरोधले गर्दा पंचप्रभावी प्रौढको झुकाव राप्रपा तिर जानू स्वभाविक छ । तर निरंकुस निर्दलकालिन शासन सत्ताको ईतिहास प्रतक्ष भोगेका प्रौढ र निरंकुस निर्दलीय शासन सत्ताको कथा सुनेका ,आधुनिक सूचना र प्रबिधिले सुसज्जित युवापिढीहरु नविनतम् युवाहरुको नेतृत्वमा नै रम्ने देखिन्छ ।जुन “बालेनी” र्यापर समूहको सक्रिय राजनैतिक संलग्नताले संकेत गर्दछ ।

२०- ४० बर्ष बीचको शिक्षित र आधुनिक सूचना प्रबिधिबाट सुशज्जित नव युवापिढिक‍ो आवाज र आवश्यकतालाई संबोधन गर्न शक्ने शिक्षा र सीपले सुशज्जित नेतृत्व नै यो पिढिको बिश्वाशिलो नेतृत्व बन्न पनि शक्तछ ।पुराना दलहरुले आफ्नै दल भित्रको पंतिबाट त्यस्ता सक्षम युवालाई नेतृत्वमा नल्याए सम्म ” नेतृत्व भ्याकुम ” भरिने छैन ।जब सम्म दलहरुमा युवापंति नेतृत्वमा उदाउने अवस्था आउदैन तवसम्म पुराना दलहरुबाट जनमत बिचलन भैरहने हुन्छ ।

नया राजनैतिक कार्यशैलिको आदर्श कार्य रणनीतिमा नयापिढी सुसज्जित रुपमा नेतृत्व पंतिमा उदाउने परिवेश बनाउन तर्फ दलहरु तत्कालबाट लाग्नुपर्ने देखिन्छ । त्यसको आधार भर्खर सम्पन्न भएको स्थानीय निर्वाचनले प्रष्ट कोरेकोछ

प्रतिक्रिया