आइतबार, असार १२ २०७९
काठमाडौं २३:२०
वासिङटन डिसी 13:35

नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता

इनेप्लिज २०७९ जेठ १४ गते १३:४३ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सहयोग गर्ने भएको छ । नेपालको राष्ट्रिय क्रिकेट टिम र अल स्टार्स ह्युजटन बिच अमेरिकाको टेक्ससमा आयोजना हुन गइरहेको एनआरएनए कप प्रतियोगितामा राष्ट्रिय टिमलाई एनआरएनए अमेरिकाले आवास र खानाको लागि आर्थिक सहयोग गर्न लागेको हो । जुन २, २०२२ मा राष्ट्रिय क्रिकेट टिम र ह्युजटन हुरिकेनका बिच साथै जुन ४, २०२२ मा राष्ट्रिय क्रिकेट टिम र अल स्टार टिम बिच दुई खेल हुने छ ।

क्रिकेट एसोसिएसन अफ नेपाल, अल स्टार र एनआरएनए अमेरिका बिच यो खेलका लागि समझदारी पत्रमा हस्ताक्षर समेत भएको एनआरएनले जनाएको छ । राष्ट्रिय क्रिकेट टिमलाई सहयोग गर्न एनआरएनए अमेरिकाले मे २७ तारिकसम्म करिब १० हजार डलर सङ्कलन गरिसकेको छ साथै अरू दाताहरूसँग थप रकम जुटाउन प्रयास गरिरहेको छ । प्रतियोगिताको व्यवस्थापन कार्य अल स्टार्सले ह्युजटन हुरिकेनसंग मिलेर गरिरहेको छ। अल स्टार्स र ह्युजटन हुरिकेनले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग प्रतिस्पर्धा गराउन विभिन्न देशका राष्ट्रिय क्रिकेटरहरूलाई आफ्नो टिममा राखेर प्रतिस्पर्धा गर्ने छन् ।

अध्यक्ष बुद्धि सागर सुबेदीले नेपालको राष्ट्रिय टिमलाई अवसर र प्रोत्साहन प्रदान गर्ने उद्देश्यले यस प्रतियोगिता गर्न लागेको जानकारी दिनुभयो । नेपाल आईसीसी डिभिजन-२ लिगको खेल अमेरिका र ओमानसँग जुन ८ देखी १५ सम्म ह्युजटनमा खेल्न गइरहेको छ । त्यसको पूर्व सन्ध्यामा यो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन सन्दीप लामिछानेले पनि भिडियो सन्देश पठाउँदै एनआरएनए एनसीसी अमेरिका कपमा सहभागी हुन र सहयोग गर्न सार्वजनिक अपिल गरेका छन् ।

प्रतिक्रिया