आइतबार, असार १२ २०७९
काठमाडौं २३:१२
वासिङटन डिसी 13:27

नेपाली संगीतमा प्रवासको योगदान

इनेप्लिज २०७९ जेठ १३ गते ०:०१ मा प्रकाशित

सामाजिक सञ्जालको उपयोगिता तथा लोकप्रियताले विश्व संगीतको मानचित्रमा जमाउँदै आएको आफ्नो वर्चस्वताबाट नेपाली संगीत क्षेत्र पनि अछुतो रहन नसकेको तथ्य हामी सामू छर्लङ्गै छ। विगत केही वर्ष देखि इन्टरनेट सञ्जालमा नेपाली सांगीतिक च्यानलहरुको उपस्थिति उल्लेखनीय रुपमा बढिरहेको देखिन्छ। आर्थिक रुपमा को कति फाईदा वा घाटामा छन् होलान् भनेर आFकलन गर्दा दिनहुँ खुल्दै गरेका च्यानलहरु आर्थिक मुनाफाका द्योतक हुन् भन्दा केही फरक पर्ला जस्तो लाग्दैन।

अहिले दिनहुँ जस्तै नयाँ गीतहरुका म्युजिक भिडियोहरु रिलिज हुँदै आइरहको तथ्य सबैलाई विदितै छ। ती म्युजिक भिडियोहरुको लगानीकर्ताहरूलाई नियाल्ने हो भने धेरैजसो नेपाल बाहिरबाट लगानी हुने गरेको चर्चा सुनिन्छ। अस्ट्रेलिया, बेलायत, अमेरिका तथा युरोपका अरु मुलुकहरूमा छायाङ्कन गरी दर्शक सामु ल्याइएका म्युजिक भिडियोहरुले प्रवासको लगानी प्रस्ट्याउँछ। त्यसो त प्रवासका निर्माताहरुले नेपालमै पनि म्युजिक भिडियोहरु निर्माण गरेका तथ्यहरु प्रशस्तै छन्।

हालै सार्वजनिक गरिएको म्युजिकसूत्र नामक युट्युब च्यानल प्रवासबाट नेपाली संगीतलाई माथि उकास्ने अभियानमा एउटा दरिलो खम्बाको रुपमा उभ्याउने लक्ष्य लिएर आएको कुरा च्यानलका प्रबन्धक/संचालक लोचनमान श्रेष्ठ बताउँछन्। केही समय देखि संयुक्त राज्य अमेरिकाको भर्जिनियामा बसोबास गर्दै आउनु भएका उनको मूल पेशा कम्प्युटर/आइटी भएतापनि श्रव्यदृश्यको माध्यम उनकोलागि नौलो भने पक्कै होइन।

उनीसँग तत्कालिन नेपालको एक मात्र टिभी च्यानल नेपाल टेलिभिजनमा वरिष्ठ निर्माताका रुपमा १२ वर्षसम्म विभिन्न विधाका कार्यक्रमहरु निर्माण/निर्देशन गरेको अनुभव छ। सन् १९९० को दशकमा नेपालमा अति नै लोकप्रियता कमाएको हास्य टेलिश्रृंखला “हत्तेरिका” को निर्देशन उनीले नै गरेका हुन्। अमेरिकामा पनि उनी फुर्सदको समयमा श्रव्यदृष्य कार्यक्रमहरु निर्माण गरिनै रहेका छन्। यो म्युजिकसूत्र विभिन्न विधाका गीतहरू समाविष्ट एउटा विशुद्ध सांगीतिक च्यानल हुने र नेपालीभाषी दर्शकहरुले यसबाट भरपूर मनोरञ्जन लिने कुरामा उनी विश्वस्त छन्।

“चट्ट कपाल कोरेर” बोलको नृत्यको बाहुल्यता रहेको म्युजिक भिडियो म्युजिकसूत्र च्यानलको पहिलो प्रस्तुतिको रुपमा केही समय अघि सार्वजनिक गरिएको थियो जसमा शब्द तथा संगीत करुण थापाको छ भने मीना पोखरेल निरौलाले उक्त गीतमा आवाज दिनु भएको छ। करुण थापा म्युजिकसूत्र च्यानलका प्रबन्धक/सञ्चालक समेत हुन्।

समूह नृत्यद्वारा सजिएको यस म्युजिक भिडियोमा ऋचा थापा मुख्य नृत्याङ्गनाको रुपमा प्रस्तुत भएकी छिन्। निर्देशनको जिम्मा चाहिँ प्रख्यात नृत्य निर्देशक कमल राईले लिएका छन् ।

यसैगरी यस च्यानलको दोश्रो प्रस्तुति “तिमीलाई भेट्ने चाहना” बोलको गीत नेपाल आइडल तेस्रो श्रृंखलाका उपविजेता प्रवीण बेडवालको स्वरमा सजिएको छ। लोचणमान श्रेष्ठले लेखेको यस गीतलाई नेपाली सांगीतिक जगतकै चम्किला नक्षत्र, प्रख्यात संगीतकार न्ह्यू बज्राचार्यले कर्णप्रिय धुनमा समेटेका छन्। यस लिरिकल (गीतात्मक) भिडियोकाे परिकल्पना तथा निर्देशन करुण थापा तथा लोचनमान श्रेष्ठले संयुक्त रूपमा गरेका छन्।

तेस्रो प्रस्तुतिका रुपमा- नेपाली गजल विधामा सशक्त भाव तथा गजलको नीति नियममा बाँधिएर कलम चलाउने अग्रणी स्रष्टाको रूपमा चिनिनुहुने गजलकार करुण थापाद्वारा कलमवद्ध गरिएको तथा अति मनपराइएको गजल “बतासले चोट लाग्छ” को स्टुडियो भर्सन हालै म्युजिक सुत्र युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। नेपाली संगीतमा कर्णप्रिय धूनहरु सिर्जना गरी आफ्नो एउटा अलग्गै स्थान बनाउन सफल संगीतकार सचिन सिंहद्वारा संगीतबद्ध उक्त गजललाई मुम्बईकी प्रतिभाशाली गायिका नेहा करोडेले गाएकी छिन्। विभिन्न भारतीय तथा अङ्ग्रेजी भाषाका गीतहरू रेकर्ड गराइसकेकी नेहा करोडेको यो नेपाली भाषामा रेकर्ड गरिएको पहिलो गजल/गीत हो।

समग्रमा यी प्रस्तुतिहरुलाई हेर्दा विधामा विविधता भने प्रस्टै देख्न सकिन्छ। छोटो समयमा नै यो च्यानलका गीतहरूले पाएको माया ती गीतहरुका अवलोकन ले नै प्रस्ट्याउँछ। यस्तै भिन्न विधाका गीतहरू नियमित रुपमा दर्शकहरुले हेर्ने मौका पाए, यो म्युजिकसूत्र च्यानल नेपाली सांगीतिक आकाशमा एउटा दरिलो खम्बाको रुपमा परिचित हुने निश्चित नै देखिन्छ।

प्रतिक्रिया